‘अ’ ले प्रतिस्पर्धा गरेको इलाम

     टीका खतिवडा, इलाम/    यस जिल्लामा धेरै कृषि तथा नगदे बालीहरू उत्पादन हुन्छन् । तर पनि विश्व बजारमा अन्य नगदे बालीभन्दा यहाँ उत्पादित ‘अ’ ले प्रतिस्पर्धा गरिरहेको छ । जिल्लाको मात्र हैन, देशकै अर्थतन्त्रमा यहाँ उत्पादित कृषिजन्य वस्तुले निकै ठूलो टेवा पु-याएको छ । कृषि उत्पादनका लागि उर्वर भूमि इलाममा धेरै प्रकारका कृषिजन्य वस्तु उत्पादन भइरहेका छन् । तर पनि यहाँका सात ‘अ’ ले भने विश्वमा नै नेपाल अनि इलाम छरेको छ भन्दा फरक नपर्ला ।
इलाम कृषि उत्पादनमा मात्र अगाडि भने हैन । यहाँ रहेका विश्वसम्पदा सूचीमा सूचीकृत स्थल र पर्यटकीय गन्तव्य नियाल्न विश्वभरबाट पर्यटकहरू आउने गरेका छन् । कति पर्यटकहरू त यहाँ उत्पादित कृषि उपजहरू नै नियाल्न र खेतीबारे बुझ्नसमेत आउने गरेका छन् ।
पर्यटकीय गन्तव्यका रूपमा अघि बढ्दै गरेको इलाम कृषि पर्यटनको समेत सम्भावना खोजिरहेको छ ।
कृषि क्षेत्रबाट व्यावसायिक सम्भावना बोकेको इलाम अन्य जिल्लाको तुुलनामा अग्रणी छ । इलाम ‘अ’ नै ‘अ’ को जिल्ला भनेर समेत चिनिने गरेको छ । अनि इलाम आएकाहरूले सोही उपनाम दिएर स्वर्गको एक टुक्रासमेत भन्ने गरेका पनि छन् इलामलाई ।
ओलन, अकबरे, अलैंची, अदुुवा, अम्रिसो, आलुु र अर्गानिक चिया (अर्थोडक्स) ले इलामका सात ‘अ’ को प्रतिनिधित्व गरेको छ । हुन त इलामलाई धेरैले अन्य ‘अ’ हरूसँग समेत गाँस्ने गरेका छन् ।
कृषि ज्ञान केन्द्र इलामले भने जिल्लामा उत्पादित यिनै सातवटा ‘अ’ लाई इलामका ‘अ’ को संज्ञा दिएको छ । पछिल्लो समयमा जिल्लामा किबी फल र सिजनका अन्य तरकारी बाली, फलफूल र नगदे बालीले समेत यहाँको व्यावसायिक समृद्धिमा टेवा थप्ने काम गरेको छ ।
इलाममा उत्पादित सात ‘अ’ र किबी फल देश तथा विदेश निर्यात हुने गरेको छ । कृषिक्षेत्रबाट नेपालकै सबैभन्दा धेरै व्यावसायिक सम्भावना भएको जिल्लामध्येमा अग्रणी रूपमा अघि बढेको यस जिल्लाका धेरैजसो मानिस कृषिमा नै आफ्नो गुुजारा चलाइरहेका छन् । इलाममा विशेषतः तीनवटा कुराको उच्च सम्भावना छ— कृषि, पर्यटन र पानी ।
