साढे तीन अर्बका दूरसञ्चार उपकरण आयात

दूरसञ्चार सेवा दिँदै आएका चार कम्पनीले एक वर्षमा ३ अर्ब ३३ करोड रुपैयाँ बराबरको उपकरण आयात गरेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७७/०७८ मा नेपाल टेलिकम, एनसेल, कस्टलेसन प्रालि तथा इन्टनेट सेवा प्रदायक क्लासिकटेक प्रालिलाई उपकरण आयातका लागि सिफारिस गरेको हो । सिफारिस गरिएकोमा नेपाल टेलिकम १ अर्ब ७६ करोड, एनसेल १ अर्ब ५६ करोड, कस्टलेसन ३ करोड र क्लासिक टेकलाई २२ लाख रुपैयाँ बारबरको उपकरण आयात गर्न प्राधिकरणले सिफारिस गरेको छ ।
मोबाइल, टेलिफोन तथा इन्टरनेट सेवाको विस्तार, स्तरोन्तती र नयाँ प्रविधि भित्र्याउन वर्षेनि अर्बौं रुपैयाँका सामग्री आयात हुने गरेका छन् । प्राधिकरणका अनुसार, माइक्रोवेभ फ्रिक्वेन्सीसम्बन्धी उपकरण, रेडियो फ्रिक्वेन्सी उपकरण, बिटिएसका, सफ्टवेयर, एन्टेना सामग्री अयातका लागि सिफारिस गरिएको छ । सेवा प्रदायक कम्पनीका आधारमा उपकरण आयातको हिस्सामा नेपाल टेलिकम सबैभन्दा धेरै ५२.८३ प्रतिशत, एनसेल अजियटाको ४७.०१ प्रतिशत, कन्स्टेलेसन प्रालिको ०.०९ प्रतिशत र क्लासिक टेकको ०.०७ प्रतिशत रहेको छ ।
यसका साथै नेपाली दूरसञ्चार कम्पनीहरुले सिंगापुर, भारत, चीन, थाइल्याण्डका स्याटेलाइट कम्पनीबाट व्याण्डविथ लिँदै आएका छन् । व्याण्डविथकै लागि नेपालबाट अर्बौं रुपैयाँ विदेसिन्छ । गत आर्थिक वर्षमा प्राधिकरणबाट १२ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राका लागि सिफारिस भएको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवदेनमा उल्लेख छ । परामर्श सेवा, व्याण्डविथ शुल्कलगायतमा यो रकम बाहिरिन्छ । ग्राहक संख्या बढ्दै गएपछि सेवा प्रदायकले व्यापण्डविथ थप्दै जान्छन् ।
देशमा दूरसञ्चार सेवा पहुँच विस्तार र सेवा विविधिकरणसँगै उपकरण आयातमा रकम बढ्दै जानु भने स्वभाविक भएको प्राधिकरणका प्रवक्ता तथा निर्देशक सन्तोष पौडेलले बताए ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कोभिडपछिको सन्दर्भमा यस क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा योगदान वृद्धि गर्ने बताउँछन् । भविष्यमा आउँदै गरेको नयाँ प्रविधि फाइभजी सञ्चालन गर्न आवश्यक नीति बनाउनु पर्ने, सामाजिक रुपान्तरण गर्ने एप्लिकेसनलाई अगाडि बढाउनुपर्ने, कनेक्टिभिटी ग्याप घटाउनुपर्ने, डिजिटल गरिबी घटाउनुपर्ने लगायतका विषयमा सरकारले ध्यान दिनुपर्ने उनी बताउँछन् । यी सबै कामका लागि नेपालमा दूरसञ्चार उपकरण बनाउन नसकिने हुँदा आयात आगामी दिनमा अझै बढ्ने उनको भनाइ छ ।
एकातर्फ उपकरण आयातमा रकम खर्चिनुपरे पनि अर्काेतर्फ सूचना प्रविधिमा पहुँच विस्तार भएको छ । भ्वाइस सेवा लिनेको संख्या चार करोड नाघेको छ भने डेटा सेवाका ग्राहक ३ करोड ३४ लाख पुगेको छ । गएको एक वर्षको अवधिमा नेपालमा फोरजी मोबाइल प्रयोगकर्ताको संख्या ६६ लाखले वृद्धि भएको छ । गत वर्षको भदौ मसान्तमा ५५ लाख १६ हजारको संख्यामा रहेका फोरजी प्रयोगकर्ता चालू वर्षको सोही अवधिमा १ करोड २१ लाख ७० हजार पुगेको छ । ग्राहक संख्या बढाउँदै नयाँ प्रविधि आत्मसाथ गर्न वर्षेनि अर्बाै रुपैयाँ उपकरणमा विदेसिने गरेको छ ।

सोमबार, २९ कार्तिक, २०७८, रातीको ०९:०६ बजे

सम्बन्धित खवर