दमक/ क्यान्सर पीडित बालबालिकाहरुको सहायता र क्यान्सर सम्बन्धिको जनचेतना जगाउँदै काठमाडौंबाट साइकल यात्रामा निस्किएका एक जना लायन्सकर्मी साइकल यात्री झापा आइपुगेका छन ।
लायन्स क्लब अफ काठमाडौं दिर्घजीवि डिस्ट्रिक ३२५ के का सचिव समिर श्रेष्ठ सो यात्राका क्रममा झापाको दमक आइपुगेका हुन ।
६ दिन अघि काठमाडौंबाट क्लबद्धारा स्थापित दिर्घजीवि समुहमा आवद्ध श्रेष्ठले यात्राको माध्यमबाट ठाउँ ठाउँमा बालबालिकामा बढदो क्यान्सरको जोखिम बारे जनचेतना जगाउँदै मानिसमा आशाको चक्र चलाइरहन मद्धत पुरयाउने मुख्य लक्ष्य रहेको जनाएका छन ।
सामाजिक क्षेत्रमा क्रियाशील सोही क्लबकी ट्रिजा ढकालले उनको यो अभियानमा साथ दिइरहेकी छिन । ढकालसंगको समन्वयमा दमकमा क्रियाशील लायन्सकर्मी तथा लायन्स क्लब डिस्ट्रिक ३२५ सीका ट्रेजरर लायन लिडर बबरजंग थापा किरणको नेतृत्वमा लायन्स क्लबका सक्रिय नेतृत्वहरु हेमसिंह अधिकारी, दिवस राई, दयासागर आचार्य, साजन श्रेष्ठ, रिङकुमार आचार्य, ज्ञानु बुढाथोकी लगायतले उनलाई स्वागत सम्मान गरे ।
संक्षिप्त कार्यक्रममा दिइएको जानकारी अनुसार अभियानका क्रममा हरेक १० किलो मिटरको दुरीमा ५०० रुपैयाँ अर्थात १०० डलर सहयोग जुटाउने लक्ष्यसहित काठमाडौंबाट इलाम सम्मको ६०० किलोमिटर साइकल यात्रामा श्रेष्ठ निस्किएका हुन । ढकालले यसक्रममा विभिन्न जिल्लाका ६ स्थानका बिद्यालयहरुमा सो अभियान अन्तर्गत कार्यक्रमहरु गरिएको पनि जनाएकी छिन ।
नेतृत्व बिकासको बिषयमा पिएचडी हासिल गरिरहेकी ढकालले श्रेष्ठले बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै अलग किसिमबाट सञ्चालन गरिरहेको अभियान उदाहरणीय रहेकोले सबैक्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताइन ।
सो अवसरमा लायन लिडर थापाले लायन्स क्लबहरुले आफनो सम्पर्क सञ्जाल मार्फत श्रेष्ठको सो अभियानमा साथ, सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । नेपालमा हरेक बर्ष १ हजार ६ सय बालबालिकाहरुमा क्यान्सरको समस्या देखिने गरेको अभियान्ताहरुको दाबी छ । यसअघि झापाका एक जनासहित १६ जना क्यान्सर पीडित बालबालिकाहरुको अवस्था, उनीहरुको उपचार सम्बन्धि जानकारीमुलक वृत्तचित्रहरु समेत तयार गरेर देशविदेश सम्म सुसुचित गराउने क्रम चलिरहेको पनि कार्यक्रममा जानकारी दिइएको छ ।

Facebook Comments Box