कृषिमा यिनै कुरा जोडिन्छन् भने पर्यटकीय क्षेत्र र ती क्षेत्रहरूमा पर्यटकहरूको भीडले पर्यटनलाई जोड्छ ।
यहाँका सात ‘अ’ मा जिल्लावासीहरू आत्मनिर्भर मात्र हैन, व्यावसायिक नै बनेका छन् । जिल्लाको ७० प्रतिशत जनसंख्या यसमै आफ्नो भविष्य खोजिरहेका छन् । गाउँमा कृषि पेसा गर्ने मात्र हैन, बजारमा यसको बजारीकरणमा लागेकाहरू समेत ।
चार खोलाको जिल्ला भनेर चिनिने इलाममा चार माईहरू छन् । चार माईमध्ये देउमाईबाहेक अन्य नदीहरूमा यहाँ दर्जनौं हाइड्रोसमेत सञ्चालित र निर्माणाधीन अवस्थामा रहेका छन् ।
यति धेरै सम्भावना भएर पनि जिल्लाका धेरै ठाउँ अझै पनि दर्गमझैँ रहेको जिल्लावासीहरूको भनाइ छ ।
हुुन त पर्यटन र पानीमा सुुरुमा नै धेरै लगानी आवश्यक रहेकाले पनि त्यसतर्फ जिल्लावासी नलागेको हुुनुपर्छ । यहाँ रहेका ठूला संरचनामा बाहिरी जिल्लाबाट नै धेरै लगानी भएको पाइएको छ । जस्तै हाइड्रोमा जिल्लावासीको समय–समयमा खुल्ने प्रभावित क्षेत्रका लागि दिइने सेयरभन्दा बढी खासै लगानी छैन । हाल पर्यटकीय स्थलहरूमा खुल्ने ठूलाठूला होटलहरूमा समेत बाहिरी जिल्लाबाट नै लगानी बढ्न थालेको छ ।
जिल्लावासीले गर्ने यिनै खेतीमा चर्चित सात ‘अ’ लाई आधुनिक र व्यावसायिक बनाउन सके इलामको मात्र नभई समग्र देशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ । धेरै युुवाहरू बिदेसिएको अवस्थामा यी र यस्ता कुराहरूको सदुुपयोग गर्न सके नेपालीहरूले रोजगारीसमेत पाउन सक्छन् । तर यहाँ उत्पादित अलैंची यहाँ प्रशोधन हुँदैन । यहाँ प्रशोधन नहुँदा कच्चा पदार्थ नै बिक्री गर्नुपर्ने बाध्यता छ । त्यसैले कम मूल्य पाएका किसानहरू यहीँ प्रशोधन गर्न सके उच्च मूल्य पाउने बताउँदै आएका छन् ।
इलाममा उत्पादन हुने कुनै पनि कृषि र गैरकृषि उत्पादनलाई बजारको अभाव छैन । पूर्वका ठूला सहरी क्षेत्र भएका जिल्ला मोरङ र झापा इलामेली उत्पादनको राम्रो बजार हुन सक्छन् । त्यस्तै खुुला सिमाना रहेको भारतका सिलगुडी र दार्जीलिङसमेतमा इलामले आफ्ना उत्पादन आपूर्ति गर्न सक्छ ।
इलाम उत्पादनमा सक्षम भए पनि कहिलेकाहींं सम्बन्धित क्षेत्रबाट उचित सहयोग पाउन नसक्दा इलामेलीहरूले हैरानी बेहोर्नुुपर्ने किसानहरू बताउँछन् ।

