सी विचारधाराः के हो, के होइन ?

विष्णु रिजाल

घरेलु समस्याहरूबाट पार पाएर विश्वशक्ति बन्ने यात्रामा लागेको चीनलाई आफ्नो प्रभाव विस्तार गर्न पनि संसारभर सी–विचारधारा बुझाउनुपर्छ भन्ने लागेको छ।

सन् १९७८ मा देङ स्याओ पिङको नेतृत्वमा चीनले खुलापन र सुधारको नीति अघि सारेपछि आर्थिक वृद्धिमा निरन्तर उकालो लागे पनि चिनियाँ अधिकारीहरू कहिल्यै आफ्नो मुलुक शक्तिशाली भएको बताउन चाहँदैनथे । ‘आफ्नो शक्ति लुकाऊ, समयलाई पर्ख’, चिनियाँहरूबीच यस्तो भनाइ प्रख्यात थियो ।

समय बदलिएको छ । १ अक्टोबरमा जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनफिङले घोषणा नै गरे, ‘चीनलाई संसारको कुनै पनि शक्तिले पराजित गर्न सक्दैन ।’ यसबाट प्रष्ट छनक मिल्छ, चीन अब बोल्ने र आफ्नो शक्ति देखाउने ठाउँमा आइपुगेको छ । सन् २०१२ मा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव चुनिएसँगै देशको नेतृत्व गरिरहेका सीले यसका लागि व्यापक पृष्ठभूमि तयार पारेको देखिन्छ ।

१४ बुँदाका विचारधारा

सन् २०१७ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशनले नेतृत्व परिवर्तनका लागि स्थापित दुई कार्यकाल अर्थात् १० वर्ष र ६५ वर्षको उमेर हदको प्रावधान संशोधन मात्र गरेन, विधानमै ‘सी चिनफिङ विचारधारा’ उल्लेख गर्यो । आलोचकहरूले कम्युनिस्ट नेताहरू आजीवन पदमा रहने रोगबाट चौथो पुस्ताका नेताहरूले दुई कार्यकालको प्रावधान राखेर व्यवस्थित गरेकामा सीले पुनः पछाडि फर्काएको भन्ने आरोप पनि लगाए । तर, यसको अन्तर्यमा अब ‘सुतेको ड्रागन उठ्ने बेला भयो’ भनेर चिनियाँ नेतृत्वले सोची–विचारी बलियो नेतृत्व स्थापित गर्न चाहेको देखिन्छ ।

सन् १९२१ मा स्थापित चिनियाँ कम्युनिस्ट पार्टीले चीनमा शासन गरेको यसै वर्ष सात दशक पूरा भएको छ भने दुई वर्षपछि पार्टी स्थापनाको सय वर्ष पुग्दैछ । यो सय वर्षको अवधिलाई चीनमा मोटामोटी तीन भागमा राखेर अध्ययन गरिन्छ ।

पहिलो, सन् १९२१ देखि १९७८ सम्मको समय, जसमा माओत्सेतुङ केन्द्रमा रहे । त्यो अवधिमा जनवादी क्रान्ति (१९४९) भयो, सन् १९६६ देखि सांस्कृतिक क्रान्तिका नाममा वितण्डा मच्चियो, अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापना भयो, संयुक्त राष्ट्रसंघको सदस्यता पायो । तर, चीन आर्थिक रुपमा बलियो बन्न सकेन । सुधार र खुलापन स्वीकार गरिएन मात्र, त्यस्तो धारणा राख्ने कतिपय नेताहरूलाई अपमानित गरियो भने कतिपयको ज्यान समेत लिइयो ।

दोस्रो, सन् १९७८ देखि २०१२ सम्मको अवधि । यो अवधिलाई चीनको ‘सुनौलो युग’ भन्दा हुन्छ । देङ स्याओ पिङले अघि सारेको खुलापन र सुधारको नाराले चीनलाई नयाँ युगमा प्रवेश गरायो । राज्यको नियन्त्रण हुँदाहुँदै पनि विदेशी पूँजी र प्रविधिलाई देङले दिएको महत्व, उत्पादनका शक्तिको विकासका लागि उनले अघि बढाएको योजनाले चीनलाई आत्मनिर्भर मात्र बनाएन, विश्वको सबैभन्दा ठूलो जनसंख्यालाई पुग्दो उत्पादन गरेर विश्वकै जनसंख्यालाई पाल्ने ठाउँमा पुर्यायो । खासगरी, समुद्री तटका शहरहरूलाई उत्पादनको ‘हब’ बनाउने उनको अभियानले चीनलाई विश्वको पहिलो आर्थिक शक्ति बनाउने दिशामा अघि बढायो ।

