दक्षिण एसियाको आर्थिक शक्ति बन्दै छ बङ्गलादेश

 

सन् १९४७ मा भारत र पाकिस्तान विभाजन हुँदा बङ्गलादेश पाकिस्तानको एउटा हिस्सा थियो । लामो समयसँगै रहन सकेनन् । सन् १९७१ मा हिंसात्मक गृहयुद्धपछि विभाजित भए ।

आकारले पाकिस्तान बङ्गलादेशभन्दा पाँच गुणा ठूलो छ तर उसको मुद्रा सञ्चितीलाई हेर्ने हो भने बङ्गलादेशको तुलनामा पाँचै गुणा कम छ ।

अहिले पाकिस्तानसँग ८ अर्ब अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति छ जब कि बङ्गलादेशसँग करिब ३५ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा छ । बङ्गलादेशको आर्थिक वृद्धि दर पनि उत्साहजनक छ ।

अहिले बङ्गलादेशको आर्थिक वृद्धिदर ८ प्रतिशत छ जब कि विश्व आर्थिक पावर हाउसको रूपमा विकास हुँदै गएको भनिएको भारतीय अर्थतन्त्रको वृद्धिदर खस्केर ५– ६ प्रतिशतको बीचमा पुगेको छ । पाकिस्तानको आर्थिक वृद्धि दर पनि भारतकै जस्तो ५–६ प्रतिशतको बीचमा छ ।

अर्थतन्त्रको अर्को सूचक अनुसार बङ्गलादेशमा प्रतिव्यक्ति ४३४ अमेरिकी डलर ऋण छ भने पाकिस्तानमा त्यो प्रतिव्यक्ति ९७४ अमेरिकी डलर ऋण छ । वल्र्ड इकोनोमिक फोरममा बोल्ने क्रममा बङ्गलादेशका आईटी मन्त्रीले बङ्गलादेशमा रहेका १२० भन्दा बढी कम्पनीले एक अर्ब डलरभन्दा बढी मूल्यको सूचना र औद्योगिक प्रविधि संसारका ३५ देश निर्यात गरिरहेको बताए ।

यो दाबीअनुसार २०२१ सम्म यो रकम १ अर्ब अमेरिकी डलरबाट बढेर ५ अर्ब अमेरिकी डलर पुग्नेछ । बङ्गलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदले सन् २००९ मा डिजिटल बङ्गलादेश कार्यक्रम सुरु गरेकी थिइन् । जसअन्तर्गत सरकारी सेवाहरूलाई डिजिटलाइज्ड मात्र गरिएन, सूचना प्रविधि उद्योगको विस्तारसमेत गरियो ।

बङ्गलादेश अहिले बलियो अर्थतन्त्र भएको छिमेकी भारतलाई समेत कैयौँ आर्थिक क्षेत्रमा कडा टक्कर दिन थालेको छ ।

विकासमा भारतलाई चुनौती 
बङ्गलादेश र पाकिस्तानबीच सुमधुर द्विपक्षीय सम्बन्ध छैन । तर भारतसँग उसको निक्कै मैत्रीपूर्ण सम्बन्ध छ । बङ्गलादेशकी प्रधानमन्त्री वाजेदलाई भारत भ्रमणमा निस्कनुअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले टेलिफोनमा भारत नियन्त्रित कश्मीरबारे कुराकानी गरेका थिए ।

इमरान यतिबेला जम्मु–कश्मीरको मामिलामा सबै मुस्लिम राष्ट्रलाई एकै ठाउँमा गोलबद्ध गर्ने प्रयास गरिरहेका छन् । तर बङ्गलादेशले कश्मीरबाट अनुच्छेद ३७० हटाएकोमा न त सार्वजनिक रूपमा समर्थन गरेको छ न विरोध नै ।

भारत भ्रमणको दौरान सेख हसिनाले यसबारे केही बोल्ने अनुमान लगाइएको छ ।

अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बङ्गलादेशको अर्थव्यवस्था अहिलेको १८० अर्ब अमेरिकी डलरबाट वृद्धि भएर सन् २०२१ सम्म ३२२ अर्ब अमेरिकी डलर बराबर पुग्ने आकलन गरेको छ । यसको सीधा अर्थ हो– आजको दिनमै एक जना बङ्गलादेशी एक पाकिस्तानीभन्दा सम्पन्न छ ।

