सरकार शैक्षिक माफियासँग डराउँदैन : मन्त्री पौडेल

  ०१ माघ / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरुबाट राज्य नडराउने बताएका छन् ।
चिकित्सा शिक्षाका विद्यार्थीहरुमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाव सरकारलाई मान्य नहुने बताएका हुन् । उनले कानूनसम्मत काम नगरी विद्यार्थीहरुबाट जथाभावि शुल्क लिएको पाइए कानून बमोजिम कारबाही गर्ने बताए ।
मन्त्री पौडेलले कुनै पनि शक्तिले केन्द्रमा धाएर वा सरकारलाई दबाव दिएर कानून बिपरितका काम गरे मन्त्रालयले छुट नदिने भन्दै सम्बन्धित यूनिभर्सिटीका प्रतिनिधिहरुलाई बोलाएर आज वा भोलिसम्म समस्याको समाधानमा लाग्ने दाबी गरे ।
त्यस्तै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले आयोगको तर्फबाट गर्नुपर्ने कामका लागि आयोग पछि नहट्ने दाबी गरे । उनले शुरुका दिनदेखि नै आयोगले अनियमित कुराहरुलाई नियमित गर्न लागि परेको बताए । उनले बेथिति सुधारको अभियानमा उठाइएका हरेक आवाज आयोगको भएको बताए ।
विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिइ एम.बी.बी.एस, बी.डी.एस र बी. एन. एसमा नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजले विद्यार्थीहरुसँग बढी शुल्क लिएको भन्दै शिक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले शिक्षाजस्तो अत्यावश्यक सेवा आफ्नो चंगुलमा राख्ने र विद्यार्थीको अधिकार र भविष्यमा प्राप्त सफलतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन् ।

शनिबार, ०१ माघ, २०७८, बिहानको ०८:३० बजे

सम्बन्धित खवर