दमकमा बहुमतको दम्भ, बजेट बन्दक बनाएर विकासमा अवरोध

प्रतिपक्षले माग्यो दलका लागि कार्यालय र नेताका लागि गाडी

 दमक/  दमक नगरपालिकामा प्रतिपक्षी दल एमालेले दलका लागि कार्यालय र नेताका लागि गाडी दिएमात्रै बजेट पास गर्ने सर्त तेस्याएपछि बजेट बन्दक भएको छ ।
बहुमतको दम्भ देखाएर गिभ एण्ड टेकको सर्त अघि सारेपछि बजेट पास हुने सकेको छैन । तर संविधान र स्थानीय तह सञ्चालन ऐनले स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्षको परिकल्पना गरेको छैन । तर, अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेले संसदीय दल नै बनाएर प्रतिपक्षको भूमिका खेल्दै छ । त्यति मात्र होइन, दलका लागि कार्यालय र नेताका लागि गाडीलगायत सुविधा पनि नगरपालिकासँग माग गरेको छ ।
स्थानीय तहमा संघ र प्रदेशमा जस्तो संसदीय व्यवस्था छैन । व्यवस्थापिका भए पनि प्रत्यक्ष निर्वाचित प्रमुख हुन्छन् । दमकमा एमालेले दुईतिहाइ जनप्रतिनिधि जिते पनि प्रमुख र उपप्रमुख भने गुमायो । मुख्य दुई पद नै गुमाएपछि आफूलाई नगरपालिकामा प्रमुख प्रतिपक्षी दलको हैसियतमा उभ्याउने कानुनविपरीतको प्रयास उसले गरिरहेको छ ।
कार्यपालिका सदस्यसहित दमक नगरपालिकामा ५५ जनप्रतिनिधि निर्वाचित भएका थिए । तीमध्ये विश्वनाथ बराल जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएपछि अहिले एमालेका ४१ र नगर प्रमुख–उपप्रमुखसहित राप्रपा, कांग्रेस, माओवादी र जसपासहितको गठबन्धनबाट निर्वाचित १३ जना छन् ।
एमालेले कार्यपालिका सदस्य लोकबहादुर धिमाललाई संसदीय दलको नेता बनाएको छ । दमक– ५ का वडाध्यक्ष इन्द्र गुरुङ दलको उपनेता र सचिवमा शारदा भट्टराई रहेको नेता धिमालले बताए । ‘हामीले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई समन्वय गर्न संसदीय दल गठन गरेका हौँ । सिनियारिटीका आधारमा संसदीय दल छ । उनले भने ।
दमकका मेयर रामकुमार थापाले संविधान र कानुनले परिकल्पना नै नगरेको संसदीय दल बनाउने मात्रै होइन, एमालेले दलका लागि सेवा–सुविधासमेत माग गरेको दाबी गरे । ‘उहाँहरूले संसदीय दलको नेताका लागि औपचारिक रूपमै कार्यालय माग्नुभयो । गाडी पनि माग्नुभयो ।
एमालेले प्रतिपक्षीको हैसियतमा नगर सभामा निरन्तर पनि अवरोध गर्दै आएको छ । अवरोधका कारण बजेटसमेत पास हुन सकेको छैन । अधिकार सम्पन्न स्थानीय तहको पहिलो पाँचवर्षे कार्यकालमा संसदीय दल बनाएको र प्रतिपक्षको भूमिका खेलेको यो पहिलो उदाहरण हो ।
स्थानीय तहले १० असारमा नगर सभामा बजेट पेस गरेर असार मसान्तभित्र बजेट पास गर्नुपर्ने ऐनको व्यवस्था छ । तर, दमक नगरपालिकामा भने असार मसान्तसम्म बजेट नै पास भएन ।
एमालेले विरोध जनाएपछि बजेट पास गर्न बोलाइएको दमक नगरपालिकाको ११औँ नगर सभाको दोस्रो र तेस्रो बैठक स्थगित भएको छ । ३ साउनमा अर्को बैठक बोलाइएको नगर प्रमुख थापाले बताए । शनिवार गठबन्धन दलका नगरस्तरीय नेताहरुले संयूक्त पत्रकार सम्मेलनको आयोजना गरेर नगरमा एमालेले चालेको कदमको निन्दा गरेका छन् ।

आइतबार, ०१ साउन, २०७९, बिहानको ०६:५९ बजे

सम्बन्धित खवर