कोरोना भेरियन्टबाट बच्न बुस्टर डोज

    देवेन्द्र अर्याल ‘आँसु’

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाबाट बचाउन लगाइएको कोभिड खोप प्रभावकारी बनाउन कोभिड खोपको बुस्टर डोज पनि दिन थालिएको छ । प्रारम्भमा कोरोनाको खोप लगाउन सर्वसाधारणले एउटा महाभारतको युद्ध नै जितेको अनुभव गरेका थिए । पछिल्लो समयमा राजनीतिक आडमा कोरोनाको बुस्टर डोज लगाउने काम भएको छ । जसरी खोपमा चलखेल भयो अहिले बुस्टर डोजमा पनि चलखेल व्यापक भइरहेको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले कुनै स्पष्ट मापदण्ड निर्धारण गरेको छैन । पहुँचका आधारमा आफ्ना मानिसले बुस्टर डोज लगाउन पाएका छन् । सर्वसाधारणको पालो कहिले आउने हो, सो निक्र्योल हुन सकेको छैन । सरकारले सबैलाई प्राथमिकतामा राखेर खोप लगाउनुपर्छ र बुस्टर डोजमा पनि त्यही नै हुनुपर्छ ।
कोरोना भाइरसको संकटका बीचमा ओमिक्रोन भेरियन्ट देखा परेको छ । यो भेरियन्ट डेल्टा भेरियन्टपछिको बढी शक्तिशाली हो भनिए तापनि यसमा सर्वसाधारणले त्यति सावधानी अपनाएको पाइन्न । जसका कारण यस भेरियन्टबाट हुने क्षतिप्रति सबैले चिन्ता प्रकट गर्नु स्वाभाविकै हो । छिमेकी देश भारतलगायत अमेरिका, बेलायतमा यसका थुप्रै संक्रमित देखा परिसकेका छन् । बेलायतमा डिसेम्बर अन्त्यसम्म १ लाखभन्दा बढी यसबाट संक्रमित हुने अनुमान गरिएको छ ।
कोरोनाको यो भेरियन्टबाट बचाउनका लागि खोप लगाए पनि तेस्रो खोप वा बुस्टर डोजको आवश्यकता पर्ने देखिन्छ । जसका कारण बुस्टर डोजप्रति मानिसको आशा–भरोसा देखिएको छ । त्यसैले बुस्टर डोज लगाउनका लागि विभिन्न चलखेल पनि हुन थालेको छ । भारतले कोरोनाका दुवै डोज लगाएका मानिसका लागि बुस्टर डोज लगाउन अदालतले समेत आदेश दिएको छ । जुन घटनाबाट भारतको आफ्ना जनताप्रतिको जिम्मेवारी र कर्तव्य कति रहेछ भन्ने उदाहरण प्रस्ट हुन्छ । तर, हाम्रो देशका भने हालसम्म यसका बारेमा सरकारको कुनै औपचारिक निर्णय बाहिर आएको पनि छैन । तर, राष्ट्रिय खोप सल्लाहकार समितिले कोरोनाविरुद्ध दुई डोज भेरोसेल खोप लगाएका दीर्घरोगी र ६० वर्षमाथिका नागरिकलाई तेस्रो खोप दिन सरकारलाई सिफारिस गरेको छ । यो समूहमा पर्नेको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुने भएका कारण दोस्रो डोज लगाएका तीन महिना पुगेकालाई तेस्रो डोजका रूपमा लगाउन सिफारिस गरिएको हो । सिफारिस गरिएका दीर्घरोगीका सूचीमा क्यान्सर लागेका, अंग प्रत्यारोपण भएका, एचआईभी संक्रमित र लामो समयदेखि औषधि सेवन गरेका बिरामी छन् । समितिले कोभिसिल्ड, फाइजर र जोन्सनलगायत खोप लगाएकाको हकमा भने तेस्रो डोजको सिफारिस गरेको छैन ।
विश्व स्वास्थ्य संगठनले भने भेरोसेलको तेस्रो डोज लगाउन मिल्ने जनाएको छ । तर, नेपाल सरकारले कहिलेदेखि तेस्रो डोज लगाउने हो सोको निर्णय गरेको छैन । तेस्रो खोपलाई विश्व स्वास्थ्य संगठनले बुस्टर डोज भनेर उल्लेख गरेको देखिन्न । तर, परिवार कल्याण महाशाखा प्रमुख डा. विवेक कर्णले बुस्टर डोजका नाममा खोप अभियान सञ्चालन नभएको जनाएका छन् । खोपको दुई मात्रा लगाएका ६ महिनादेखि एक वर्षको बीचमा रोगप्रतिरोधात्मक क्षमता घटेर गएमा फेरि प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि दिइने डोज नै बुस्टर डोज हो । सम्भव भएसम्म शतप्रतिशत जनसंख्यालाई खोप दिनु नै पहिलो प्राथमिकता हो । उनीहरूलाई लगाइसकेपछि मात्रै प्राथमिकताका आधारमा थप डोज दिनु राम्रो मानिन्छ ।
