लोप हुँदै परम्परागत पञ्चेबाजा

धनकुटा /  युवा पुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलन चल्तीमा आएको पञ्चे, नौमती बाजा बजाउने प्रचलन लोप हुँदै गएको छ। पछिल्लो समय आएर विवाह ब्रतवन्ध जस्ता शुभकार्यमा पञ्चेबाजा बजाउने प्रचलन हराउँदै गएका छन्। पुर्खादेखि बाजा बजाएर गुजारा चलाउँदै आएका परिवारका नयाँ पुस्ताले बजा बजाउन इच्छा नदेखाउँदा नेपालीको मौलिक बाजा बजाउने प्रचलन हराउँदै गएको हो। अहिले पढेलेखेको पुस्ता भएका कारणले बाजा बजाउन लाज मान्दा समेत पञ्चेबाजा हराउन लागेको हो। केही वर्ष अगाडिसम्म विवाह ब्रतबन्ध जस्ता शुभकार्यका आरम्भ गर्दा पञ्चेबाजा बजाउने चलन थियो। सीमित जातिले मात्रै बजाउँदै आएको बाजा अहिले पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको छ। बाजा बजाउने काम स्थायी पेसा नभएकोले समेत संस्कृति हराउँदै गएको धनकुटा नगरपालिका २ भीरगाउँका भगतराम दर्जीले बताए। उसो त शुभकार्यमा विदेशी बाजाहरूले स्थान पाउँदा समेत हाम्रा मौलिक बाजाहरू हराउँदै गएका हुन्। समाजमा अझै पनि कायम रहेको जातीय संस्कारका कारणले मौलिक बाजा हराउन थालेको र बाजा बजाएर गुजारा नचल्ने भएकाले पनि बाजा हराउन लागेको दर्जी बताउँछन्। विशेष गरी परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हुँदै गएको छ। पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ। पिता पुर्खाको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको धनकुटा नगरपालिका २ का ८२ वर्षीय हरिबहादुर दर्जीले बताए। जानेबुझेदेखि नै पञ्चेबाजा बजाउन थाले पनि उमेर ढल्केपछि बजाउन छाडेको उनको भनाई छ। विवाह, गाउँघरमा हुने विभिन्न शुभकार्य तथा सांस्कृतिक कार्यक्रममा तीन दिनसम्म लगातार बाजा बजाएर समय बिताएको दर्जीले बताए। पुरानो कला(संस्कृति हराउन थालेकामा उनले दुख लागेको बताए। ‘नौमती पञ्चेबाजा हिजोआज समुदायबाटै लोप हुन थालेको छ’, दर्जीले भने, ‘कला(संस्कृति लोप हुँदै जाँदा पहिचान नै मेटिन थालेको छ।’ पहिले एउटा समूहमा १० जना भन्दा बढी बाजा बजाउनेको संलग्नता हुने गरेकामा अहिले दुई जना हुन पनि मुस्किल हुने गरेको छ। युवापुस्ता भने प्रतिष्ठा, पारिश्रमिक र स्थानीयस्तरमा पञ्चेबाजा बजाएर भोलिको भविष्य नभएका कारण संस्कृतिलाई निरन्तरता दिन नसकिएको दर्जीले बताए। पछिल्लो समय गाउँघरमा पहिलेजस्तो पञ्चेबाजाप्रति त्यति आकर्षण देखिँदैन। धेरै समुदाय रहेको नेपालमा केही सीमित जातिले मात्रै बजाउँदै आएका मौलिक बाजा लोपोन्मुख अवस्थामा पुगिसकेका छन्। शिक्षित युवा स्वदेशमा ठूलो जागिर खोज्ने र नपाएमा वैदेशिक रोजगारमा पलायन हुनाले बाजा संकटमा परेको हो। भावी पुस्तालाई हाम्रो लोक बाजा बुझाउनको लागि सङ्ग्रहालयमा जानुपर्ने अवस्था आउनु अगाडि नै यसको संरक्षणमा विशेष ध्यान दिन जरुरी छ। सदियौँदेखि बजाउँदै आएका पञ्चेबाजा, नौमतीबाजा, धिमे बाजाजस्ता हाम्रा मौलिक संस्कृतिलाई जोगाउनको लागि स्थानीय सरकार