प्रदेश १ बजेट : म अघि बढ्छुदेखि सासू बुहारी प्रोत्साहनसम्म

विराटनगर /  प्रदेश १ सरकारले पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राख्दै बजेट ल्याएको छ । बजेटमा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरिएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ लिम्बूले सदनमा प्रस्तुत गरेको बजेटमा स्वास्थ्य तर्फ तीन अर्ब रुपैयाँ विनियोजन गरेको छ । जसमा कोरोना भाइरस नियन्त्रणका लागि मात्रै ४० करोड रुपैयाँ रहेको छ । सरकारले सदनमा प्रस्तुत गरेका बजेटमा राखिएको मुख्यमुख्य कार्यक्रमहरु यस्ता छन् ।

विद्युतीय पुस्तकालय
बजेटले प्रत्येक विद्यालयमा पुस्तकालय स्थापना गर्दै क्रमशः ती पुस्तकालयहरूलाई विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्दै जाने बताइएको छ ।

सासू बुहारी प्रोत्साहन
समाजमा योगदान गरेका आमाहरूलाई राष्ट्रपति आमा सम्मान र राम्रो सम्बन्ध भएका सासू बुहारीलाई प्रोत्साहन गर्न सम्मान गर्ने कार्यक्रमलाई पनि प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । त्यसका लागि सरकारले १३ करोड २१ लाख रुपियाँ विनियोजन गरिएको छ ।
द्वन्द्वपीडित र घाइतेहरूको स्वास्थ्य उपचारको बिमा प्रयोजनका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

भूमि बैङ्क स्थापना गरिने
अगामी वर्ष भूमि बैङ्कको स्थापना गरी त्यसका ५० वटा शाखा सञ्चालनमा ल्याएर उद्यम गर्न चाहनेहरूलाई भूमि बैङ्क मार्फत जमिन उपलब्ध गराउने जनाएको छ ।

सरकारले मेरो कृषि मेरो पौरख भन्ने कार्यक्रम मार्फत कृषि उत्पादनमा जोड दिने नीति लिएको छ । सरकारले विष मुक्त चुल्हो कार्यक्रम मार्फत आत्मनिर्भर कृषि उत्पादनमा जोड दिने जनाएको छ ।

नौ हजार उद्योगको लक्ष्य
उद्यमशिलताको विकास लागि अगामी वर्ष प्रदेशभरि नौ हजार नयाँ उद्योग स्थापना हुने अनुमान गर्दै त्यसको प्रवद्र्धन गर्न सरकारले १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

पर्यटन करिडोर
सरकारले पर्यटन गन्तव्यलाई जोड्ने पर्यटन करिडोर निर्माण गर्ने, चार वर्षे पदमार्ग विकास आयोजना स्थापना गर्ने, मुन्धुम ट्रेलको पूर्वाधार निर्माणका लागि तीन अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

बहु वर्षे सडक आयोजनामा पाँच अर्ब
प्रदेश गौरबको आयोजनाको रूपमा रहेको घिनाघाट विराटचोक चारलेन सडकलगायत अन्य बहु वर्षे सडक आयोजना सम्पन्न गर्न प्रदेश सरकारले पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । मुख्यमन्त्री ग्रामिण सडक आयोजना सञ्चालनका लागि ३२ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आठ हजार हेक्टर क्षेत्रमा सिँचाइ
प्रदेशका ४३ हजार हेक्टर जमिन सिँंचाइ गर्ने योजनासहित अघि बढेको सरकारले अगामी आर्थिक वर्षमा आठ हजार हेक्टरमा थप सिँचाइ सेवा विस्तार गर्ने जनाएको छ । सरकारले सुख्खा ग्रस्त क्षेत्रमा लिफ्ट तथा डिपबोरिङ मार्फत पिउने पानीको प्रबन्ध गर्ने जनाएको छ ।

म अघि बढ्छुलाई निरन्तरता
यसअघि विवादित बनेको र कार्यक्षेत्र भन्दा बाहिरको कार्यक्रम रहेको भन्दै महालेखा परीक्षणको कार्यालयले सच्याउन सुझाव दिएको भएपनि सरकारले ‘म अघि बढ्छु’ कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रदेशका दुई लाख विद्यार्थीहरूलाई लागूऔषध आदिबारे सचेतनाका लागि विद्यालय तहमा सञ्चालन हुने गरी यो कार्यक्रम संचालन हुने जनाइएको छ ।

मङ्गलबार, ०१ असार, २०७८, रातीको ०८:५७ बजे

सम्बन्धित खवर