‘बिरालो सेतो होस् वा कालो, त्यसले मुसा मार्नुपर्छ’ भन्ने मान्यताका देङले जनताको लागि व्यवस्था साध्य होइन, साधन मात्र हो भन्ने कुरालाई व्यवहारमा स्थापित गराएकै कारण चीन गरीबीको दुष्चक्रबाट बाहिर निस्कियो ।

तेस्रो, सन् २०१२ देखिको सी चिनफिङले लिएको आक्रामक नीति । विश्वमै सबभन्दा बढी विदेशी मुद्रा सञ्चिति रहेको मुलुक भएका कारण चीनले अब आर्थिक क्षेत्रमा हात बढाउनुपर्छ र विश्वको समृद्धिसँग जोडिनुपर्छ भन्ने धारणा चिनियाँहरूमा पाइन्छ । चीनले यस अवधिमा ४० करोड मानिसलाई निरपेक्ष गरीबीको रेखामुनिबाट बाहिर त निकालेको छ तर धनी–गरीबबीचको खाडल भने डरलाग्दो गरी बढिरहेको छ । सीले यही खाडल पुर्ने विषयलाई प्राथमिकतामा राखेका छन् । सिद्धान्तका प्रश्नमा माओत्सेतुङभन्दा देङ स्याओ पिङलाई बढी सम्झ्निे चिनियाँहरू त्यसभन्दा पनि उन्नत विचार र अवधारणाका रुपमा सी विचारधाराको व्याख्या गरिरहेका छन् । उनीहरूका भनाइमा, चीनले घरेलु समस्याहरू समाधान गरिसक्यो, अब बाहिरी विश्वमा प्रभाव विस्तार गर्नुपर्छ ।

१९ औँ महाधिवेशनमा महासचिव सीले आफ्नो राजनीतिक प्रतिवेदनमा चीनले गर्नुपर्ने १४ वटा नीति उल्लेख गरेका थिए । तिनै नीतिलाई सी चिनफिङ विचारधाराका रुपमा विधानमा राखिएको छ र अहिले चिनियाँहरू त्यसैको प्रचारप्रसारमा सक्रिय देखिन्छन् । केही समयअघि नेपालमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग भएको सी चिनफिङ विचारधारासम्बन्धी अन्तरक्रिया पनि त्यसैको उदाहरण थियो । यसको अर्थ घरेलु घेराबाट बाहिर निस्केर आफ्नो प्रभाव विस्तार गर्न पहिले आफ्नो विचारधारा बारे जानकारी दिनुपर्छ भन्ने बुझइ चिनियाँ नेतृत्वमा छ ।

के हो सी चिनफिङ विचारधारा, यसले चिनियाँका साथै विश्वको कम्युनिस्ट आन्दोलनमा थप के योगदान गर्दछ ? जवाफ प्रष्ट छैन । न त यसको दस्तावेज नै बनेको छ । अहिले महाधिवेशनमा प्रस्तुत तिनै १४ बुँदा र व्याख्यालाई सी चिनफिङ विचारधारा भनेर बुझउने गरिएको छ।

१४ बुँदे सी चिङफिङ विचारधारा
क. सम्पूर्ण काममा पार्टी नेतृत्वको सुनिश्चितता जनता केन्द्रित अवधारणाको निरन्तरता
ख. सुधारको समग्र गहिराइको निरन्तरताक. सम्पूर्ण काममा पार्टी नेतृत्वको सुनिश्चितता जनता केन्द्रित अवधारणाको निरन्तरता
ख. सुधारको समग्र गहिराइको निरन्तरता
ग. खुला, मौलिक, हरित अर्थतन्त्र र समाजवादी वितरणसहितको विकासको नयाँ अवधारणा अवलम्बन

ग. खुला, मौलिक, हरित अर्थतन्त्र र समाजवादी वितरणसहितको विकासको नयाँ अवधारणा अवलम्बन
घ. जनताद्वारा राष्ट्र सञ्चालन
प. कानूनी शासनमार्फत चीनको शासन
घ. समाजवादी अहम मूल्यहरू, माक्र्सवादको प्रबद्र्धन, साम्यवादी आदर्श र चिनियाँ विशेषताहरूसहितको समाजवादको अभ्यास
च. विकासमार्फत जीवनस्तरको बढोत्तरी र सुनिश्चितता
छ. मानव र प्रकृतिबीचको सद्भाव सुनिश्चितता
ज. राष्ट्रिय सुरक्षाका लागि समग्र अवधारणा अवलम्बन
झ. चीनको सशस्त्र बलमाथि पार्टीको पूर्ण पकड
ञ. एक मुलुक दुई प्रणालीको अवलम्बन र राष्ट्रिय पुनःएकीकरणको प्रबद्र्धन
ट. मानव जातिका लागि साझा भविष्यसहितको समुदाय निर्माण प्रबद्र्धन
ठ. पार्टीमाथि पूर्ण र कठोर सुशासन ।

