लेप्चा जातिको चिनारी र शंक्षिप्त इतिहास

पवित्र राई

सरकारले लोपोन्मुख जातिहरूको रूपमा सूचीकृत गरेकोमध्ये एक जाति हो लेप्चा । लाप्चा, लेप्चा वा लाप्चे भनेर सम्बोधन गरिने जातिको मौलिक नाम भने ‘रोङ’ हो । उनीहरू एक आपासमा संवाद गर्दा ‘रोङ’ भाषाको प्रयोग गर्छन्।

पूर्वी इलाम जिल्लाका इलाम नगरपालिका, सुर्योदय नगरपालिका रोङ गाउँपालिकाका विभिन्न ठाँउमा परापूर्वकालदेखि बसोबास गरिरहेका लाप्चाहरू नेपालका एक आदिवासी हुन् । त्यसो त यो जातिको बसोबास हिमाल, तराईका विभिन्न क्षेत्रहरू मध्यमाञ्चल, पश्चिमाञ्चलमा क्षेत्रमा रहीआएको छ ।

सोझा, सरल र मिलनसार यो जातिको स्वभाव हो । उनिहरूको धर्म, रीतिरिवाज र शारीरिक बनोट नेपालको शेर्पा, तामाङ्, भोटे आदि जातिहरूसँग मिल्दो जुल्दो हुन्छ । तथापि उनिहरू संस्कृति तथा परम्पराका हिसाबले ती जातिहरू भन्दा भिन्न भएको दावी गर्छन् । परापूर्व कालदेखि नै प्रकृतिको पूजा तथा लामा बौद्धधर्म दुवैमा धार्मिक विश्वास राख्ने गर्दछन् ।



लाप्चाहरूको उत्पति र श्रृष्टिसम्बन्धी विभिन्न मिथक र विश्वासहरू पाइन्छन् । उनीहरू कञ्चनजङ्घा हिमाल र त्यसबाट बनेको दह लाप्चाहरूको उद्गमस्थल भएको विश्वास गर्दछन् । लाप्चाहरूले बसोबास गरेको भू–भागलाइ प्राचीन कालदेखि ‘मयल ल्याङ’ भन्ने गरिन्थ्यो र हालमा पनि लाप्चाहरू बीच ‘मयल ल्याङ’ शब्दको प्रयोग हुने कुरा स्थानीय मानवीर लेप्चा बताउँछन् ।

प्राचीन कालमा ‘मलय ल्याङ’ राज्यको सिमाना उत्तरमा तिब्बत, दक्षिणमा तितीलिया, पूर्वमा सिक्किम र भुटानको सिमाना र पश्चिममा नेपालको अरुण नदिसम्म फैलिएको थियो । मयल ल्याङमा लेप्चाहरूले नेपाल, तिब्बत, भुटान र इष्ट इन्डिया कम्पनीसँग विभिन्न काल खण्डमा आफ्नो बचाउका लागि युद्ध गरेको प्रमाण पाइन्छ । उत्त एेतिहासिक प्रमाणले लाप्चाहरूको राजनैतिक सङ्गठन र शासन व्यवस्था भएको पुष्टि हुन्छ । तर वर्तमान स्थितिलाइ हेर्ने हो भने लेप्चा जातिहरू सामाजिक, राजनैतिक सहभागिता त्यति उल्लेख्य पाइँदैन ।

लेप्चाहरूको प्राचीन भूमि मयल ल्याङ नेपालसम्म फैलिएको थियो भन्ने कुरा इलाम जिल्लामा लेप्चाहरूको बसोबासले देखाउँछ । यद्यपि, इलाममा लेप्चाहरू कहिले देखि बसेका हुन् भन्ने कुरा विवादित नै छ । केही लेप्चाहरू उन्नाइसौँ शताब्दीको अन्त्यतिर सिक्किमबाट नेपाल शरण लिन आएको बेलादेखि बसोबास रहेको मान्छन् भने अन्य लेप्चाहरू परापूर्वकाल देखि नै बसिआएको तर्क गर्छन् ।