ओलन
गाईभैैँसीको दूधलाई नै ओलनसमेत भन्ने गरिन्छ । जिल्लाका ८० प्रतिशत मानिसले दूध उत्पादनका लागि पशुु चौपाया पालेका छन् । जिल्लामा १ लाख २१ हजार ५ सय ६२ मेट्रिक टन माथि दूध उत्पादन हुुने जिल्ला पशुसेवा कार्यालय इलामको तथ्यांकमा उल्लेख छ । जिल्लामा उत्पादन भएको दूधको एकतिहाइ उत्पादन जिल्लामा नै खपत हुुने गरेको भए पनि अन्य दूध बाहिरी जिल्ला निकासी हुुने गरेको छ ।
यहाँका किसानले नै डेरी र अन्य दूध प्रशोधन मेसिनको प्रयोग गरी बम्बैसन, चीज, घिउ, छुर्पीलगायतका परिकार उत्पादन गर्ने गरेका छन् । दूधको गुुणस्तर मापन गरी फरक–फरक मूल्य निर्धारण गरिने भए पनि सरदर यसको मूल्य प्रतिलिटर ६० रुपैयाँ निर्धारण गरिएको छ ।

अलैँची
इलाममा धेरै किसानहरूले अलैँची खेती गर्छन् । ‘खोल्साको कालोसुन’ को उपनाम पाएको अलैँची जिल्लामा १६ सय हेक्टर जमिनमा खेती भएको जिल्ला कृषि विकास कार्यालय, इलामको तथ्यांकमा उल्लेख छ । विगत वर्षहरूमा जिल्लामा ५ सय ७७ मेट्रिक टनसम्म अलैँची उत्पादन भएको थियो । तर, हाल घटेको छ । पुनः यहाँका किसानहरूले यो खेती विस्तारका लागि काम अगाडि बढाइरहेका छन् ।
करिब १० वर्षअगाडि जिल्लामा धेरै अलैँची उत्पादन भए पनि बीचमा विभिन्न रोगका कारण मासिँदै गएको थियो । अलैँचीले पुनर्जन्म पाएसँगै यहाँका किसानहरूको समेत आयस्तर माथि उठ्दै गएको छ । हाल ५० हजार प्रतिमन हाराहारीमा बिक्री हुँदै आएको छ । अलैँची विशेष गरी पहाडी जिल्लाका खोल्सामा उत्पादन हुने गरेको थियो । पछिल्लो समय किसानहरूले अन्नबाली नै मासेर यसको खेती गर्दै आएका छन् ।
खोल्सामा लगाएको अलैँची मासिएकाले खेती गर्ने जमिन परिवर्तन गरिएको छ । यसको मूल्यसमेत उच्च रहेका कारण यहाँका किसानहरूले अन्नबाली नै मासेर अलैँचीको खेती गर्न थालेका हुन् ।
जिल्लाको तल्लो (औल) भेग मानिएको जिर्मलेसहित प्याङ, नयाँबजार, जमुना, माईपोखरी, मंगलबारे, सुलुबुङमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ । यो खेती जिल्लाका सबै स्थानीय तहमा हुने गरेको छ । अलैँची विशेष गरी भारतकै बजारमा बिक्री–वितरण हुँदै आएको छ । जिल्लामा रामसाही, गोलसाही, सलकपुुरे, भारलाङलगायत जातका अलैँची खेती गर्ने गरिएको छ ।

अदुवा
अदुवाखेतीमा समेत जिल्लाका धेरै किसान लागिपरेका छन् । जिल्लामा ३ हजार २ सय ३३ हेक्टर क्षेत्रफलभन्दा बढी जमिनमा अदुवा लगाइने गरेको छ । अन्नबालीसँगै लगाउन सकिने अदुवा इलाममा वार्षिक ४५ हजार ९ सय ९४ मेट्रिक टन उत्पादन हुुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । ३० हजार मेट्रिक टन अदुुवा बाहिरी देश नै निकासी हुने गरेको छ भने अन्य उत्पादित अदुुवा बीउका लागि नेपालमा नै खरिद–बिक्री हुुने गरेको छ ।
गत वर्ष मात्र प्रतिमन ३५ सयसम्म बिक्री भएको अदुुवा हाल मूल्य घटबढ भने भइरहन्छ । यस वर्ष अदुवा प्रतिमन १ हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्ममा बिक्री भएको छ । किसानहरूले मकैबारीसँगै यसको खेती गर्ने गरेका छन् । अदुुवा रोपेको बीउले टुुसा लगाएपछि लगाइएको सोही माउ अदुुवासमेत निकालेर बेचिन्छ । जिल्लाको कोलबुुङ, गोदक, नामसालिङ, देउमाई नगरपालिका, सुम्बेक, सोयाङमा बढी मात्रामा खेती गरिएको छ । धेरै बेसी र लेकबारीमा खेती नफस्टाउने भएकाले मध्यम क्षेत्रका किसानले खेती गर्ने गरेका छन् ।

