तिहारका चर्चित तीन फूलको इतिहास र महत्व

विमल लामिछाने 

सयपत्री
नेपालमा सयपत्रीको खेती सत्रौं शताब्दीको उतराद्र्धतिरै भित्रिएको तथ्य नीलतन्त्र नामक दस्तावेजमा छ । राँगा खसीको सयपत्रीजस्तै पत्रे आकार देखेर यसलाई सयपत्री भन्ने गरिएको हो, कसैले यसका पत्रहरु एकै थुँगामा सयौ हुने भएकाले पनि सयपत्री भनिएको भनेका छन् । तर यसमा पत्रैपत्र हुँदैन मसिनो मसिनो थुप्रै फूलको थुङ्गो बुके बनाएजस्तो हुन्छ । त्यसैले यसलाई गाउँघरमा अझै पनि थुङ्गेफूल भनिन्छ ।

SONY DSC

मेक्सिको तथा मध्यअमेरिकी जंगली फूल हो यो । टागेट्स जातभित्रको यस फूल इरेक्टा अर्थात नेपालमा कुकुर फूल अर्थात कात्तुके नामले चिनिने र पटुला अर्थात ठूलो सयपत्री गरि दुई जात मौलिक हुन् । तर आजभोलि हाइब्रिडबाट विभिन्न नयाँ जातहरू प्राप्त छन् । मेक्सिकोका पहाडहरूमा जंगली रूपमा आपैंm उम्रने यी फूललाई पुरानो सभ्य जाति एजेटिकहरूले खेती गर्दथे । यसका फूलहरू औषधि, सजावट तथा समारोहहरूमा हजारौं वर्षदेखि एजेटिकहरूले उपयोग गर्दथे । होन्डुरसमा यसलाई पानीमा मिसाएर लासहरू धुुने हुनाले मृतकहरूको फूल पनि भनिन्छ ।
यसमा सल्फरको मात्रा बढी हुनाले ब्याक्टेरियालाई मार्दछ । यसको जराले गर्ने अत्यधिक माइक्रोबियल क्रियाले जमिनका नेमोटोड जातका शत्रु कीराहरूबाट अन्य बिरुवाहरूलाई बचाउने हुँदा अन्न या अन्य बालीसँगै मिसाएर यसको खेती गर्ने गरिन्छ । गोलभेंडामा लाग्ने सेतो पुतली यसको नजिक नआउने हुँदा गोलभेंडाछेउ यसको खेती लाभदायक हुन्छ । तर माइक्रोबियल सक्रियताबाट बढ्ने केराउ जाति –लेगुम परिवार) का लागि यो हानिकारक भएकाले केराउ जातिको खेतमा यो रोपिनुहुन्न । बन्दाकोपीका सलादमा रंग र स्वादका लागि यस फूल सेफहरूले उपयोग गर्छन् ।
कुखुराको फुल –अण्डा) को पहेंलो भाग बढाउन यसको धूलो दानामा मिसाइन्छ । माहुरी तथा पुतलीका लागि पेटुला अर्थात कुकुरफूलमा प्रशस्त परागरस भएकोले माहुरी उत्पादकले फूल घट्दै जाने वर्षा अन्तपछिको मौसममा यसको खेती गर्नु लाभदायक छ । यसको जन्मथलो मेक्सिकोका पहाडहरूमा सेप्टेम्बरदेखि तुषारो नलागेसम्म उत्पादन हुन्छ र नेपालमा पनि ठीक त्यही बेला अर्थात मौलिक रूपमै हुन्छ । तर आजभोलिका हाइब्रिड त बाह्रैमासे भइसकेका छन् ।

मखमली
दिदी बहिनीका प्रिय मखमली फूल पनि अमेरिकाकै नेटिभ जात हो । सन् १८०० मा जङ्गबहादुरले बेलायत पठाएको उपहारको विवरणमा मखमली फूल पनि लेखिएकोले सोभन्दा अगाडि नै नेपाल छिरे पनि कम संख्याकै कारण अनमोल मानिएको बुझ्न सकिन्छ । यसको अर्थ केही अघिमात्र उक्त फूलले दरबारहरूमा मात्र प्रवेश पाएको हुनुपर्छ । करिब २४ इन्च अग्लो बोट हुने यो फूल दुई आकारको हुन्छ ।

