सचिबमा झापाका सिपी कडरियाको दावी

 विराटनगर / नेकपा माओवादी केन्द्र १ नं. प्रदेश समितिको सचिबमा झापाका सिपी कडरियाले पनि दावेदारी पेश गरेका छन् ।

पार्टीको प्रदेश समितिको मंसिर २५ देखि २७ सम्म भएको अधिवेशनबाट निर्वाचित समितिले पदाधिकारी छान्न पुस ७ गते बैठक तय गरेकोमा कडरियाले सचिबमा दावी गरेका हुन् ।

अनेरास्ववियु क्रन्तिकारीमा आबद्ध भएर माओवादी जनयुद्धमा समाहित भएका कडरिया २०६० सालमा नेकपा माओवादीको इलाम सेक्रेटरी भएका थिए । २०६१ सालमा पार्टीको क्षेत्रीय व्युरो सदस्य भएका उनी पार्टीभित्र सामाजिक र व्यवसायीक रुपमा सफल नेताको रुपमा चिनिन्छन् ।

‘अहिले अध्यक्षको दावी गरेका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो र हर्कबहादुर नेम्बाङसँगै म पार्टीको क्षेत्रीय व्युरो सदस्य भएको हुँ’ उनले भने, ‘तर, अहिले तीन जना साथीहरुले अध्यक्षमा दावी गरेकोले सचिबको दावी गरेको छु ।’ उनले आफू सचिबको लागि योग्य रहेको बताउँदै सहमतिको वातावरण बनेको अवस्थामा उपाध्यक्षमा पनि जानसक्ने बताएका छन् ।

सहमति नभएर निर्वाचन हुने अवस्था आएमा भने सचिबमै भिड्ने कडरियाले बताएका छन् । माओवादीको २७१ सदस्यीय प्रदेश समितिले ९ सदस्यीय पदाधिकारी चयन गर्नेछ ।

बुधबार बसेको माओवादी प्रदेश समिति बैठकले पदाधिकारी चयनका लागि सुझाब पेश गर्न केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश समितिका सहइन्चार्ज अजम्बर काङमाङ नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी रहेको कार्यदल गठन गरेको छ ।

पार्टीको सचिबमा मोरङ पार्टी संयोजक गणेश उप्रेती र ओखलढुंगाका पार्टी संयोजक मोहनकुमार खड्काले पनि दावी गरेका छन् ।

बिहिबार, ०१ पुष, २०७८, दिउँसोको १२:३७ बजे

सम्बन्धित खवर