अहिले चिनियाँ सपनाका रुपमा विश्वव्यापी रुपमा फैलिरहेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)’ सी चिनफिङ विचारधाराकै उपज मान्न सकिन्छ । सी चिनफिङ विचारधाराको १३ नम्बर बूँदामा उल्लिखित अवधारणा अन्तर्गत नै चीनले बीआरआईलाई अघि बढाइरहेको छ । पुरानो वैभव र सभ्यताको सिल्क रोडलाई ब्युँताउने भन्दै चीनले अघि सारेको यो अवधारणामा हालसम्म ६८ वटा मुलुकले हस्ताक्षर गरिसकेका छन् । यसअन्तर्गत चीनले सहुलियतमा ऋण प्रवाह गर्ने र चिनियाँ समृद्धिको जगमा आ–आफ्नो देशमा कनेक्टिभिटी आधारित परियोजनाहरू सञ्चालनका काम अघि बढेका छन् । स्पष्ट छ, यसबाट यी देशहरूमा चिनियाँ प्रभाव विस्तार भइरहेको छ ।

कसैले चाहे पनि नचाहे पनि अबको विश्व राजनीतिमा चीनलाई पन्छाएर सोच्न, बुझन र काम गर्न असम्भव प्रायः भइसकेको छ । यस आधारमा जनवादी गणतन्त्र चीनका संस्थापक माओत्सेतुङ र आधुनिक चीनका प्रणेता देङ स्याओ पिङभन्दा विश्व राजनीतिमा सी चिनफिङको प्रभाव बढी पर्ने देखिन्छ ।

समाजवादको चिनियाँ मोडल

चीनमा रातारात धनी बन्ने होडले बढेको सामाजिक असमानताको खाडल पुर्न राष्ट्रपति सीले चिनियाँ विशेषतासहितको समाजवादको नारा अघि सारेका छन् । हुन त यो शब्द देङकै सापटी हो तर चिनियाँ नेताहरू यही नीतिकै कारण चीनमा विकास तीव्र भएको तर विभेद पनि बढेको स्वीकार्छन् । सीले जनवादी गणतन्त्र स्थापनाको सय वर्ष सन् २०२१ सम्ममा चीनलाई मध्यमतहको आरामदायी जीवनयापन गर्ने मुलुकका रुपमा पुर्याउने लक्ष्य लिएका छन् ।

सन् २००८ ताका विश्व चरम आर्थिक मन्दीबाट गुज्रिँदा पनि आफूलाई बचाएको चीनका लागि अबका चुनौतीहरू भने सहज छैनन् । एकातिर जनताको जीवनस्तर उकास्नु पर्ने र अर्का्तिर विश्व बजारका नयाँ नयाँ उतारचढाव । अमेरिकासँग व्यापार युद्ध चीनका लागि पूर्व चेतावनी बनेको छ । तर, विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट पहिलोमा उक्लने यात्रामा यस्ता घटनाले व्यवधान ल्याउन सक्छ भन्ने चीनले बुझेकै देखिन्छ । त्यही भएर शान्त कूटनीति तथा आक्रामक व्यापार नीतिमार्फत उसले आफ्नो सञ्जाल विस्तार गरिरहेको छ ।

प्रतिव्यक्ति आय १० हजार डलरबाट बढाउँदै आगामी एक दशकभित्र चीन विश्वका धनी मुलुकको सूचीमा पर्न चाहन्छ । यसका लागि राज्यको मात्र होइन, जनताको पकेट पनि बलियो हुनुपर्छ । त्यही भएरै राष्ट्रपति सीले ‘चीनको शासन’ नामक आफ्ना दुवै पुस्तकमा ‘समाजवादी वितरण प्रणाली’ मा बारम्बार जोड दिएका छन् । आय आर्जन अब समस्या रहेन, समस्या त वितरणमा देखियो भन्ने पहिल्याएको चिनियाँ नेतृत्वले समृद्धिको लाभ गरीब जनतासमक्ष पुर्याउने कुरालाई प्रमुख चुनौती ठानेको देखिन्छ ।

पूँजीवादको विकास नभएसम्म समाजवादमा प्रवेश गर्न सकिँदैन भन्ने बुझाइ कार्यान्वयनको चरणमा चीन अघि बढेको छ । राष्ट्रपति सी, उनको नीति र समग्रमा सी विचारधारा यही मार्ग्निर्देश सिद्धान्तको जगमा अडेको छ

मङ्गलबार, २८ असोज, २०७६, साँझको ०५:११ बजे

सम्बन्धित खवर