आलुु
हिउँ पर्ने जमिनमा समेत फस्टाउने आलुु ६ हजार ८ सय १५ हेक्टर क्षेत्रफलभन्दा बढी जमिनमा खेती गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्र इलामको तथ्यांकअनुसार जिल्लामा ९४ हजार ४ सय ५९ सय मेट्रिक टनमाथि उत्पादन हुने गरेको छ । विशेष गरेर तरकारीको रूपमा प्रयोग गरिने आलुु इलाम बजार, झापा, मोरङ, काठमाडौंलगायत भारतका बजारमा समेत निर्यात हुने गरेको छ ।
खाजा, तरकारी र विभिन्न परिकारमा समेत मिल्ने आलुु सरदर ५० रुपैयाँ प्रतिकिलो बिक्री हुुने गरेको छ । विशेष गरी जिल्लाको उच्च पहाडी भेगका किसानहरूले व्यावसायिक खेती गर्ने गरेका छन् । आलुको नयाँ–नयाँ जात उत्पादन गर्ने उद्देश्यले सरकारले जमुुना र नयाँबजार गाविसको संगमस्थल जौबारीमा आलुु विकास केन्द्र स्थापना गरेको छ । विशेष गरेर एमएस, डेजिरे, बिटे, सेतो आलुु तथा झ्यालेलगायतका जातका उत्पादन हुुने गरेको छ ।
उत्पादनको पहिलो सिजनमा २५ रुपैयाँदेखि बीउको समयमा १ सय ५० प्रतिकिलो आलु बिक्ने गरेको छ ।

अकबरे
काँचोमा हरियो र पाकेपछि रातो गोलो–गोलो हुने अकबरेमा जिल्लाका किसानहरूको झुकाव बढ्दै गएको छ । जिल्लामा उत्पादित अकबरे देश तथा विदेशमा समेत प्रख्यात छ । पिरो मन पराउनेहरूको पहिलो रोजाइमा रहेको अकबरे खुुर्सानी जिल्लाको १ सय ७२ हेक्टर क्षेत्रफलमा लगाइएको कार्यालयको तथ्यांकमा उल्लेख छ । इलाममा मात्र ५ सय ९७ मेट्रिक टन उत्पादन हुने गरेको बताइएको छ । हाल सरदर प्रतिकिलो २ सयदेखि ४ सय रुपैयाँसम्ममा बिक्री हुने अकबरे खुुर्सानी जिल्लाका पूर्वी भेगका किसानले व्यावसायिक रूपमा नै खेती गर्ने गरेका छन् ।

अम्रिसो
अम्रिसो विशेष गरेर गाईभैंसीको घाँसमा प्रयोग हुुने एक प्रकारको वनस्पति हो । यसै घाँसको फूललाई कुुचो भनिन्छ । कुुचो घर सफा गर्न प्रयोग गर्ने गरिएको छ । जिल्लामा ५१ हजार ६ सय ३ मेट्रिक टन उत्पादन भएको अम्रिसो (कुचो) को गत वर्ष मात्र २ अर्ब ४७ करोड ६९ लाख ४४ हजारको माथिको कारोबार भएको जिल्ला पशुुसेवा कार्यालयको तथ्यांकमा उल्लेख छ ।
उत्पादन भएको घाँस जिल्लामा नै खपत भए पनि यसबाट उत्पादित कुुचो देशभित्र र भारत निर्यात हुुने गरेको छ । विशेष गरी अम्रिसो हिउँदमा किसानले गाईवस्तुुलाई खुवाउने गर्छन् भने कुुचोसमेत यसै सिजना फक्रिने गरेको छ ।