अचम्मित पार्ने अर्को तथ्य जनसङ्ख्यालाई लिएर छ । सन् १९५१ को जनगणना अनुसार तत्कालीन पूर्वी पाकिस्तान अर्थात् अहिलेको बङ्गलादेशको कुल जनसङ्ख्या ४ करोड २० लाख मात्र थियो । त्यही समयमा पश्चिमी पाकिस्तान अर्थात् आजको पाकिस्तानको कुल जनसङ्ख्या ३ करोड ३७ लाख थियो ।

तर अहिले अवस्था उल्टिएको । अहिले बङ्गलादेशको कुल जनसङ्ख्या साढे १६ करोड छ भने पाकिस्तानको २० करोड छ । बङ्गलादेशले जनसङ्ख्या वृद्धिदर पनि नियन्त्रण गरेको छ तर पाकिस्तान र भारतले त्यो सफलता हासिल गर्न सकेका छैनन् ।

बङ्गलादेशको विकासको तथ्याङ्क अरू पनि छन् । अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटकाअनुसार अनलाइन श्रमिक धेरै भएको देशमध्ये बङ्गलादेश विश्वको दोस्रो नम्बरमा पर्छ ।

एसियाली विकास बैङ्क (एडीबी)का अनुसार अहिले बङ्गलादेशले सूचना प्रविधिलगायत आर्थिक विकासका हरेक क्षेत्रमा दक्षिण एसियामा कायम रहेको भारतीय नेतृत्वलाई चुनौती दिइरहेको छ ।

सबल बन्दै बङ्गलादेशी अर्थतन्त्र
बङ्गलादेशको अर्थतन्त्रको उच्च वृद्धि हुनुमा औद्योगिक क्षेत्रको वृद्धिदर सबैभन्दा महत्त्वपूर्ण छ । अर्कोतर्फ भारतीय अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी छ र औद्योगिक क्षेत्रको वृद्धिदर लगभग नकारात्मक छ ।
भारतको ठूलो हिस्सा अझै पनि खेतीपातीमा निर्भर छ, जबकि कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान निरन्तर ओरालो लागिरहेको छ ।

सन् १९७४ मा भयावह अनिकाल भोगेपछि १६ करोड ६० लाखभन्दा बढी जनसङ्ख्या रहेको बङ्गलादेश खाद्य उत्पादनमा आत्मनिर्भर भइसकेको छ । सन् २००९ देखि यता पछि बङ्गलादेशको प्रतिव्यक्ति आय तीन गुणा भइसकेको छ ।

यो वर्ष बङ्गलादेशको प्रतिव्यक्ति आय १ हजार ७५० अमेरिकी डलर भयो । बङ्गलादेशको जनसङ्ख्याको ठूलो हिस्सा विपन्न जीवनयापन गरिरहेको छ । तर विश्व बैङ्कको तथ्याङ्क अनुसार पहिले १९ प्रतिशत जनसङ्ख्याले दैनिक १ डलर २५ सेन्टमा गुजारा गरिरहेको थियो भने अहिले त्यसरी जीवन गुजारा गर्ने जनसङ्ख्या ९ प्रतिशतमा झरेको छ ।

बङ्गलादेशीको औसत आयु ७२ वर्ष पुगिसकेको छ  जबकि भारतीयको औसत आयु अहिले ६८ वर्ष र पाकिस्तानीको औसत आयु ६६ वर्षभन्दा केही बढी छ । विश्व बैङ्कको तथ्याङ्कअनुसार सन् २०१७ मा बैङ्कमा खाता भएका बङ्गलादेशीमध्ये ३४.१ प्रतिशतले डिजिटल लेनदेन गरेका थिए जब कि दक्षिण एसियालीमा डिजिटल लेनदेन गर्नेको औसत २७.८ प्रतिशत मात्र छ ।

बङ्गलादेशमा उत्पादन हुने कपडाको निर्यात वार्षिक १५–१७ प्रतिशतको हाराहारीमा बढिरहेको छ । सन् २०१८ को जुन महिनासम्म उसको कपडा निर्यात बढेर ३६.७ अर्ब अमेरिकी डलर पुगेको छ ।
बङ्गलादेशी प्रधानमन्त्री वाजेदले सन् २०१९ सम्ममा कपडाको निर्यात बढाएर ३९ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य लिएकी छिन् । सन् २०२१ मा बङ्गलादेशले आफ्नो स्थापनाको ५० औँ दिवस मनाउँदा त्यो आँकडा ५० अर्ब अमेरिकी डलर पु¥याउने उनको योजना छ ।

