औलो रोग बाट बच्न बनाईएको टहरा बाट बनेको आधुनिक धरान ।

दमक / कुनै समय धरानमा रेल कुद्थ्यो भन्दा अहिलेको पुस्ताले नपत्याउन सक्छन् । ६०–६५ वर्षअघि यहाँ कुद्ने रेललाई ‘ढुंगे रेल’ भनिन्थ्यो । ०११ सालमा भारतसँग कोसी सम्झौता भएपछि भीमनगरमा कोसी ब्यारेज र बाँध निर्माणका लागि ढुंगा ओसार्न त्यो रेलमार्ग बनाइएको थियो, जुन धरानको फुस्रेबाट चक्रघट्टी र कोसी ब्यारेज हुँदै बिहारको वीरपुरसम्म चल्थ्यो । कोइलाबाट चल्ने त्यो रेल पञ्चायती व्यवस्थाको मध्यसम्म चलेको थियो । त्यसको लिकलाई यात्रुवाहक रेल गुडाउन प्रयोग गरिएको भए सार्वजनिक यातायातको गतिलो साधन बन्न सक्थ्यो । त्यतिवेलाका शासकको दूरगामी सोच नहुँदा हामीले धरान र चतरामा ‘रेल–वे’ बस्ती र ‘रेल–वे’ चोक मात्र उपहार पायौँ ।
०००
धरानको इतिहास तत्कालीन विजयपुर राज्यसँग जोडिन्छ । हालको धरान एक सय १८ वर्षअघि जंगलैजंगल रहेको इतिहासमा उल्लेख पाइन्छ । तत्कालीन प्रधानमन्त्री देवशमशेरलाई विसं। १९५८ मा पदच्युत गरी चन्द्रशमशेरले धनकुटातिर धपाए । त्यसपछि राणा परिवारका सदस्यहरू, आसेपासे र पदाधिकारीहरूको काठमाडाैं र धनकुटाबीच आवत–जावत सुरु भयो । औलोको प्रकोपका कारण त्यतिवेला तराईबाट एकै दिनमा साँगुरीगढीको उकालो छिचोल्न चाहन्थे, बटुवाहरू । एकैदिनमा साँगुरीगढी पुग्न कठिन भएकाले विसं। १९६० मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले विजयपुरगढीमुनिको घना जंगल फँडानी गराएको पाइन्छ । हालको पुरानो बजार बसालेर चन्द्रशमशेरले चन्द्रनगर नाम दिए । पछि जुद्धशमशेरले हालको नयाँ बजार बसाले र जुद्धनगर नाम दिए । नयाँ बजारको बीचबाटै कोसी राजमार्ग निर्माण भयो ।
०००
वन फँडानीपछि राणाहरूले तत्कालीन ब्रिटिसको इस्ट इन्डिया कम्पनीलाई त्यसबाट प्राप्त काठ बिक्री गरे । त्यही काठबाट उनीहरूले रेलको लिक बनाए । आरा लगाएर काठ काट्न बनाइने संरचनालाई ‘धरान’ भन्ने गरिन्छ । विजयपुरबाट झर्ने मिस्त्रीहरूले ‘धरान जाने’ भन्न थाले । कालान्तरमा त्यही नामबाट सहर बस्यो । बस्ती बस्न थालेपछि धनकुटाका व्यापारी रत्नप्रसाद श्रेष्ठ व्यापार गर्न यता झरे । उनकै नाममा धरानमा रत्न रोड नामकरण भयो । उनका नाति कृष्णप्रसाद श्रेष्ठ धरानमा अझै व्यापारमा जमेका छन् ।

धरानमा सुविधासम्पन्न बसपार्कसम्म छैन । पर्यटक बस्ने स्तरीय होटेल पनि छैनन् । पानीको अभाव छ । त्यसैले धरानको व्यापारिक इतिहास जोगाइराख्न स्थानीय सरकारले कर मात्र बढाएर हुँदैन, पूर्वाधार पनि तयार पार्नुपर्छ ।

