उम्मेदवार बानियाँले यही कार्तिक २३ गते मत माग्नका लागि प्रयोग गरिएको को १ झ १५३५ नम्वरको मारुती भ्यान इलाका प्रहरी कार्यालय दमकका प्रहरीहरुले नियन्त्रणमा लिइ यस्तो हर्कत गरेको बताइएको हो । बानियाँ र खनालले कतिपय अवस्थामा पर्चा र पम्प्लेट टाँस्ने कार्यमा समेत असहजता सिर्जना गरिएको दावी गरे ।


आइतबार सक्रिय पत्रकार सञ्जाल दमकको कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो आक्षेप लगाएका हुन् । तर नियन्त्रणमा लिइएको भ्यानलाई केही समय राखेर छोडिएको पनि उनीहरुले जानकारी गराए । उनीहरुले निर्वाचन आयोगको कार्यालयमा यसबारे आफूहरुले जानकारी गराएको तर पनि आइतबार पनि प्रहरीले यस्तो रवैया देखाएकोमा दुःख प्रकट गरे । देशका कतिपय जिल्लाहरुमा पनि राजनीतिक दलबाहेकका स्वतन्त्र उम्मेदवारहरुलाई कतिपय अवस्थामा प्रचार प्रसारको काममा अवरोध पु¥याएका खबरहरु सार्वजनिक भएको र ति आपतिजनक रहेको उनीहरुले बताए ।
निर्वाचनमा मतदाताहरुका बीच जाने कार्य निष्पक्ष, स्वतन्त्र र भयरहित तवरबाट हुनुपर्ने र निर्वाचनलाई स्वच्छ र पारदर्शी तथा प्रभावकारी ढंगबाट सफलतापूर्वक सम्पन्न गर्ने दायित्व सबैको भएको र त्यसबाट आफूहरु विमुख नहुने प्रतिनिधि सभाका उम्मेदवार खनालले प्रष्ट पारे । निर्वाचन आचारसंहिता र सो को पालना भए नभएको भन्ने व्यवहार सबैका लागि समान हुनुपर्ने पनि पत्रकार सम्मेलन राप्रपा नेपाल पृथ्वीपथका अध्यक्ष घनश्याम भण्डारीले स्वतन्त्रता, प्रजातन्त्र र मानवअधिकारका लागि आफूहरुको समर्थन उम्मेदवार बानियाँलाई रहेको जानकारी गराए ।
यता प्रचार प्रसारमा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको बारे बुझ्दा इलाका प्रशासन कार्यालय दमकका प्रमुख तथा प्रहरी नायव निरीक्षक दिलीप दिलीप कुमार गिरीले उम्मेदवार बानियाँले आचारसंहिता विपरीत सवारी साधन प्रयोग गरेकाले नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेर छोडिएको प्रष्ट पारे । डिएसपी गिरीले आफूहरुले निर्वाचन आचारसंहिता विपरीत कार्य हुने नदिने भन्ने निर्वाचन आयोगको निर्देशन अनुसार कार्य गरेको तर कसैलाई नियमानुसार हुँदाहुँदै निर्वाचन प्रचार प्रसारमा अवरोध नपुर्याएको जानकारी गराए ।