जौबारीमा भेटिए दुर्गाप्रसाद

इलाम /    एकाएक घरबाट हराएका दुर्गाप्रसाद तिम्सिना मध्यरातमा इलाम नगरपालिका–१० जौबारीमा फेला परेका छन् । ४० बर्ष भारतीय जेलमा बिताएका उनी मानसिक अवस्था सन्तुलन नभएपछि आइतबार अपराहन्न ४ बजे घरबाट हराएका थिए । दिउँसो नजिकै सूर्योदय नगरपालिका–१४ को खोल्मेटार स्थित धनबहादुर राईको घरमा गएका उनी साँझसम्म फर्किका थिएनन् ।

प्रहरीको सहयोगमा परिवारले खोजी गर्दा मध्यरात १२ बजे गोदकको जौबारीमा फेला परेको भतिज गोपाल तिम्सिनाले बताए । दुर्गाप्रसाद अपरान्ह ५ बजे गोदकको गट्टा गोलाईबाट फिक्कल तिर हातमा चप्पल बोकेर हिडेको इलाम नगरपालिका–१० का वडाध्यक्ष रोम लुङ्गेलीले देखेका थिए । सोही आधारमा उनको खोजी मेची राजमार्ग आसपासमा गरिएको थियो । घट्टाबाट करिब १० किलोमिटर पर रहेको जौवारीमा तीनघरे प्रहरी चौकीले फेला पारेको छ ।

अहिले परिवार दुर्गाप्रसादलाई लिन प्रहरी चौकी आइपुगेको गोपालले जानकारी दिए । ‘ मेची राजमार्गको जौवारी भञ्ज्याङमा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेर राखिदिनुभएको रहेछ । विहान फोन आएपछि अहिले हामी लिन प्रहरी चौकी आएका छौ ।’ गोपालले भने

पछिल्लो समय प्रभावकारी उपचार नपाएपछि दुर्गाप्रसाद मानसिक रुपमा विक्षिप्त बनेका छन् । परिवारसँगै लुम्बक बस्दै आएका उनी परिवार र समाजमा घुलमिल हुन समस्या भइरहेको अवस्थामा स्वास्थ्यमा थप जटिलता देखिएको हो । केही दिन देखि दुर्गाप्रसादको बोलीचाली र व्यवहार असहज भन्दै गएको छ । उनी तिब्र मानसिक बिरामी झै देखिएका छन् । नालीको फोहोर पानी उठाउँदै पिउने, आफ्नै सुत्ने कोठामा पिसाब गर्ने, घरका अन्य सदस्यलाई कुट्न झम्टिने, घरमा थाह नदिई टाढा–टाढासम्म घुम्ने लगायतका अनौठो कार्य गर्न थालेका छन् ।

‘पहिला–पहिला अधिकांश समय मानसिक रूपमा ठीक अवस्थाको बोली–व्यवहार थियो । दिन बित्दै गएपछि उहाँको अवस्था झन–झन् असहज र जटिल बन्दैछ घरमा खाना खुवाउन, लुगा लगाउन, सरसफाई लगायतका काम गराउन ठूलो बुवालाई केही साता यता गाह्रो परिरहेको छ । गोपालले भने– ‘ चिकित्सकले बिस्तारै मानसिक अवस्था ठीक हुन्छ भन्ने सल्लाह दिएका थिए तर अवस्था चाहिँ झन–झन् बिग्रिँदै गएको छ ।’

उनले अहिलेसम्म पाउनुपर्ने क्षतिपुर्ती समेत पाएका छैनन् । कलकत्ता उच्च अदालतले परिवारले माग गरे क्षतिपुर्ती दिन गत मार्च २२ मा वंगाल सरकारलाई आदेश दिएको थियो । न्यायाधीश थोट्टाथिल बी राधाकृष्णन र अनिरुद्र रोयको इजलासले दुर्गाप्रसादको आर्थिक तथा सामाजिक अवस्थाका कारण उनलाई क्षतिपूर्ति दिनु जायज हुने ठहर गरेको थियो ।

दुर्गाप्रसाद कैदमा रहँदा उनका परिवार आर्थिक रुपमा कमजोर भएको र धेरै सामाजिक समस्या भोग्नुपरेको आदेशमा उल्लेख गरिएको थियो । तर क्षतिपूर्ति दिलाउन कसैबाट सहयोग नपाएको गोपालले गुनासो बारम्बार गर्ने गरेका छन् ।

सोमबार, ३२ साउन, २०७८, दिउँसोको ०२:०५ बजे

सम्बन्धित खवर