पुष्पा भुसाल उपसभामुखमा निर्वाचित

नेपाली कांग्रेस सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन् । शुक्रबार प्रतिनिधि सभामा भएको निर्वाचनमा उनी सत्तारूढ गठबन्धनका तर्फबाट उपसभामुखमा निर्वाचित भएकी हुन् । भुसालले १४८ मत पाइन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा २४२ सांसद उपस्थित थिए।

प्रतिनिधि सभामा उपस्थित रहेका सदस्यको बहुमत प्राप्त गरेकाले सांसद भुसाल उपसभामुखका निर्वाचित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।

उनी उपसभामुखमा निर्वाचित भएपछि एमालेबाट उपसभामुखको उम्मेदवार सांसद विद्या भट्टराईले पाएको मत घोषणा गरिएन। भुसाल उपसभामुख निर्वाचित भइसकेकाले भट्टराईलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा परेको मत घोषणा गर्न आवश्यक नपरेको सभामुख सापकोटाले बैठकलाई जानकारी दिए ।

उनी दोस्रो पटकको प्रयासमा उपसभामुख बनेकी हुन्। यसअघि २०७४ सालमा भएको निर्वाचनमा उनी नेकपा (एमाले) की शिवमाया तुम्बाहाङ्फेसँग पराजित भएकी थिइन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नयाँ सभामुखको चुनाव हुँदा उनले राजीनामा दिएकी थिइन्। संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख एउटै पार्टीको हुन मिल्दैन ।

तत्कालीन नेकपाबाट अग्निप्रसाद सापकोटा सभामुख बन्ने भएपछि उनले उपसभामुखबाट राजीनामा दिनुपरेको थियो। त्यसयता उपसभामुख पद रिक्त रहेको थियो ।

शनिबार, ३२ असार, २०७९, बिहानको ०७:५७ बजे

सम्बन्धित खवर