माओवादीको प्रदेश पदाधिकारीका आकांक्षि बढे, अध्यक्ष ४ र सचिवमा ५ जनाको दावी

झापाका कडरिया, पुरी र  साङ्पाङको दावी

 विराटनगर / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको पदाधिकारीमा दावेदारीको संख्या बढ्ने क्रममा छ ।
बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि कार्यदल गठन भएको छ । सहमतिबाटै नेतृत्व चयनको पहल गर्न पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशका सहइञ्चार्ज अजम्बर काम्बाङको नेतृत्वमा कार्यदल गठन गरेको भएपनि अझै टुंगो लाग्न सकेको छैन ।
तीनै जना केन्द्रीय नेताले प्रदेशको अध्यक्ष पद छोड्ने सहमतिमा पुगेपछि नयाँ नेतृत्वका आकांक्षीहरुले दाबेदारी अगाडि बढाएका छन् । पार्टीको सुनसरीका शिबकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो तथा पाँचथरका हर्कबहादुर नेम्वाङ र झापाका चन्द्रप्रकाश कडरिया (सीपी)ले अध्यक्षको दावी गरेका छन् ।
यस्तै प्रदेश समितिको उपाध्यक्षमा खोटाङका धु्रब बुढाथोकी, मोरङका भोगेन्द्र यादवले दावी गरेका छन् । प्रदेश समितिको सचिबमा मोरङका गणेश उप्रेती र झापाका रेवतराज पुरी (गगन), झापाका विजय साङ्पाङ, ताप्लेजुङका बिजय बनेम, ओखलढुंगाका मोहनकुमार खड्का समेतको दावी रहेको छ । अहिलेसम्म सबैभन्दा बढी दाबेदार सचिव पदकालागि भइरहेको पार्टी श्रोतले जनाएको छ ।
यसअघिको बैठकले प्रदेश कमिटीलाई पूर्णता दिन र समावेशिताको क्लष्टर मिलाउन सावित्रिकुमार काफ्लेको नेतृत्वमा र प्रदेश अधिवेशनमा प्राप्त सुझावलाई समेटेर प्रतिवेदनलाई पूर्णता दिन धर्मशिला चापागाईको नेतृत्वमा छुट्टाछुट्टै कार्यदलसमेत गठन गरेको छ ।
मंसिर २५ देखि २७ गतेसम्म भएको सम्मेलनबाट माओवादी केन्द्रको प्रदेश कमिटि चयन भएपनि पदाधिकारी चयन हुन सकेको छैन । प्रदेशको अध्यक्षको दावी गर्दै आएका पार्टीका केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले भने बुधबारको बैठकमा आफ्नो दावेदारी फिर्ता भएको जानकारी दिएका छन् । केन्द्रिय सदस्यले प्रदेशमा दावि नगर्न केन्द्रीय सचिवालयको निर्देशन अनुसार दावी फिर्ता लिएको बताएका छन् ।
प्रदेश समितिको पहिलो बैठकमा आफूहरु ‘ब्याक’ हटेको जानकारी दिएसँगै अब केन्द्रीय सदस्य बाहेकबाट पदाधिकारी चयन हुने भएको छ । पदाधिकारी चयन गर्न पुस ७ गते बैठक बस्ने निर्णय मंगलबारको बैठकले गरेको छ ।
पार्टीको प्रदेशमा ७ गतेको बैठकसम्म सहमति नजुटे प्रक्रियाबाट त्यसको टुंगो लगाउने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रको विधान अनुसार प्रदेश सम्मेलनबाट निर्वाचित भएको कमिटिले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिब, ३ सहसचिब र १ कोषाध्यक्षसहित ९ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।

 

बिहिबार, ०१ पुष, २०७८, दिउँसोको १२:११ बजे

सम्बन्धित खवर