०२२ सालमा भारत सीमाको जोगवनीबाट विराटनगर हुँदै कोसी राजमार्ग विस्तार भएपछि धरानले सहरको रूप पायो । ०२८ सालअघि हालको भानुचोक नै थिएन । बजार अड्डानजिकै आदिकवि भानुभक्त आचार्यको प्रतिमा राखिएपछि भानुचोक नाम रह्यो । हालका भानुचोक, छाताचोक र लक्ष्मीचोक त्यतिवेला चौतारा मात्र थिए । कोसी राजमार्ग निर्माणका क्रममा ती चौतारा हटे ।
०००
आधुनिक धरानको इतिहास ०१० सालपछि सुरु हुन्छ । ०१० सालमा बेलायतले पूर्वका लिम्बू र राई समुदायका युवालाई ब्रिटिस गोर्खा सेनामा भर्ती लिने मुकाम धरानलाई बनायो । गोरखा भर्ती केन्द्र ९ब्रिटिस क्याम्प० स्थापना भएपछि आधुनिक धरानले नयाँ रूप पायो । त्यसपछि नै हो, धरानमा बेलायती उच्च अधिकारी र गोरखा सैनिकहरूको जमघट सुरु भएको पनि । बेलायतीहरूले धरानबाटै नेपालमा बास्केटबल खेल भित्र्याएका हुन् । ०१७ सालमा नगरपञ्चायत स्थापना भयो भने ०१८ सालमा कोसी अञ्चलको सदरमुकाम धरान तोकियो ।

हालको धरान एक सय १८ वर्षअघि जंगलैजंगल रहेको इतिहास पाइन्छ । वि।सं। १९६० मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले विजयपुरगढीमुनिको घना जंगल फँडानी गराए र हालको पुरानो बजार बसाले । पछि जुद्धशमशेरले हालको नयाँ बजार बसाले ।

धरानको इतिहासमा दन्तकाली र पिण्डेश्वर मन्दिरको पनि योगदान छ । यी मन्दिर कसले र कहिले निर्माण गरे भन्ने खुलेको छैन । यी दुवै विजयपुरगढीमा पर्छन् । विजयपुर आफैँमा ऐतिहासिक स्थल हो । दुवै मन्दिर करिब दुई हजार वर्षअघि निर्माण भएको विश्वास छ । विजयपुरगढीमै रहेको बूढासुब्बा मन्दिर पनि करिब एक हजार वर्ष पुरानो मानिन्छ । तत्कालीन राजा रणबहादुर शाह र मुख्तियार भीमसेन थापाले पिण्डेश्वर मन्दिरमा चढाएका घन्टले पनि त्यसको पुरातात्विक महत्व झल्काउँछन् । यस्तै, दन्तकाली मन्दिरमा सेन राजाहरूले गोर्खाबाट पुजारी ल्याएको इतिहासमा उल्लेख छ ।
०००
अहिले स्मार्ट सिटीको परिकल्पना गरिएको छ, धरानलाई । मदन भण्डारी राजमार्ग, जोगबनी–किमाथांका राजमार्ग निर्माण पूरा हुँदा धरान समृद्ध सहर बन्ने आशा गर्न सकिन्छ । विजयपुर–विष्णुपादुका–भेडेटार केबलकार, सर्दु करिडोरजस्ता योजनाले धरानलाई थप आधुनिकतातिर लैजानेछ । तर, यहाँको पर्यटकीय पूर्वाधार विकास अगाडि बढाउँदा विजयपुर आध्यात्मिक क्षेत्रको विकासलाई बेवास्ता गर्नुहुँदैन ।
बढ्दो सहरीकरणसँगै सबैतिर सडक विस्तार हुँदै गर्दा कुनैवेला पहाडी क्षेत्रको जंक्सन धरानको व्यापार घट्दो क्रममा छ । व्यापारिक हिसाबबाट इटहरीले धरानलाई उछिन्दै गएको छ । धरान आधुनिक सहर त भयो, तर सुविधासम्पन्न बसपार्कसम्म बन्न सकेको छैन । पर्यटक बस्ने स्तरीय होटेल पनि छैनन् । पानीको अभाव छ । त्यसैले धरानको व्यापारिक इतिहास जोगाइराख्न स्थानीय सरकारले कर मात्र बढाएर हुँदैन, पूर्वाधार पनि तयार पार्नुपर्छ ।

साभार  : नयाँ  पत्रीका,

बुधबार, ०३ बैशाख, २०७७, रातीको ०८:३० बजे

सम्बन्धित खवर