अर्थोडक्स चिया
उत्पादनको निकै ठूलो हिस्सा ओगट्ने चिया १ सय ९७ वर्ष पहिला तत्कालीन कर्णेल गजराजसिंह थापाले चीनबाट उपहारस्वरूप पाएको चियाको बीउ इलामको हाल रहेको चिया बगानमा रोपेपछि नेपालमा चिया खेतीको प्रारम्भ भएको पाइन्छ । सो बेला चिया रोपे पनि निरन्तरता दिन नसक्दा करिब एक शताब्दीसम्म इलाममा चियाको विकास र विस्तार हुन सकेन ।
सोही समयमा भारतमा चियाखेतीको सुरु भएको मानिन्छ । सन् १८६२ मा आरम्भ भए पनि चियाखेती सन् १९६० बाट मात्र नेपालमा विस्तार भयो । त्यसपछि झापामा निजी स्तरबाट चियाखेती भएको पाइन्छ । हाल चियाको व्यावसायिक रूपमा इलामसहित झापा, पाँचथर, तेह्रथुम, धनकुटालगायतका जिल्लामा सुरू भएको छ । नेपालमा समुद्री सतहको ६२ मिटरदेखि ४ हजार ७ सय मिटरको उचाइमा चिया उत्पादन हुने गरेको छ ।
इलामको चिया भारतसहित तेस्रो मुलुकमा समेत निर्यात हुने गरेको छ । गुणस्तरीयताको हिसाबले विश्वमै इलामको चियाले ख्याति कमाएको छ । यो जिल्लामा १२ हजार १ सय ८ रोपनी क्षेत्रफलमा चियाखेती गरिएको चिया विस्तार योजना जस्बिरेले जानकारी गराएको छ । चियामा जिल्लाका अधिकांश किसान लागिपरेका छन् । मुलुकको कुल अर्थोडक्स चिया उत्पादनमध्ये ७६.२ हिस्सा इलामले नै उत्पादन गर्ने गरेको छ ।
इलामबाट १ करोड २३ लाख ४४ हजार ६ सय ५४ केजीभन्दा बढी चिया उत्पादन हुने गरेको बताइएको छ । इलाममा उत्पादित चियाको बजार अमेरिका, जर्मनी, जापान, अस्टे«लियालगायतका देशमा निर्यात हुने गरेको छ । पहाडमा उत्पादन हुने अर्थोडक्स चियाको कुल उत्पादनको ९० प्रतिशत निर्यात हुने गरे पनि बंगलादेश र पाकिस्तानले सीटीसी चिया आयात गर्न थालेका छन् ।
पछिल्ला दिनमा भारत र चीनमा समेत चिया निर्यात भए पनि सीटीसी चिया भने नेपालमा नै खपत हुने गरेको छ । चिनियाँ शब्द ‘अजब’ बाट आएको चियाको विश्व इतिहास ४ हजार ७ सय वर्षभन्दा पुरानो छ । चियाको बेर्ना लगाएको चार वर्षमा उत्पादन दिन सुरु गरे पनि पाँच वर्षपछि राम्रो उत्पादन दिन्छ ।
चियाको आयु १ सय वर्षभन्दा बढी भए पनि सय वर्षपछि उत्पादनमा कमी आउँछ । चियाले चैतको पहिलो हप्तादेखि सात महिनासम्म उत्पादन दिन्छ । पछिल्लो समयमा किसान आफैंले साना चिया सुुकाउने डायर राखेर पनि सुुक्खा चिया उत्पादन गर्दै आएका छन् । चिया रोपेको करिब दुई वर्ष हुनै लाग्दा मात्र विदेशी बजारमा चिया आफ्नै लोगोमा विदेश निर्यात हुन थालेको छ । लोगो सार्वजनिक भएको करिब तीन महिना हुनै लाग्दा चियाको लोगो विश्वका दुई देशमा दर्ता भएको छ । अमेरिका र भारतका चियाको लोगो दर्ता भएको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराईले जानकारी दिए ।

