बामदेव प्यूठानबाट र बाबुराम गोरखाबाट चुनाव लड्ने

 ३१ श्रावण, काठमाडौँ /  बामदेव प्यूठानबाट र बाबुराम गोरखाबाट चुनाव लड्ने भएका छन् । नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई ‘हँसिया हथौडा’चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न स्वीकृति दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बिहान बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा गौतम संयोजक रहेको राष्ट्रिय एकता अभियान र डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

गौतम र भट्टराईको आग्रहअनुसार नै पार्टीले निर्णय गरेको उनले बताए । ‘गौतम र भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो,’ प्रवक्ता महराले भने, ‘त्यसलाई हामी स्वागत गर्छौँ। उहाँहरू र उहाँको पार्टीका अन्य सदस्यहरूलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्‍यौँ।’

यो निर्णयबारे आजै निर्वाचन आयोगलाई जानकारी दिने कार्यक्रम रहेको नेता हरिबोल गजुरेल बताए । आजको बैठकमा नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमार्फत चुनावमा जाने, सिट बाँडफाँड र चुनावी घोषणा पत्र तथा विभिन्न समितिहरू गठन गर्नेलगायतका विषयमा छलफल गर्ने तयारी थियो । हिजो बोलाइको स्थायी कमिटी बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा आजका लागि सारिएको थियो ।

मङ्गलबार, ३१ साउन, २०७९, दिउँसोको ०२:१८ बजे

सम्बन्धित खवर