चीनबाट ४० लाख खोप ल्याइने

सरकारले पटकपटकको प्रयासपछि केही विवादबीच चीनको सिनोफार्म कम्पनीसँग कोरानाविरुद्ध भेरोसेल खोप खरिद गर्ने निर्णय गरेको छ । सरकारका एक मन्त्रीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले सिनोफार्म कम्पनीसँग खोप गरिद गर्ने निर्णय गरेको हो।

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले पनि चीनबाट ४० लाख डोज खोप किन्ने तयारी भइरहेको बताएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुरा गर्दै मन्त्री महासेठले चीनसँग ४० लाख र अमेरिकाको जोनसन एण्ड जोनसनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको उल्लेख गरे ।

‘जोनसन एण्ड जोनसनको ५० लाख बिश्वबैंकमार्फत् किन्दैछौं, उहाँहरुले नै किनेर हामीलाई दिने भनेका छौं’ महासेठले भने– ‘चीनबाट पनि ४० लाख डोज ल्याउँदै छौं ।’

सिनोफार्म कम्पनीले नेपाललाई खोप उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएपछि सरकारले उक्त कम्पनीसँग खोप खरिद गर्ने निर्णय गरेको हो। तर खोप ‘नन डिस्कोलजर एग्रिमेन्ट’ अन्तर्गत यो खरीद प्रक्रिया अघि बढाएपछि केही स्वास्थ्य अधिकारीहरुले आशंका व्यक्त गरेका छन् ।

खोपको मात्रा, मूल्य र आपूर्तिको समयसीमाबारे खोप खरिद प्रक्रियामा संलग्न सरकारी अधिकारीहरुले गोप्य राख्ने प्रयास गरेका छन्। यो खोप खरिद प्रक्रियामा नेपाल र चीन सरकारबीच र खोप उत्पादक कम्पनीसँग गरी दुई खाले सम्झौता हुँदैछ।

स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीका अनुसार यस अघि विभागबाटै खोप खरीदका लागि उक्त कम्पनीलाई जेठ ११ गते पत्र पठाइएको थियो। तर उक्त कम्पनीले खोपको मूल्य गोप्य राख्नुपर्ने शर्त राखेको थियो। दातृ निकायबाट प्राप्त रकम खोप खरिदमा लगानी गर्नुपर्ने बाध्यताका कारण खोपको मूल्यलगायत विषय गोप्य राख्न नमिल्ने अडान लिएका थिए।

खोप खरिदलाई लिएर सरकार चर्को दबाबमा परेको थियो। त्यसपछि परराष्ट्र मन्त्रालय, उपप्रधानमन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिबाटसमेत खोपका लागि अनुरोध गएपछि सिनोर्फामले नेपाललाई खोप उपलब्ध गराउने लिखित प्रतिवद्धता जनाएको हो। यसमा सबैभन्दा ठूलो प्रभाव राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिन पिङलाई गरेको अनुरोध भएको स्वास्थ्य अधिकारीहरुले बताउँछन्।

स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीका अनुसार मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा स्वास्थ्य सेवा विभागले हाललाई ४० लाख मात्रा खरिदका लागि उक्त कम्पनीलाई पत्र पठाउने तयारी भएको छ।

बिहिबार, ०३ असार, २०७८, बिहानको ०९:३१ बजे

सम्बन्धित खवर