नेकपा विवाद मिलनको दिशातिर : केन्द्रीय समिति बैठक १० गतेसम्म स्थगित

काठमाडौं ,पुस १ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद हाललाई मिलनको दिशातिर गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति बुधबार भएसँगै विवाद मिलनको दिशातिर गएको हो ।

बुधबारको स्थायी समिति बैठकअघि ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच सहमति भएअनुसार सो अध्यादेश फिर्ता लिनेसम्बन्धी प्रस्ताव स्थायी समितिले सर्वसमितिले अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यससँगै सरकारले सो अध्यादेश फिर्ता लिने निश्चित भएको छ ।

श्रेष्ठका अनुसार नेकपाका सांसदहरुले संसद बैठक बोलाउन आग्रह गर्दै राष्ट्रपति कहाँ बुझाएको आवेदन फिर्ता लिने पनि सर्वसम्मतिले निर्णय भएको छ । ‘हाम्रा केही सांसदहरुले संवैधानिक व्यवस्थाअनुसार संसद अधिवेशनको माग गर्दै राष्ट्रपतिसमक्ष समावेदनको प्रक्रिया अघि बढाउन जानु भएको थियो ।

अब सरकारले जारी गरेको अध्यादेश फिर्ता लिने र संसद बैठक माग गर्न भन्दै दिइएको समावेदन पनि फिर्ता लिने सर्वसहमतिले निर्णय भएको छ’, श्रेष्ठले भने ।
बैठकमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठकमा हिजो कुनै निर्णय नभएको जानकारी पनि बैठकलाई गराएका छन् । अर्को स्थायी समिति बैठक पुस ५ गतेलाई तय भएको छ भने पुस ५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक १० गतेसम्म स्थगित भएको पनि श्रेष्ठले जानकारी दिए ।

बुधबार, ०१ पुष, २०७७, साँझको ०७:३२ बजे

सम्बन्धित खवर