किबी फल
किबी फल आयआर्जनका हिसाबले राम्रो सम्भावना बोकेको फलका रूपमा लिइन्छ । किबी फल प्रशस्त उत्पादन गरी विदेश निर्यात गर्न सकेमा लाखौं विदेशी मुद्रा आर्जन गर्न सकिने यस खेतीमा लाग्नेहरू बताउँछन् । ‘फलहरूको राजा’ र ‘द सुप्रिम फ्रुट’ लगायतको उपमा पाएको यो फल नेपालका लागि नयाँ र आयमूलक फलको रूपमा लिन सकिने किबी फलका अग्रणी किसान तारामणि खतिवडा बताउँछन् ।
एक रोपनी जमिनमा १५ वटासम्म किबी फलको बिरुवा लगाउन सकिन्छ । बिरुवा लगाएको पहिलो वर्ष दुई पटक मल र चार–पाँच पटक गोडमेल गरेर पुग्ने यो फल ताजा फलफूलमध्ये एक विशिष्ट फलका रूपमा लिइन्छ ।
मूल्यका हिसाबले महँगो फल मानिएको किबी इलामका धेरै किसानहरूले लगाउन थालेका छन् । सुरु–सुरुमा यो फल प्रतिकिलो ६ सय रुपैयाँले बिक्री भए पनि उत्पादन बढ्दै जाँदा हाल प्रतिकिलो २ सय ५० का दरले बिक्री हुँदै आएको छ । उद्योग वाणिज्य महासंघमार्फत इलाम उद्योग वाणिज्य संघ इलामले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अघि सारेर समेत किबीमा यहाँका किसानहरूलाई व्यावसायिक बनाउन जोड दिँदै आएको छ ।
यो फल खाँदा विभिन्न फलफूलको स्वाद एकै दानामा हुुने विभिन्न रोगहरूको औषधिसमेत हुुने किसानहरूको दाबी छ । ताजा फलको रूपमा र जुस, जाम, वाइन, जेल्ली, आइसक्रिमलगायतका परिकार बनाई सेवन गर्न सकिने पारखीहरू बताउँछन् ।
बिरुवा लगाएको दुई–तीन वर्षदेखि उत्पादन सुरु गर्ने किबीको बिरुवाले करिब ४० देखि ६० वर्षसम्म नै निरन्तर उत्पादन दिने कृषक खतिवडाको भनाइ छ । रोपिएको तेस्रो वर्षदेखि किबीले राम्रो गुणस्तरसँगै उत्पादन पनि एउटै बिरुवाले ५० देखि १ सय किलोसम्म फल फलाउँछ । यो फल कुखुराको अन्डाभन्दा केही ठूलो आकारमा खैरो रङमा फल्ने गर्छ ।
यो फल नेपालको भूगोलअनुसार १२ सयदेखि २४ सय मिटरको उचाइमा लगाउन सकिन्छ । नेपालको ४० जिल्लामा यो फल लगाउन सकिने अनुमान गरिए पनि हाल १० वटा जिल्लामा खेती सुरु गरिएको छ । तीमध्ये पनि दोलखा किबीको स्रोत जिल्ला हो ।
दोलखाको बोचस्थित बागवाणी फार्ममा १४ वर्षअगाडिबाट किबी लगाइएको थियो । इलाम साथै पाँचथर, ताप्लेजुुङसहित रामेछाप, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लामा पनि किबीको व्यावसायिक खेती सुरु गरिएको छ ।
किबीको उत्पादन र आयआर्जन वृद्धि हुन थालेपछि संघीय सरकारले यहाँ ‘किबी जोन’ कार्यक्रम नै सञ्चालन गरेको छ । जोनमार्फत यसमा लागेका किसानहरूले निश्चित मापदण्ड पूरा गरेपछि बीउबिजनसहित आवश्यक उपकरणसमेत पाउने गरेका छन् ।

बिहिबार, ०१ पुष, २०७८, दिउँसोको ०४:३१ बजे

सम्बन्धित खवर