र समुदाय चनाखो हुनुपर्ने दिन आएको छ। नेपाली पहिचान बोकेको कला(संस्कृतिको संरक्षण नहुँदा अस्तित्व नै मेटिन थालेको छ। यस्ता चलन चल्तीमा आएका कला(संस्कृति जगेर्ना गर्न सम्बन्धित निकायले ध्यान दिन जरुरी छ। नाम्जाङका महिला नौमती बाजा संरक्षणमा धनकुटाको छथर जोरपाटी गाउँपालिका चार नाम्जाङका बासिन्दा हिजोआज गाउँघरमा हुने हरेक शुभकार्यमा नौमती बाजा बजाउँछन्। यहाँ पुरुष मात्रै होइन महिला पनि पुरुषको साथमा नौमती वाजा बजाउन पछि पर्दैनन्। यो बाजा बजाउने कालीगढ अभावका कारण पछिल्लो समय गाउँघरबाट यो बाजा लोप हुँदै गएका छन्। तर यहाँका स्थानीय भने यसैको संरक्षणमा लागि परेका हुन्। नाम्जाङका पुरुष र महिला विभिन्न उत्सव, मेला, पर्व, विवाह, व्रतवन्ध लगायत विशेष कार्यमा नौमती बाजा बजाउने गर्छन्। नौमती बाजा संरक्षण समिति नै गठन गरेर लागि परेका छन्। नौमती बाजा संरक्षणको लागि गाउँका तीन समूह जुटेका छन्। ती तीन क्लवमा आवद्ध सदस्यहरू १५ दिने नौमती बाजा बजाउने तालिम समेत लिएका छन्। नेपाली कला संस्कृतिको जर्गेनासहित नौमती बाजा संरक्षण गर्ने उद्देश्य गर्न यो अभियान थालिएको समितिका अध्यक्ष दीपक गुरुङले बताए। ‘खास एक जातिले मात्र बजाउनुपर्छ भन्ने मान्यताले पछिल्लो समयमा यो बाजा हराउँदै गएको हो।’ गुरुङले भने, ‘यस्तै सोच राखिराख्ने हो भने एक दिन यो बाजा हराउँछ। त्यसैले हामी संरक्षणमा लागि परेका हौं।’ उनीहरूले तिहारको बेला देउसीभैलो खेलेर एकलाख ४५ हजार रुपैयाँ रकम संकलन गरेर नौमती बाजा खरिद गरेका हुन्। नेपाली कला संस्कृतिको जर्गेनासहित नौमती बाजा संरक्षण गर्ने उद्देश्य गर्न यो अभियान थालिएको हो। नौमती बाजा भित्रका बजाउन महिलालाई जिम्मा दिइएको छ। यसअन्तर्गत ट्याम्को, बागदल, समया, झ्याम्टा लगायत हलुँका बाजा महिलाले नै बजाउने गरेका छन्। त्यस्तै नर्सिङ जस्ता महिलाले बजाउन नसक्ने बाजामा भने पुरुषले साथ दिने गरेका छन्। महिलाले समेत बाजा बजाउन थालेपछि स्थानीय उत्साहित छन्। पुरुष बराबर महिलाले पनि बाजा बजाउन थालेको भएको स्थानीय नेत्रकुमारी काफ्लेले बताइन्। अझ रमाइलो पक्ष त बाजा राम्रो सँग बजाउने कालीगढको रुपमा परिचित दमाइ जातिको यो गाउँमै बसोवास छैन। उनीहरूको अनुपस्थितिमा अन्य समुदायका मानिसले यो बाजागाजा बजाउने गरेका छन्। यस्तो बाजा बजाउन दलित समुदायकै मात्र आवश्यकता पर्छ भन्ने मान्यतालाई तोड्दै संरक्षणतर्फ लागेको स्थानीय अम्बर घिमिरेले बताए। नामजाङवासीले झै अन्य क्षेत्रका बासिन्दा पनि यस्ता कला संकृति संरक्षणतर्फ लाग्न आवश्यक छ। जसले लोप हुन लागेको कला संस्कृति जोगाउन मद्दत गर्ने छ। कलाको कुनै सीमा हुँदैन न जात हुन्छ न धर्म नै न त वर्ग नै हुन्छ। त्यस्तैले त यहाँका स्थानीय महिला, पुरुष, ब्राम्हण, क्षत्री, मगर, गुरुङ, धनी, गरिब केही नभनी गुम्दै गएको कला संस्कृति जोगाउन लागि परेका छन्। थाहा बाट

शुक्रबार, ०३ फागुन, २०७५, रातीको ०९:३८ बजे

सम्बन्धित खवर