मिहिनेती बङ्गलादेशी
बङ्गलादेशको अर्थतन्त्रमा विदेशमा काम गर्ने करिब २५ लाख बङ्गलादेशीको पनि ठूलो भूमिका छ । विदेशमा आर्जन गरेर स्वदेश पठाउने रकम वार्षिक १८ प्रतिशत वृद्धि भइरहेको छ ।

सन् २०१८ मा उनीहरूले वैदेशिक रोजगारीबाट बङ्गलादेशमा १५ अर्ब अमेरिकी डलर रेमिट्यान्स पठाए ।

प्रधानमन्त्री वाजेदलाई अर्थव्यवस्थाको वृद्धिदर दिगो बनाउन उद्योग र कलकारखाना बढाउनुपर्छ भन्ने राम्रो हेक्का छ । अब भने बङ्गलादेश सस्तो वस्तु उत्पादन हबको ट्याग हटाएर त्यसभन्दा माथि उठ्न चाहन्छ र यो बाह्य लगानी तथा विदेशी सहयताबाट मात्र सम्भव छ ।

सन् २००९ मा प्रधानमन्त्री सेख हसिनाले डिजिटल बङ्गलादेश अभियान सुरु गरेका थिए । यो प्रविधिको विस्तारलाई प्रोत्साहन गर्नका लागि गरिएको थियो ।

बङ्गलादेशको राजधानी ढाकामा अहिले आईटीको क्षेत्रमा विस्तार भइरहेको छ । ढाकामा रहेका कम्पनीका सीईओहरू भारतीय आईटी क्षेत्रसँग सिकेर भारतलाई टक्कर दिन चाहन्छन् ।

भारत औषधि उत्पादनमा निकै अगाडि छ र बङ्गलादेश आफ्नो यो छिमेकीलाई औषधि उत्पादनमा पनि जित्न चाहन्छ । बङ्गलादेश सरकार देशभरी सयवटा विशेष आर्थिक क्षेत्रको सञ्जाल विकास गर्न चाहन्छ । तीमध्ये ११ वटा विशेष आर्थिक क्षेत्र तयार भइसकेका छन् भने ७९ वटा धमाधम निर्माण भइरहेका छन् ।

बङ्गलादेश सानो हो तर उसको जनसङ्ख्या निक्कै धेरै छ । त्यसैले उसको जनघनत्व निकै धेरै छ ।

बङ्गलादेशले आर्थिक क्षेत्रमा राम्रो गर्नुको अर्थ त्यहाँ कुनै चुनौती छैन् भन्ने होइन । बङ्गलादेशको राजनीतिमा प्रमुख दुई राजनीतिक दलबीच अत्यन्त तीव्र प्रतिद्वन्द्विता  छ । बङ्गलादेशको राजनीतिमा दुई महिला– सेख हसिना वाजेद र पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको प्रभुत्व रहँदै आएको छ ।

जब बङ्गलादेश पाकिस्तानको हिस्सा थियो तब दुवै नेताको परिवारले बङ्गलादेशलाई स्वतन्त्र बताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । पछिल्लो तीन दशकमा दुई महिला नेतृले पालैपालो सरकार चलाएका छन् । साथमा दुई नेताले जेल जीवन पनि भोगे ।

तयारी पोषाक उद्योग

बङ्गलादेशको अर्थतन्त्रको वृद्धिमा तयारी पोसाक उद्योगको सबैभन्दा ठूलो भूमिका रहेको मानिन्छ । तयारी पोसाक उद्योगले बङ्गलादेशीहरूलाई सबैभन्दा बढी रोजगारी प्रदान गर्छ । तयारी पोसाक उद्योगले ४० लाख ५० हजार बङ्गलादेशीलाई रोजगारी दिएको छ ।

सन् २०१८ मा बङ्गलादेशको कुल निर्यातमा तयारी पोसाकको हिस्सा ८० प्रतिशत थियो । यस्तो महत्त्वपूर्ण क्षेत्रमा सन् २०१३ मा भएको राना प्लाजा दुर्घटना ठूलो धक्का थियो ।

तयारी पोसाकको कारखाना रहेको उक्त बहु–तले भवन भत्कँदा ११३० कामदारको मृत्यु भएको थियो । यसपछि बङ्गलादेशबाट तयारी पोसाक आयात गर्ने कैयौँ पोसाकका ब्रान्डेड अन्तर्रा्ष्ट्रिय कम्पनीले बङ्गलादेशलाई तयारी पोसाक उद्योगमा अनेकौँ सुधार गर्न बाध्य बनाए ।