सबै जनतामा कोरोनाको नयाँ भेरियन्टको त्रास कायमै छ । त्यसैले, देशभरिका मानिसका लागि कोरोनाको दुवै खोप लगाएका मानिसका लागि बुस्टर डोजको व्यवस्था प्राथमिकताका आधारमा गर्नुपर्ने देखिन्छ । खोप लगाएका कारण कोरोनाका कुनै पनि भेरियन्टले असर गर्दैन भन्ने ठानेर मानिसहरू बिना मास्क खुलेआम डिँडडुल गर्न थालेका छन् । हिजोआज राजनीतिक दलका कार्यकर्तासमेत महाधिवेशनमा हजारौँ मानिस खुलेआम उपस्थित भएका कारण यसको संक्रमण तीव्र रूपमा नहोला भन्न सकिन्न । विवाह, भोज, विभिन्न कार्यक्रम, भेला, समारोह, अधिवेशन आदिका कारण मानिसको उपस्थिति बाक्लिन गएको छ र त्यस्ता ठाउँमा स्वास्थ्य मापदण्डको पालना नगर्दा कोरोनाको तेस्रो लहर आउने देखिन्छ । त्यसैले बुस्टर डोज सर्वसाधारणलाई यथाशीघ्र उपलब्ध गराएर जीवनको ग्यारेन्टी लिनु राज्यको पहिलो प्राथमिकता हो ।
भारतका विभिन्न प्रान्तमा ओमिक्रोनका बिरामी भेटिनुले नेपालमा पनि यसबाट कोही अछुतो हुन सक्ने छैनन् । ढिला वा चाँडो यो अवश्य नै नेपाल भित्रिने छ । त्यतिबेलासम्म सबैलाई बुस्टर डोज लगाउने हो भने यसको असरलाई न्यूनीकरण गर्न सकिन्थ्यो । आगामी दिनमा कोरोनाका अन्य भेरियन्ट पनि आउने भएका कारण विशेष सावधानी अपनाउन जनता नै जागरुक र सचेत हुनुपर्छ । अहिले स्वास्थ्य मापदण्ड पालना पनि नगर्ने, पछि कोरोनाका भेरियन्टबाट प्रभावित हुने र सरकारले केही पनि गरेन भनेर कुरा काट्नुकोे कुनै अर्थ नै रहन्न । त्यसैले सचेत नागरिकले आफ्नो स्वास्थ्यको ख्याल गरी स्वास्थ्य मापदण्ड कायम गर्नुपर्ने देखिन्छ ।
हालसम्म स्वरूप परिवर्तन भएर आएका कोरोनाका १ हजारभन्दा बढी भेरियन्टहरू देखिएका छन् । लगातार म्युटेड भइरहेका यस्ता भेरियन्टहरूमध्ये केही प्रतिशत मात्र उच्च संक्रामक र घातक छन् । यस्ता भेरियन्टहरूमध्ये केहीले अन्य भाइरसलाई नै असर गरिरहेका हुन्छन् । तर, केही भेरियन्ट यस्ता छन्, जुन शतप्रतिशत घातकसमेत हुन्छन् । उच्च संक्रामक भेरियन्टहरू त्यत्तिकै घातक देखिएका छन् भने खासगरी भ्याक्सिन नलगाएकाहरूमा नयाँ भेरियन्टको असर बढी देखा परेको छ । त्यसैले सबैलाई खोप लगाउनु अत्यावश्यक छ भने खोप लगाएकाका लागि बुस्टर डोज आवश्यक पर्ने देखिन्छ ।
कोरोना महामारीका विभिन्न भेरियन्टको असर न्यूनीकरण गर्न वा महामारीको परिमाण रोक्न विश्वमानव समुदाय एकजुट भएर अगाडि बढ्नुपर्ने कुरामा कसैको फरक मत छैन । त्यसैले यसबेला एकापसमा आरोप–प्रत्यारोप नगरी संयमित भएर नियम पालना गर्नुमा नै सबैको हित हुनेछ । हामीलाई थाहा नै छ, विश्वव्यापी रूपमा बन्दाबन्दीले मात्र कोरोना संक्रमण रोक्न सक्दैन । जबसम्म सबैले पूर्ण रूपमा यसको भ्याक्सिन प्राप्त गर्न सक्दैनन् तबसम्म यसको त्रास सबैमा उत्तिकै बढिरहन्छ, त्यो स्वाभाविक पनि हो । त्यसैले कोरोना संक्रमितको पहिचान गर्न दु्रत गतिमा परीक्षण कार्य बढाउने र संक्रमित पत्ता लगाएर उपचार गर्न सकेमा कोरोनाको जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । त्यसैले वर्तमान सन्दर्भमा राजनीतिक दलहरू पनि जनतालाई कोरोना महामारीबाट बचाउनुभन्दा पनि राजनीतिको खेलमा बढी जुटेको पाइन्छ । राजनीतिक दललाई कोरोनाका नयाँ–नयाँ भेरियन्टको भन्दा पनि उनीहरूको अधिवेशन सम्मेलन विरोध प्यारो छ, अनि जनताको पनि भोजभतेर, सभा–सम्मेलनप्रति ध्यान आकर्षित भएको छ । जसका कारण उनीहरू बिनामास्क त्यस्ता स्थलहरूमा उपस्थित हुन थालेका छन् । जसका कारण ओमिक्रोनमात्र होइन भविष्यमा अर्को कुनै घातक र गम्भीर भेरियन्टले विनाशकारी लहर नल्याउला भन्न सकिन्न । त्यसैले बेलैमा सचेत हुनु आजको आवश्यकता हो ।

बिहिबार, ०१ पुष, २०७८, दिउँसोको १२:५४ बजे

सम्बन्धित खवर