मखमल रंगको हामीले प्रयोग गर्ने ग्लोब आकारको फूलको वनस्पतिक नाम गोम्पे्रmना ग्लोबोसा हो । ग्लोबभन्दा फरक केही लाम्चो आकारको फूललाई गोम्फ्रेना सेलोस्वाइड्स भनिन्छ । सेतो या पिंक रंगको भए पनि हामी भन्नचाहिँ मखमली नै भन्छौं । तर मखमली रंगमात्रै तिहारमा उपयोग हुने हुँदा मखमली रंगी फूललाई मात्र तिहार फूल मानिन्छ । यसलाई ब्याच्लर बटन, स्ट्रबेरी फिल्डसमेत भनिन्छ । छुँदा घोच्ने यस फूललाई नरम मखमली नाम दिइनुमा सुरुमा नेपाल ल्याइँदाको फूलको रंग मखमलको कपडाजस्तो देखिएकोले मखमली भनिएको हो । स्वास्थ्यका लागि लाभदायक मान्दै चीनमा यसलाई जस्ताको तस्तै सिङ्गै उमालेर चियाको रूपमा खाइन्छ । हाँगा छुट्याएर फूलदानीको चिनी हालेको पानीमा चिसो ठाउँमा कट फ्लावरका रूपमा महिनौं ताजा टिकाउन सकिन्छ ।

गोदावरी फूल
गोदावरी चीनको मौलिक फूल हो । इसापूर्व १५०० वर्षतिरै चीनमा औषधिका लागि खेती गरिन्थ्यो । आठौं शताब्दीमा जापान र युरोपमा सत्रौं शताब्दीमा पुगेको यो फूल पर्सिया हँुंदै भारत छिरेको हो । सन् १८९३ मा इलामको वयाकरण नेपाल नामक व्यक्तिको बगैंचामा यो देखिएको दस्तावेज छ, सायद दार्जिलिङतिरबाट ल्याइएको अनुमान गरिएको छ । भारतमा यसलाई गुल –फूल) दाउडी भनिन्छ । तसर्थ नेपालीको कानले गुल दाउडीलाई गोदावरी सुन्यो र यसको नाम गोदावरी रहन गएको अनुमान गर्न सकिन्छ । चाइनिज भाषामा यसको नाम चु हो ।

युरोपियनले ग्रिक शब्द क्रेसस् अर्थात सुनौलो तथा एन्थेमन अर्थात फूल मिसाएर क्रेसेन्थेमम नामकरण गरेको हो । मौलिक रूपमा अर्थात प्राकृतिक रूपमा सिंगल यस फूलको रंग सेतो, पहेंलो तथा पिंक मात्रै हो । आजभोलि हाइब्रिडबाट अनेक आकार र चहकिलो लालसमेत पाइन्छ । गोदावरीको बोटले इन्डोर प्रदूषण घटाउने तथ्य अमेरिकी नासाले प्रकाशित गरेको छ । चीनमा सेतो गोदावरी उमालेर चिया खाइन्छ । गोदावरी इन्फ्ल्युएन्जाबाट तंग्रिने औषधि मानिन्छ । उमालेका जराले टाउको दुखेको निको पार्छ । वातावरणलाई विषादी नबनाई बालीको कीरा मार्ने कीटाणुनाशक औषधिका रूपमा पनि प्रयोग हुन्छ ।
चीनमा गोदावरीलाई खुसी र आनन्दको प्रतीक मानिन्छ । यसको फुल्ने प्रक्रिया दिनको उज्यालोको मात्रासँग सम्बन्धित छ । यसको थलो चीनमा यो फुल्ने बेलाको दिनको उज्यालो नेपालमा असोज तेस्रो हप्ताबाट सुरु भई कात्तिक चौथो हप्तामा पूर्ण रूपले फुल्ने उज्यालोको मात्रा समान हुन्छ । यही बेला तिहार हुने भएकोले तिहारमा यो उपयोग गर्न थालिएको होे । तिहार चाँडै भएको वर्ष तिहारमा यो फूल ढकमकिँदैन ।

शनिबार, २९ कार्तिक, २०७७, बिहानको ०९:०२ बजे

सम्बन्धित खवर