प्रदेश १ को अर्थमा पनि प्रश्न, प्रतिष्ठान, स्मृति ट्रष्टका नाममा करोडौं रकम

   विराटनगर /   प्रदेश १ ले आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको छ। तर, त्यसमा विकासका योजनासँगै प्रतिष्ठान तथा स्मृति ट्रष्टका नाममा विभिन्न कार्य प्रयोजनका लागि भनेर ८ करोडभन्दा बढी छुट्ट्याइएको छ।

पर्यटन तथा संस्कृति मन्त्रालयमार्फत प्रतिष्ठान, स्मृति ट्रष्ट, फाउन्डेसन तथा अन्य विभिन्न संघ–संस्थालाई अनुदानस्वरूप ३ करोड छुट्ट्याइएको छ। प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यक्रम पुस्तिकामा उक्त विषय उल्लेख छ।

मन्त्रालयबाट प्राप्त विवरणअनुसार सरकारले संखुवासभाको सहिद स्मृति प्रतिष्ठानलाई पनि भवन बनाउन भनेर २० लाख छुट्ट्याएको छ। ताप्लेजुङको फुङलिङ नगरपालिका–५ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानलाई ५० लाख, झापाको चारपानेस्थित सहिद स्मृति प्रतिष्ठानलाई २० लाख, हल्दीबारी–२ चतुरानस्थित राजवंशी प्रतिष्ठानलाई १५ लाख, ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–१ कटुन्जेस्थित सहिद हरि नेपाल प्रतिष्ठानलाई २० लाख र पाँचथरको फिदिम–४ स्थित सहिद प्रतिष्ठानलाई भवन तथा सभाहल बनाउन १५ लाख छुट्ट्याइदिएको छ।

झापाको अर्जुनधारा–८ स्थित जनयोद्धा प्रतिष्ठानलाई २० लाख, शिवसताक्षीस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानलाई ५० लाख, संखुवासभाको भोटखोलास्थित शहिद स्मृति प्रतिष्ठानलाई २० लाख, संंखुवासभाकै चैनपुरस्थित वासुशाक्य स्मृति प्रतिष्ठानलाई २० लाख र धनकुटाको पुष्पलाल स्मृति ट्रष्टलाई १० लाख तोकिएको छ।

सत्ता र शक्तिको दुरुपयोगस्वरुप स्मृति ट्रष्ट तथा प्रतिष्ठानका नाममा गरिएका यस्ता विनियोजनले कुनैै आउटकम नदिने अर्थशास्त्री अर्जुन बराल बताउँछन्। ‘कार्यकर्ता पोस्ने ध्येयले गरिएका रकम विनियोजनले कुनै प्रतिफल दिँदैन,’ उनी भन्छन्, ‘सहिद प्रतिष्ठानलाई सहयोग गर्नु सकारात्मक विषय हो। तर, अहिले नामै नसुनेका ट्रष्टहरूले पनि लाखौं खेलाइरहेका छन्। यो स्रोत र साधनको दुरुपयोग हो।’

प्रदेश सरकारले प्रदेशभरिका प्रतिष्ठान तथा स्मृति ट्रष्टका नाममा ८ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको सरकारी तथ्यांक छ। तथ्यांकअनुसार ओखलढुंगाको लिखु–४ यसमस्थित टंकराज ईश्वरी प्रतिष्ठानलाई भवन बनाउन ५० लाख दिइएको छ। यसबाहेक रावावेशी–२ स्थित मनमोहन स्मृति प्रतिष्ठानले ५ लाख, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी–१ स्थित बीपी स्मृति ट्रष्टले ५० लाख र मोरङको पिताजी कृष्णप्रसाद सेवा गुठी तथा बेलबारीस्थित जनयुद्ध स्मृति प्रतिष्ठानले ५०–५० लाख पाएका छन्। सुनसरीको इटहरी–२ मा रहेको जेबी टुुहुरे र भोजपुरको मिराराई फाउण्डेशनले क्रमशः ३० र १० लाख पाउने भएका छन्।

आइतबार, ०१ साउन, २०७९, बिहानको ०८:०८ बजे

सम्बन्धित खवर