पूर्वाञ्चलमा सबैभन्दा धेरै बसोबास रहेको लेप्चा आदिम कालदेखि नै इलाममा भएका जल, जङ्गल, भूमि सबै उनीहरूले नै उपभोग गर्ने गरेको बताउँछन् ।

इलाम नाम पनि लेप्चा भाषामै रहेको जनविश्वास छ । ‘इ’ को अर्थ ‘पुत्का’ (जंगल घुम्दै रूखको धोद्रामा बस्ने मौरी, जसको महलाई औषधिको रूपमा प्रयोग गरिन्छ) र ‘लाम’को अर्थ बाटो अर्थात पुत्का हिँड्ने बाटो । इलाममा पहिले पुत्का धेरै पाइने भएकोले इलाम नाम रहन गएको किम्बदन्तीहरू पाइन्छ । त्यस्तै अन्तु लेप्चाहरूले हालको श्रीअन्तुलाई अथुकोङ भन्थे । ‘अथु’ भनेको अग्लो र ‘कोङ’ भनेको ‘डाँडा’लाई बुझाउँछ । लेप्चाहरूको त्यही अथुकोङबाट अपभ्रंसित हुँदै श्रीअन्तु नाम रहन गएको हो । हाल सूर्योदयको मनोरम दृष्यवलोकनका निम्ति निकै प्रख्यात पर्यटकीय स्थल हो । इलाम घुम्न आउने जोकोहीको रोजाइमा अन्तु छुट्दैन । त्यस्तै अर्को नाम हो, कन्याम । इलामको अर्को प्रख्यात पर्यटकीय क्षेत्र कन्याम पनि लेप्चा शब्दहरूबाट अपभ्रंसित भएको शब्द हो । लेप्चा भाषामा कन्योम भन्नाले ‘ढोट्ने’ (अमिलो हुने एकखालके घाँस–बिरुवा)लाई बुझाउँछ । पहिले–पहिले यस ठाँउमा ढोट्नेको घारी हुने गरेकोले लेप्चाहरूले त्यस ठाँउलाइ कन्योम भन्ने गर्थे । यो त उदाहरण भयो इलाममा यस्ता धेरै ठाँउ छ जसको नाम लेप्चा भाषाबाट राखिएको छ । यसरी हेर्दा इलाम जिल्लाका सम्पूर्ण भू–भागहरूसँग लाप्चा जातिको इतिहास जोडिएको कुरा प्रष्ट हुन जान्छ ।

अन्य जातिको जस्तै लेप्चा जातिको वैवाहिक संस्कार विशेष प्रकारको हुन्छ । कुनै पनि सामाजिक दवाव बिना लेप्चा–लेप्चा बीच विवाह र अन्तर्जातिय विवाह स्वतन्त्र रूपमा गर्न पाइने बताउँछन् मानवीर लेप्चा । भन्छन्, ‘तर जात भित्र केटा र केटीको वंश तथा हाडनाता वा कुल मिलेमा वैवाहिक सम्बन्ध राख्न मिल्दैन ।’ लेप्चा समाजमा विवाहको स्वतन्त्रता भएकाले वर्तमान अवस्थामा धेरै सङ्ख्यामा लेप्चा युवा, युवतीहरूको विवाह ढिलो भएको वा अविवाहित नै बसेको पाइन्छ।

लेप्चाहरूले बोल्ने भाषा सृष्टिकालदेखि आफ्ना पुर्खाले बोलेका र संसारका पुराना भाषाहरूमध्ये एक भएको दावी गर्छन् । ४० प्रतिशत लेप्चाले मातृ भाषा बोल्ने गरेको तथ्याङ्क छ । र दोस्रो भाषाको रूपमा नेपालीनै बोल्ने गरेको बताउँछन् ।

