सहज छैन अमेरिका

नवीन रायमाझी

रमाइलोको लागि र आफूलाई अनुचित आर्थिक भार नपर्नेगरी लोटरी किन्दा केही फरक नपर्ला तर ऋण गरेर वा कमाइको ठूलो हिस्सा यसमा खर्च गर्दा आफैँलाई प्रत्योतपादक हुन जान्छ । छिटो धनी हुने आशामा लोटरी र चिठ्ठामा खर्च गर्दा आर्थिक असन्तुलन हुनजाने खतरा हुन्छ । सरकारी स्तरबाटै खोलिएका देश स्तरीय मेगा मिलियन, पावर बल र राज्य स्तरीय हरेक राज्य अनुसार लक्की फर लाइफ, क्यास फर लाइफ, किनो जस्ता फरक फरक लोटरीहरुमा धेरै पैसा खर्च गर्नु मूर्खता मात्र हो । 

 ====================================

केही अपवादलाई छोडेर अमेरिकी सरकारको दृष्टिमा न्यून आय अर्थात् लो इनकममा काम गर्ने नेपाली समुदायहरु कुलतमा फँसेर क्रमशः घरको न घाटको हुँदै छन् । आफूले आर्जन गरेको कमाएले जीवन निर्वाह गर्नेभन्दा पनि तास, लोटरी र चिठ्ठा खेल्ने गर्नाले आफूसँग भएको रकम समाप्त हुने त छँदै छ, घरपरिवारमा पनि झैझगडाको स्थिति आएको छ । यसको फलस्वरूप परिवार नै विघटन हुने स्थिति पनि आउन सक्छ र आएको पनि छ ।

यताका विश्व विद्यालयमा अध्ययन गरेर काममा लागेका सानो अंशलाई अपवाद मान्ने हो भने, यहाँ रहेका अधिकांश नेपाली समुदायका मान्छेहरुले सरकारले तोकेको न्यूनतम ज्यालादरमा काम गर्ने हो । यो ज्यालादर राज्य हेरेर ७ डलर प्रतिघण्टादेखि १३ डलर प्रतिघण्टासम्म छ । नर्थ क्यारोलिना र भर्जिनिया राज्यमा ७ डलर प्रतिघण्टा छ भने क्यालिफोर्निया राज्यमा १३ डलर प्रतिघण्टा छ । यसमा पनि अमेरिकामा बस्ने कानुनी हैसियत नभएकाहरु अर्थात् अनडकुमेन्टहरुले योभन्दा कम दरमा काम गर्नु पर्छ । यसरी जुन राज्यमा जति ज्याला दर भए पनि त्यसै अनुसार खर्च हुने कारणले महँगो र सस्तो भन्नुको कुनै अर्थ छैन । जस्तो: क्यालिफोर्नियामा एउटा सामान्य दुई कोठे अपार्टमेन्टको भाडा प्रतिमहिना दुई हजार पाँच सय डलर पर्छ भने त्यस्तै प्रकारको अपार्टमेन्टको भाडा नर्थ क्यारोलिनामा एक हजारसम्ममा आउँछ । यो भाडादर मध्यम वर्गीय मान्छेहरु बस्ने क्षेत्रहरुको हो, र अधिकांश नेपालीहरु बस्ने पनि यस्तै क्षेत्रहरुमा हो । योभन्दा उच्च क्षेत्रमा लोइनकम गरेर बस्न सकिन्न, भलै उसले नेपालमा जे जस्तो गफ लगाएको होस् ।
यस्तै परिवारका सदस्यहरुमध्ये कम उमेरका अर्थात् १८ वर्षभन्दा सानाबाहेक सबै सदस्यले काम नगर्ने हो भने खान लगाउन नै धौधौ हुन्छ, त्यो पनि सबैभन्दा सस्तो जीवनस्तरको रुपमा । यहाँको एउटा रमाइलो पक्ष के छ भने, उस्तै वस्तु धनीले १० डलरमा किनेको छ भने गरिबले १ डलरमा किन्ने पसल छ । जस्तो, हेरिस ट्याटर, जेसी पेन्नी र मेसिज महँगो सामान पाइने पसलहरु हुन् भने बालमार्ट, डलर जनरल, फेमेली डलर र डलर ट्री न्यून आय भएका मान्छेहरुको लागि हो । अझै डलर ट्रीमा त हरेक सामानको केवल एक डलर (करसहित एक डलर सात सेन्ट) मात्र पर्छ । यसरी सबै वर्गका मान्छेहरुले आफ्नो आय अनुसार सबै वस्तुको उपभोग गर्न पाएका छन् । यो अमेरिकाको अर्थ व्यवस्थाको एउटा सुन्दर पक्ष हो ।

सामान्यतया यस्तो आर्थिक स्थिति हुँदाहुँदै पनि छिटो धनी हुने आशामा लोटरी र चिठ्ठामा खर्च गर्दा आर्थिक असन्तुलन हुनजाने खतरा हुन्छ । सरकारी स्तरबाटै खोलिएका देश स्तरीय मेगा मिलियन, पावर बल र राज्य स्तरीय हरेक राज्य अनुसार लक्की फर लाइफ, क्यास फर लाइफ, किनो जस्ता फरक फरक लोटरीहरुमा धेरै पैसा खर्च गर्नु मूर्खता मात्र हो । यद्यपि कहिलेकाहीँ चिठ्ठा खरिद गरेर भाग्य जाँच्नु अनुचित भने होइन । यी लोटरीहरु धेरै मान्छेहरुलाई परेको छ र पंक्तिकारको परिचय भएको दुई नेपालीहरुलाई १०/१० लाख डलर परेको पनि जानकारी छ । कर कटाएर ६ लाख ५० हजार डलर पाउनु भनेको राम्रै हो, त्यो पनि दुई डलरको टिकटमा ।

रमाइलोको लागि र आफूलाई अनुचित आर्थिक भार नपर्नेगरी लोटरी किन्दा केही फरक नपर्ला तर ऋण गरेर वा कमाइको ठूलो हिस्सा यसमा खर्च गर्दा आफैँलाई प्रत्योतपादक हुन जान्छ । अमेरिकीहरुको एउटा भनाइ छ, “यु नेभर नो” अर्थात् तिमीलाई केही थाहा छैन अर्थात् जे पनि हुन सक्छ वा यो चिठ्ठा तिमीलाई नै पर्न सक्छ । यसरी आफ्नो भाग्य परीक्षण गर्नु नराम्रो होइन तर छिटो धनी हुन्छु भनेर केवल चिठ्ठा मात्र किन्नु मूर्खता मात्र हो । यति भएर पनि यस्तो चिठ्ठाहरु खरिद नगर्ने कोही हुँदैन । फरक यति होला, कसैले धेरै र कसैले थोरै खरिद गर्लान् । मैले खरिद गर्दै गर्दिनँ भनेर कोही भन्छ भने त्यसले झूट बोलेको हो ।

सोमबार, २९ मंसिर, २०७७, बिहानको ११:३८ बजे

सम्बन्धित खवर