शिवराज रेग्मी

फागु अर्थात् होली पर्व झट्ट हेर्दा धार्मिक र सामाजिक पर्व मानिएपनि यसको छुट्टै वैज्ञानिक आधार समेत छन् । त्यसो त हाम्रा अधिकांश पर्वले मनोवैज्ञानिक र वैज्ञानिक आधार बोकेका हुन्छन् । त्यसमध्ये पनि होलीको वैज्ञानिक महत्व विशेष छ ।

फाल्गुण शुक्ल पूर्णिमाको दिन मनाइने पर्व भएकाले यसलाई फागु पूर्णिमा पनि भनिन्छ । होलिकाको दहनसम्बन्धी सन्देश दिने पर्व भएकाले यसलाई होली भनिन्छ । रंगसँग मनाउने पर्व भएकाले यो रंगहरुको पर्व पनि हो । जे नामले चिने पनि यो भातृत्व र समताको पर्व हो ।
होलीको इतिहास खोतल्दा शास्त्रीय रुपमा यसलाई त्रेता युगसम्म पुर्‍याउन सकिन्छ । विष्णुका प्रिय भक्त आफ्नै पुत्र प्रह्लादलाई मार्न हिरण्यकशिपुले जुन किसिमको अत्याचार गरेका छन्, त्यो अत्याचारमाथिको विजयको रुपमा पनि यो पर्व मनाउने चलन छ । साथै, हिरण्यकशिपुको बध गर्नको लागि विष्णुले लिने नृसिंहको अवतारसम्बन्धी कथा पनि होलीसँगै जोडिने भएकाले यो विशेष सन्देशमूलक पनि छ । होली नेपालमा मात्रै नभएर भारतमा पनि धूमधाम मनाइन्छ ।

नारद पुराण र ब्रह्म पुराणमा यसको व्याख्या गरिएको छ । शास्त्रीय मान्यताअनुसार हिरण्यकशिपुका पुत्र प्रह्लाद विष्णु भगवानका भक्त थिए । उनी जहाँ जे काम गर्दा पनि विष्णुलाई देख्थे । उनको त्यो व्यवहारले बाबु हिरण्यकशिपु भने क्रोधित हुन्थे । एकदिन उनले आफ्नी बहिनी होलिकालाई प्रयोग गरेर प्रह्लादको हत्या गर्न चाहे । सोहीअनुसार ब्रह्माबाट आगोमा नजल्ने बरदान पाएकी होलिकाले काखमा प्रह्लादलाई लिएर आगोमा पसिन् । तर अपसोच होलिका आगोमा जलिन्, तर भगवान विष्णुका भक्त प्रह्लाद आगोमा जलेनन् ।

होलीसँग सम्बन्धित चार विशेष पात्र

विशेषगरी होलीमा चार जना विशेष पात्र छन्, हिरण्यकशिपु, होलिका, प्रह्लाद, नृसिंह अवतार ।

यी चारै पात्रबाट हामीले छुट्टाछुट्टै सन्देश पाउन सक्छौं । हिरण्यकशिपुको दानवी प्रवृत्तिलाई साथ दिंदा होलिकाले आफूले पाएको वरदान पनि त्यसै त्याग्नु परेकोबाट आफूले पाएको अधिकार र आफ्नो शक्ति गलत ठाउँमा प्रयोग गर्दा त्यसको क्षय हुन्छ भन्ने सन्देश दिएको छ । साथै, दानवी शक्तिलाई साथ दिनु आफैंमा कति खतरनाक छ भन्ने सन्देश पनि यसले दिने गरेको छ ।

त्यस्तै, हिरण्यकशिपुबाट हामीले दानवी प्रवृत्तिको विकास हुँदा आफ्नै छोरालाई समेत मार्न सक्छन् भन्ने सन्देश पाउन सकिन्छ । साथै, असत्यको जहिले पनि हार नै हुन्छ भन्ने सन्देश यसबाट पाइन्छ ।

प्रह्लादबाट हामीले विश्वास सिक्न सक्छौं । संसारमा जस्तोसुकै अवस्थामा पनि विश्वास हुनु जरुरी छ भन्ने सन्देश पाइन्छ । होलिकाले आफ्नो शक्तिको गलत प्रयोग गरेर आफ्नै भदाहालाई समेत मार्न लाग्दा पनि नसकेको भन्ने अर्थमा प्रह्लादबाट हामीले सत्य भएसम्म कहिल्यै डराउनु पर्दैन भन्ने सन्देश दिन्छ ।

होलीसँग जोडिएको अर्को पात्र हो नृसिंह । नृसिंह भगवान विष्णुको १० अवतारमध्येका एक हुन् । विभिन्न पुराणले नृसिंह अवतार हिरण्यकशिपु जस्तै दानवी शक्तिलाई संहार गर्न उत्पत्ति भएको उल्लेख गरेका छन् ।

होलीमा प्रयोग गरिने रंगको संकेत

होलीमा अनेकथरी रंग प्रयोग गरिन्छ । ती रंगहरुको आ-आफ्नै छुट्टै शास्त्रीय महत्व छ । विशेषगरी होलीमा रातो, पहेंलो, कालो र सेतो रंगको प्रयोग गरिन्छ । रंगको प्रयोग गर्दा हामीले रंगको संकेत पनि बुझ्नुपर्छ ।

रातो रंग भनेको शक्ति, सौभाग्य र प्रेमको प्रतीक हो । यसले सकारात्मक भावको सञ्चार गराउँछ । रातो रंग मनपराउने व्यक्तिमा नेतृत्व क्षमता बढी हुन्छ भन्ने मान्यता छ ।

त्यस्तै, होलीमा प्रयोग गरिने हरियो रंग प्रकृति र शान्तिको प्रतीक हो । यो रंग मनपराउने मान्छे झै–झगडाबाट टाढै बस्ने, प्रकृतिप्रेमी र मार्मिक हुन्छन् भन्ने मान्यता राखिन्छ ।

पहेंलो रंग भनेको ऋषिमहर्षिहरुले प्रयोग गर्ने रंग हो । यो ज्ञानको प्रतीक हो । पहेंलो रंगले धर्म र पारायणलाई जोड्ने काम गर्छ । यो रंगले धर्मकर्मप्रति झुकाव र विश्वास छ भन्ने बुझाउँछ ।

निलो रंग भगवान विष्णुको मनपर्ने रंग हो । यसलाई धर्मयुद्धको प्रतीक पनि मानिन्छ । अर्थात् जसले निलो रंग मनपराउँछन्, त्यस्ता व्यक्तिहरु सन्तुलित विचारधाराका हुन्छन् । उनीहरु सबैकुरालाई सन्तुलित बनाउन चाहन्छन् ।

यसबाहेक होलीमा प्रयोग गरिने अर्को रंग कालो हो । कालो रंग ईष्र्या र स्वार्थको प्रतीक हो । अर्थात्, कालो रंग मनपराउने व्यक्ति ईष्र्यालु र स्वार्थी हुन्छन् भन्ने मान्यता राखिन्छ ।

यसरी होलीले समग्र रुपमा एउटा सिंगो मानव सभ्यतालाई चिनाउने संस्कृति हो । कसैप्रति पनि रिस, आवेग र कटु व्यवहार गर्नुहुँदैन भन्ने सन्देश पनि होलीले दिन्छ । यसरी नराम्रो सोचलाई राम्रो व्यवहारले विस्थापित गर्दै जीवनलाई रंगीन बनाउन सकियोस् भन्ने समग्र सन्देश होलीले दिन्छ ।

Facebook Comments Box