चीनले सन् २०१८ मा बङ्गलादेशको ढाका स्टक एक्सचेन्जको २५ प्रतिशत सेयर किन्यो । भारतले पनि ढाका स्टक एक्सचेन्जको सेयर किन्न खोजेको थियो । तर चीनले भारतको भन्दा बढी मूल्य तिरेर भारतको हातबाट उक्त सम्झौता लिएको थियो ।

बङ्गलादेश चीनसँग हतियार किन्ने विश्वको दोस्रो ठूलो राष्ट्र हो । पहिलो भने पाकिस्तानपछि हो । प्रधानमन्त्री वाजेद पनि दक्षिण एसियाली क्षेत्रमा चीनको भूमिका निभाइरहेको कुरामा स्वीकार गर्छिन् ।
बङ्गलादेशले कैयौँ मोर्चामा पाकिस्तानलाई मात्र होइन, भारतलाई पनि पछाडि पार्न लागेको छ । अहिले बङ्गलादेशले भारतलाई बाल मृत्युदर, लैङ्गिक समानता र औसत आयुजस्ता विषयमा बङ्गलादेशले भारतलाई पछाडि पारिसकेको छ ।

संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कअनुसार सन् २०१३ मा बङ्गलादेशको प्रतिव्यक्ति आय ९१४ अमेरिकी डलर थियो जुन सन् २०१६ मा ३९ प्रतिशतभन्दा बढीले वृद्धि भएर १ हजार ३५५ अमेरिकी डलर पुग्यो । यही अवधिमा भारतको प्रतिव्यक्ति आय भने जम्मा १३.८० प्रतिशतल वृद्धि भएर १ हजार ७०६ अमेरिकी डलर पुगेको थियो ।

यही अवधिमा पाकिस्तानको प्रतिव्यक्ति आय २०.६२ प्रतिशतले वृद्धि भएर १ हजार ४६२ अमेरिकी डलर पुग्यो । यदि बङ्गलादेशले अहिलेकै दरमा आर्थिक विकास गरिरह्यो भने सन् २०२० मा प्रतिव्यक्ति आयमा समेत उसले भारतलाई समेत पछाडि पार्ने विश्वास गरिएको छ ।

औषधि निर्माणमा पनि भारतलाई टक्कर
औषधि उत्पादनमा विश्वभरि नै भारतको नाम अग्र पङ्क्तिमा आउँछ । तर अहिले बङ्गलादेशले औषधि उत्पादनका क्षेत्रमा समेत भारतलाई चुनौती दिइरहेको छ । अल्पविकसित देशको दर्जाका कारण बङ्गलादेशले पेटेन्टको नियममा छुट पाएको छ ।

पेटेन्टमा पाएको छुटकै कारण बङ्गलादेशले जेनेरिक औषधि उत्पादनमा भारतलाई चुनौती दिने प्रयास गरिरहेको छ । यतिबेला जेनेरिक औषधि उत्पादनमा बङ्गलादेश विश्वको दोस्रो ठूलो उत्पादक भइसकेको छ ।

अहिले उसले विश्वका ६० वटा देशमा औषधि निर्यात गरिरहेको छ ।खराब आधारभूत भौतिक संरचनाका बङ्गलादेशको प्रमुख समस्या रहँदै आएको छ । तथापि चीनले बङ्गलादेशलाई ‘बीआरआई’ (बेल्ट एन्ड रोड इनिसिएटिभ्स) परियोजना अन्तर्गत सहायता गरिरहेको छ । चीनले बङ्गलादेशका कैयौँ ठूला परियोजनामा आर्थिक सहायता पनि प्रदान गरिरहेको छ ।

चीनले पद्मा नदीमा चार अर्ब अमेरिकी डलरको लागतमा एउटा पुलसहितको रेलमार्ग निर्माण गरिरहेको छ । यो परियोजनाले बङ्गलादेशको दक्षिण–पश्चिमी र उत्तर–पूर्वी भूभागलाई जोड्नेछ । चीनले बङ्गलादेशलाई ३८ अर्ब अमेरिकी डलर ऋण दिने प्रतिबद्धता जनाएको छ ।

चीन साना देशलाई ठूलो रकम ऋण दिएर तिनलाई ऋणको पासोमा फसाउँछ भनेर आलोचना खेपिरहेको छ । श्रीलङ्का र पाकिस्तानलाई दिइएको ऋण त्यस्तो भएको आलोचकहरूको भनाइ छ । तर बङ्गलादेशमा यसबारेमा खासै चर्चा छैन ।

 source – BBC

सोमबार, २७ असोज, २०७६, दिउँसोको ०१:४२ बजे

सम्बन्धित खवर