काँग्रेसको उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

   काठमाडौं, पुस १ / नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भएका छन् । आइतबार भएको मतदानको बुधबार राति आएको परिणाममा पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै खड्का र गुरुङ उपसभापति बन्न सफल भएका हुन् ।
खड्काले सबैभन्दा धेरै २१२१ मत प्राप्त गरेका छन् भने गुरुङले मात्र दुई मतान्तरले विजयकुमार गच्छदारलाई पराजित गरेका छन् । गुरुङ १९०८ मत ल्याएर उपसभापति विजयी हुँदा गच्छदारले १९०६ मत पाएका थिए ।

यस्तै, अन्य उम्मेदवारमा चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाए । योसँगै काँग्रेसको पहिलो निर्वाचित उपसभापति बन्ने अवसर खड्का र गुरुङलाई मिलेको छ ।

यसअघि काँग्रेसमा एक जना उपसभापति (मनोनित) को व्यवस्था थियो । तर ०७४ सालमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमा समाहित भएपछि उनी पनि उपसभापति बने । त्यतिबेला उनलाई राजनीतिक निर्णयका आधारमा उपसभापति बनाइएको थियो ।

०७५ मंसिर–पुसको महासमिति बैठकबाट काँग्रेसले विधान परिमार्जन गरी दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था गरेको थियो । सोही अनुसार १४ औं महाधिवेशनमा ७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । शेरबहादुर देउवा प्यानल र शेखर कोइराला प्यानलबीच मुख्य प्रतिस्पर्धा भयो ।

काँग्रेस नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता र वौद्धिक नेता महेश आचार्य चुनावी मैदानमा बलियो गुटको साथ नहुँदा पराजित भए । देउवा प्यानलबाट खड्का र शेखर समूहबाट गुरुङले बाजी मारेका छन् । खड्का महामन्त्रीबाट एक खुड्किलो चढ्दै उपसभापतिमा पुगेका हुन् भने गुरुङले केन्द्रीय सदस्यबाट सिधै फड्को मारेका हुन् ।

कर्णाली प्रदेशबाट काँग्रेसको यो तहमा पुग्ने खड्का पहिलो व्यक्ति हुन् । संस्थापन पक्षमा देउवाको उत्तराधिकारीका रुपमा हेरिएका खड्कालाई उपसभापतिको जितपछि थप सहज भएको छ । अर्कोतिर नेविसंघका अध्यक्षसमेत भइसकेका गुरुङ युवामाझ लोकप्रिय नेता मानिन्छन् । काँग्रेसमा आशलाग्दो राजनीतिज्ञको छवि बनाएका गुरुङका लागि उपसभापति जित्नु राजनीतिक रुपमा ठूलो फड्को हो ।

संस्थापन इतर पक्षमा उनलाई अन्तिमसम्म पनि जनजातितर्फको सहमहामन्त्री उम्मेदवारका रुपमा हेरिएको थियो । तर शेखर प्यानलबाट उनी उपसभापतिको उम्मेदवार भएर मैदानमा निस्किए । अन्ततः देउवा प्यानलका गच्छदारलाई पराजित गरी उनले उपसभापतिमा स्थान बनाए ।

जनजाति समुदायबाट गोपालमान श्रेष्ठपछि काँग्रेस उपसभापति हुने सौभाग्य गुरुङले पाएका छन् । काँग्रेसको भावी नेतृत्वका रुपमा हेरिएका युवा नेताका रुपमा उनी १४ औं महाधिवेशनबाट उदाएका छन् ।

बिहिबार, ०१ पुष, २०७८, दिउँसोको ०३:१९ बजे

सम्बन्धित खवर