‘ए फलाना… लुतो लैजा’

नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन ।

परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नसपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप भइसकेका छन् भने कतिपय ठाउँमा पछिल्लो पुस्ताले ती सामग्री पहिचान गर्न सकेका छैनन् ।

लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।

पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृति मनाउने गरिएको छ ।

सौर्यमानअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखा माथि जाने भएकाले साउने सङ्क्रान्तिलाई कर्कट सङ्क्रान्ति भन्ने गरिन्छ ।

कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।

असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोग बाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन छ ।

हरायो वनस्पतिको संरक्षण

लुतो उधुम चिलाउने चर्मरोग हो । नेपालका पहाडे समुदायबीच ‘लुतो फाल्ने’ चलन चलिआएको छ । प्रत्येक वर्ष साउने संक्रान्तिको साँझ यस्तो चलन खासगरी ग्रामीण पहाडी भेगमा अद्यापि छ । लोकोक्ति अनुसार केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर भगाउन बलिरहेको अगुल्टो घरको चारैतिर ‘लुतो लैजा’ भनेर कराउँदै फालिन्थ्यो । त्यही परम्परा लुतो फाल्ने चलनका रूपमा कायम छ ।
लेखक भैरव अर्याल भन्छन्– कण्डारक राक्षस वनस्पतिप्रिय लाग्यो । लुतो फाल्न वा राक्षसको पूजा गर्न भलायोका पात, तिउरी, पानीसरो, देवीसरो, कुकुरडाइनुको लहरो, धसिङ्गरेका बोट, उन्यू जातको नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानीअमला लगायतका विविध वनस्पति चाहिने भएकाले । पहिले पहिले पहाडतिर लुतो फाल्ने कामलाई उत्सवकै रूपमा मनाइन्थ्यो रे ! सामान्यतया असारमा रोपाइँ सकिने, रोपाइँ गर्दा हिलो र धमिलो पानीका कारण छालाको रोग लाग्न सक्ने भएकोले पनि साउने संक्रान्तिमा लुतो फाल्ने चलन बसेको बूढापाकाको भनाइ छ । लुतो फाल्ने परम्परा त जैविक विविधतासँग जोडिएको रहेछ । लुतो फाल्नकै लागि धसिङ्गरे, पानीसरो, देवीसरो, कुकुरडाइनु, पानीअमला, उन्यू जातको नागबेली, भलायो जस्ता वनस्पति जोगिने रहेछन् ।

लाजमर्दो पार्ने सुके–लुतो
लेखक भैरव अर्याल भन्छन्– लुतो पनि दुई किसिमका हुन्थे । एकथरीलाई लुतो मात्र भनिन्थ्यो भने अर्कोलाई ‘सुके–लुतो’ भनिन्थ्यो । सुके–लुतो औधी चिलाउने, जति कन्याए पनि चिलाई नमर्ने । मकैको खोया वा नङले कन्याउँदा पनि बरु छाला दरफरिएर घाउ हुने, चिलाउन नछाड्ने । सुके–लुतो प्रायः काछ र गुप्ताङ्गमा बढी आउने । यसै कारण यसले लाजमर्दो पाथ्र्यो । मान्छेहरू भएको ठाउँमा कन्याउनु भएन, नकन्याए बसिनसक्नु पार्ने ! अनि उठेर एकान्तमा कन्याउनुपर्ने ।
लुतो फाल्न चाहिने वनस्पति बटुल्दा हामी धसिङ्गरेका बोट बढी ल्याउँथ्यौं । त्यसको पात आगोको रापमा पर्दा फोका निस्किएर पटपट फुट्थ्यो, जुन आवाज हामीलाई रमाइलो लाग्थ्यो । मसिना दाउरा दश÷बाह्र वटा चाहिन्थ्यो । यी सबै सामानको जोरजाम साँझ पर्नु अगावै गरिसकिन्थ्यो ।

साँझमा आँगनको कुनामा लुतो फाल्ने दाउरा बालेर कण्डारक रात्रिचरको पूजा गरिन्थ्यो । सरसामानको जोहोदेखि लुतो फाल्ने प्रक्रियासम्ममा अभिभावकहरू केटाकेटीलाई हौस्याउँथे । घरैपिच्छे लुतो फाल्ने उत्सव ! राक्षसलाई चढाएको भेटी छोरा मान्छेले लिन नहुने भएकाले छोरीचेलीलाई दिनुपथ्र्यो । तर छोरीहरू लुतो सर्छ भनेर पैसा लिनै नमान्ने, बडो रमाइलो वातावरण हुन्थ्यो ।

 ‘ए फलाना… लुतो लैजा’

पूजा गरिसकेपछि बलिरहेका अगुल्टा लिएर आँगनको पर्खालमा चढ्यो, र पल्लो गाउँका बासिन्दामध्ये कसैको नाम ठूलो स्वरमा उच्चारण गरी ‘ए फलाना… लुतो लैजा’ भन्यो । टोल–छिमेकमा नाम तोकेर लुतो पन्छाउने परम्पराले त्यो समयमा तनाव पनि पैदा गथ्र्यो । अघिपछि औधी मिलेर बसेका वल्लो–पल्लो गाउँकाहरूबीच लुतो फाल्ने दिन भने केही तिक्तता छाउँथ्यो ।

हिजोआज गाउँघरमा लुतो फाल्ने चलनमा परिवर्तन आएछ । धसिङ्गरे लगायत वनस्पति लिन वनपाखा जाने चलन हराएछ । नजिकै पाइने नरकटका बोट, तितेपाती जस्ता वनस्पति जम्मा गर्ने, दाउराको साटो छ्वालीका मुठा बाल्ने गरिंदो रहेछ । यसले पहिले लुतो फाल्ने परम्पराका नाममा विविध वनस्पतिको संरक्षण गरिने परिपाटी हराएछ ।

शुक्रबार, ०१ साउन, २०७८, बिहानको ०७:४६ बजे

सम्बन्धित खवर