दमक/   राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा संघीय गणतन्त्र असफल भइसकेको बताएका छन् । झापाको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश १ कार्य समितिको प्रथम ऐतिहासिक एकता अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले लोकतन्त्र र संघीयताका नाममा सर्वसत्तावाद हावी हुँदै गएकाले अहिलेको ब्यवस्था माथिनै प्रश्नचिन्ह खडा भएको बताए । सरकार सञ्चालनको प्रसङ्ग उठाउँदै अध्यक्ष थापाले अहिलेको सरकार जनादेशबाट नभई परमादेशबाट चलेकोले स्थायी नहुने भन्दै सरकारको आडमा भ्रष्टाचार मौलाएको आरोप लगाए ।

अध्यक्ष थापाले अबको विकल्प भनेको राजसंस्थासहितको हिन्दुराष्ट्र भएको भन्दै आफूहरुको एजेण्डामा जनताको चासो बढ्दै गएको बताएका छन् । उनले भने– ‘मुलुकमा कम्युनिष्ट र काँग्रेस असफल भइसकेकाले अबको विकल्प अरु नभएर राप्रपा नै हो, अब राप्रपाले एकताको अधिवेशन गरेर मुलुकलाई हाँक्न सक्नुपर्छ त्यो तागत हामीसँग छ ।’ पार्टीभित्रको विवाद समाधान हुँदै गएकाले अब सहमतिबाट नै पार्टी अघि बढ्नुको विकल्प पनि नभएकाले एकताको सन्देश दिन पनि आफू झापा आएको बताए । उनले झापा राप्रपाको मुटु भएको भन्दै झापाले सिंगो देश हाँक्ने सामथ्र्य राख्नुपर्छ भन्दै पूर्वका कार्यकर्तालाई बधाइ समेत दिएका छन् ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै झापा क्षेत्र नं. ३ का संघीय सांसद तथा नेता राजेन्द्र लिङ्देनले काँग्रेस र कम्युनिष्टबाट जनता आजित भइसकेको भन्दै राप्रपाले जनताको भावना समेट्न सक्नुपर्ने बताएका छन् । उनले भने– ‘जनताले नयाँ टेष्ट खोजिरहेका छन्, संघीयता खारेजीको माग राप्रपाको मात्र नभएर आम राष्ट्रिबादीहरुको हो । अब राजा चाहिन्छ, हिन्दुराष्ट्र चाहिन्छ, संघीयता चाहिन्न ।’ नेता लिङ्देनले पार्टीमा नेतृत्वले योजना बताउन नसकेका कारण आफू भूमिकाविहिन हुन पुगेको भन्दै शिर्ष नेतृत्वले आफुलाई चिन्न नसकेको भन्दै दुःख समेत ब्यक्त गर्दै भने चुनाव जितेरपनि भूमिकाविहिन हुन पुगेका भन्दै पार्टीले दिर्घकालिन योजना बनाएर काम गर्न ढिला गर्नु नहुने बताए ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा वरिष्ठ नेता रामकुमार सुब्बाले पार्टी फुट र विभाजनबाट जोगाउन कार्यकर्ताको पनि हात हुने भएकाले कार्यकर्ता सचेत हुन आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य अर्जुन राईले एकताको सन्देश दिनुपर्ने बेला विभाजनको नारा लगाउनेलाई पार्टीले कारवाही गर्नुपर्ने बताए ।

यसैगरी विशेष निर्देशन समिति सदस्य श्याम तिम्सिनाले पार्टीभित्र अनुशासन आवश्यक परेको भन्दै कार्यकर्ता अनुशासनमा बसे नेतालेमात्रै पार्टी फुटाउन चाहेर पनि नसक्ने बताए ।

अर्का बक्ता केन्द्रीय सदस्य उद्वव पौडेलले संविधानको भावना अनुसार पार्टीले योजना बनाएर अघि बढ्नुपर्ने बताए । उनले कार्यकर्ताको भावना बुझेर पार्टीले योजना बनाउने र सोही अनुसार काममा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

यसैगरी केन्द्रीय सदस्य सगुनसुन्दर लावतीले राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति तथा कार्यक्रम नै आम जनताको कार्यक्रम भएको बताए ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य कलावती राईले शिर्ष नेता नै एकठाउँमा नउभिएसम्म पार्टी एकताको अभियानले सार्थकता नपाउने भएकाले शिर्ष नेतालाई एकैठाउमा उभिन खवरदारी गरिन ।

युवा नेता तथा संगठनका उपाध्यक्ष धु्रव उप्रेतीले आवश्यक परे नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्नपनि नेतृत्व तयार हुनुपर्ने बताए । उनले नयाँ र पुराना कार्यकर्ताको फ्यूजन गरेर नेतृत्व विकास गर्न र सोही अनुसार जिम्मेवारी दिन शिर्ष नेतालाई आग्रह गरे ।

प्रदेश नं. १ का अध्यक्ष राम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश एकका १४ जिल्लाका पार्टी प्रतिनिधी तथा पर्यवेक्षकको उपश्थिति रहेको थियो । राप्रपाले आइतबार एकैदिन देशभरका सातै प्रदेशमा अधिवेशन उद्घाटन गरेको छ । राप्रपाले आगामी मंसिर ११,१२ र १३ गते केन्द्रीय अधिवेशनको आयोजना गरेको छ ।

Facebook Comments Box