जनगणना–२०५८ को तथ्यांकअनुसार लेप्चाको कूल जनसंख्या ४ हजार रहेको थियो भने पछिल्लो तथ्यांकअनुसार लेप्चाको कूल जनसंख्या घटेर ३ हजार ४ सय ४५ मा आइपुगेको छ । उनीहरूमध्ये ३ हजार २ सय ६४ जना ग्रामीण अनि १ सय ८१ जना सहरी क्षेत्रमा बस्छन् ।


पूर्वाञ्चलमा सबैभन्दा धेरै ३ हजार २ सय ३६ जना, मध्यमाञ्चलमा १ सय ६४, पश्चिमाञ्चलमा ३८, मध्यपश्चिमाञ्चलमा ५ र सुदूरपश्चिमाञ्चलमा २ जनाको बसोबास छ । उनीहरू पहाडी क्षेत्रमा सबैभन्दा बढी (२ हजार ९ सय ९६) जना बसोबास गर्छन् । तराईमा ४ सय ३१ र हिमाली क्षेत्रमा १८ जनाको बसोबास रहेको राष्ट्रिय जनगणना–२०६८ को तथ्यांकले देखाउँछ ।

सरकारले यो जातिको सुरक्षार्थ सामाजिक सुरक्ष भत्ता, प्राविधिक शिक्षा लगायत विभिन्न सेवा तथा कार्यक्रमहरू पनि लागू गरेका छन् । जसअन्तर्गत लेप्चाहरूले मासिक प्रतिव्यक्ति ३ हजार भत्ता पाउने गर्दछन् भने प्राविधिक शिक्षा सेवा लिएपछि अहिले विभिन्न सरकारी कार्यलयहरूमा पनि लेप्चाहरूको पहुँच पुगेको ‘रोङ सेजुम ठीं’ इलामका अध्यक्ष एवं सुर्योदय नगरपालिका प्रवक्ता वीर बहादुर लेप्चाले बताएका छन् । उनले भने, ‘उनीहरूले पाएका भत्ता विभिन्न कृषि पेशामा, ॠण लगानी, शिक्षा तथा स्वाथ्यमा खर्च गर्ने गरेको पाएका छौँ ।’

‘रोङ सेजुम ठीं’ इलाम २०५८ सालमा दर्ता भई लोपोन्मुख लेप्चा जातिको उत्थानका निम्ति धर्म, संस्कृति, भाषा, वेषभूषा, ऐतिहासिक तथा पुरातात्विक महत्वका गुम्बा आदि को संरक्षणका निम्ति विभिन्न खोज अनुसन्धान, अभिलेखीकरणका कार्यक्रमहरू गर्दै आएको छ । जसअन्तर्गत वर्षेनि लेप्चाहरूको सांस्कृतिक झाँकी प्रदर्शन, लेप्चा भाषामा नाटक प्रदर्शन, अनौपचारिक भाषा कक्षा सञ्चालन, धार्मिक ग्रन्थहरूको पाठजस्ता कार्यहरू गरेका छन् । यसरी हेर्दा लेप्चा धर्म तथा संस्कृति संरक्षण, भाषा संरक्षण र विकासका लागि इलाम जिल्लाका लाप्चाहरूको महत्वपूर्ण योगदान रहीआएको देखिन्छ । यसरी लेप्चा उत्थान मञ्च तथा राज्य लेप्चा जातिको संरक्षण गर्न विभिन्न विकास योजनाहरू मार्फत लागि परे पनि त्यति सफल भएको भने देखिँदैन । किनकि जनगणना–२०५८ को तथ्यांकअनुसार लेप्चाको कूल जनसंख्या ४ हजार रहेको थियो । भने पछिल्लो तथ्यांकअनुसार लेप्चाको कूल जनसंख्या घटेर ३ हजार ४ सय ४५ मा आइपुगेको छ । याे घट्दाे जनसंख्यालाई हेर्दा के सरकारको सामाजिक सुरक्षा भत्ता, प्राविधिक शिक्षा लगायतका सेवा मात्र लेप्चा जातिको संरक्षणको लागि पर्याप्त होला ?- the margin बाट साभार

मङ्गलबार, ०१ असार, २०७८, दिउँसोको १२:२० बजे

सम्बन्धित खवर