झापामा ६१ प्रतिशत रोपाइँँ सम्पन्न

    झापा / अन्नको भण्डार मानिने झापामा असार सकिनै लाग्दा ६१ प्रतिशत क्षेत्रमा धान रोपाइँँ सम्पन्न भएको छ ।  झापाको ८७ हजार ५ सय हेक्टर खेतमा धानबाली हुने गरेको झापामा ६१ प्रतिशत क्षेत्रमा धान रोपाइँँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र झापाका बागबानी अधिकृत अंकित भट्टराईले जानकारी दिए ।
कृषकले २० साउनसम्म पनि धान रोप्ने गरेको बताउँदै यस पटक पर्याप्त पानील नपरेको र सहजरुपमा रासायनिक मल नपाएकाले हालसम्म झापामा ६१ प्रतिशत क्षेत्रमा मात्र रोपाइँँ सम्पन्न भएको उनले बताए ।
सिँचाईको सुविधा भएको स्थानका कृषक पनि रासायनिक मल पर्खेर बस्दा धान रोपाइँँ ढिलो भएको उनले बताए । सरकारले समयमा रासायनिक मल आयात गर्न नसक्दा रोपाइँँ गर्ने आधा समय सकिँदासमेत रासायनिक मल पाउन नसकेकाले आफूहरुले रासायनिक मल बेगर नै धान रोप्न बाध्य भएको झापा बाह्दशी –७ का कृषक तुलाराम निरौला बताउँछन् ।
उनले भने, “रासायनिक मल आउने टुङ्गो छैन, धान रोप्ने समय सकिन आट्यो, अब यसवर्ष पनि रासायनिक मल बिना नै धान रोप्नु प¥यो ।
कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाशकुमार डाँगीले ५० प्रतिशत जमिनमा अझैं पनि सिंचाईको प्रबन्ध नभएकाले आकाशे पानीको भरपर्नुपर्ने हुँदा झापामा धान रोपाइँले गति लिन नसकेको बताए । पर्याप्त पानी समेत नपरेकाले रोपाइँँ हुन नसक्दा धान उत्पादन घट्ने डाँगीको भनाइ छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत झापा जिल्लाको पत्थरीया, घेराबारी, बालुवाडी, पाठामारी, केचना, बनियानी र पृथ्वीनगरलाई धान–सुपरजोन क्षेत्रका रुपमा परियोजना सञ्चालन भइरहेको उनले बताए ।
असारमा सुरु हुने धान रोपाइँ २० साउनसम्ममा सकिनुपर्ने भएपनि यसबेला सम्ममा पनि पर्याप्त वर्षा नभएका कारण झापाका अधिकांश जमिन बाँझै रहने सम्भावना बढी हुने उनले बताए ।
झापामा ९८ हजार ७ सय १६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ८७ हजार ५ सय हेक्टर खेतमा धानबाली हुने उनले बताए । झापामा ३८ हजार ७ सय ४० हेक्टर क्षेत्र सिञ्चित, १२ हजार ८४ हेक्टर अर्ध सिञ्चित र बाँकी आकाशे पानीको भरमा रोपाइँँ हुने गरेको उनले बताए ।
झापामा विशेष गरी रञ्जित, राधा–१२, सुख्खा १ र ३, मनसुलीलगायतका धान रोप्ने गरिएको कृषि ज्ञान केन्द्र झापाका बागबानी अधिकृत भट्टराईले बताए । पछिल्लो समय झापामा धान रोप्ने मेसिनबाट धान रोपार्इँ भइरहेको र यसले कृषकलाई राहतसमेत दिएको उनले बताए ।
धान रोपार्इँ गर्ने क्षेत्र वर्षेनि प्लटिङका कारण अतिक्रमित भइरहेको भट्टराईले बताए । उनले भने, “प्लटिङका कारण धान रोपाइँ मात्र नभएर बाली उत्पादनमा नोक्सान गरेको छ ।”
एक बिगाह क्षेत्रमा प्लटिङ गरेमा त्यसको असर अन्य १५ विगाहमा पर्नेछ । झापाका १५ सय हेक्टरमा अब बाली उत्पादन हुन नसक्ने अवस्थामा पुगेको भट्टराईले बताए ।
धान उत्पादनमा खासै गिरावट नआएको बताउँदै कृषकले उन्नत जातको धानको रोप्न थालेकाले उत्पादकत्वमा कमी नआउने भट्टराईले बताए । मनसुन जारी रहेकाले २० साउनसम्ममा शतप्रतिशत रोपाइँँ सम्पन्न हुने आफूहरुको अनुमान रहेको उनको भनाइ छ ।

शुक्रबार, ३१ असार, २०७९, बिहानको ०९:२७ बजे

सम्बन्धित खवर