एक्लै अशोक राई

 

रातो लालटिन बोकेर झन्डै चार दशक उनले वाम राजनीतिमा बिताए । भूमिगत कालमा पूर्वी पहाडमा मालेको संगठन विस्तार गरे । एमालेको सातौँ र आठौँ महाधिवेशनमा सर्वा्धिक लोकप्रिय मत उनै अशोक राईले पाएका थिए । सात वर्षअघि वर्गीय धार बदलेर पहिचानवादी राजनीतिमा हाम फालेका राईसित अब त्यो पुरानो साख र लोकप्रियता कहाँ !

भूमिगत कालदेखि संघीय समाजवादी पार्टी निर्माणसम्मै सघाएका थुप्रै नेता लाखापाखा लागिसके । तैपनि शुभचिन्तक उनी ओझेल परेकामा चिन्तित छन् । उनलाई भेटेरै ‘दुस्ख गरेर आफैँले बनाएको पार्टी छाडेर अशोकले गल्ती गर्‍यो’ भन्छन् । प्रश्नहरू यति धेरै सोधिएछन्, उनी पुस्तक लेखेरै जवाफ दिने मनस्थितिमा पुगेका छन् । “धेरैले पार्टी छाडेका छन् । तर मलाई मात्र किन यति धेरै प्रश्न सोधिन्छ ?” ती प्रश्नलाई आफूप्रतिको माया ठानेका उनी थप्छन्, “पार्टी छाडेर हिँड्नेहरू कोही चम्किन्छन्, कोही ओझेल पर्छन् । म जे छु, ठीकै छु ।”

एमाले छाडेर राईको नेतृत्वमा जनजाति बाहुल्य संघीय समाजवादी पार्टी बन्यो । ०७० को संविधानसभा निर्वाचनमा उनको पार्टीले ६८ जिल्लामा उम्मेदवार उठायो । तर एउटै उम्मेदवारले प्रत्यक्ष निर्वाचन जित्न सकेनन् । समानुपातिकतर्फ प्राप्त झन्डै एक लाख मतले उनीसहित पाँच नेतालाई संसद्मा त पुर्‍यायो । पार्टी भने टिक्न सक्ने स्थिति भएन । नेता राई मूल नेतृत्व धान्न नसक्ने स्थितिमा पुगेकैले मधेसी जनअधिकार फोरमसँग एकता गरी वरिष्ठ नेतामा ओर्लिनुपर्‍यो । गत २३ वैशाखमा नयाँ शक्ति पार्टीसँगको एकतापछि उनको वरीयता झनै खस्कियो । पार्टी्भित्रको सामथ्र्य खिइँदै अहिले उनी निर्णायकभन्दा ज्यादा देखाउने ‘गहना’ नेता बनेका छन् ।

पहिलो संविधानसभाको आखिरीतिर पार्टीसँग असन्तुष्ट हुने उनी एक्ला नेता थिएनन् । संविधानसभाभित्र र बाहिर पहिचानको मुद्दा उनीभन्दा चर्को रूपमा उठाउने नेता थिए, पृथ्वीसुब्बा गुरुङ । एमालेसँग असन्तुष्ट भएपछि पार्टी छाडेर प्राज्ञिक काम गर्ने उनको योजना थियो । तर उनको नेतृत्वमा पार्टी गठन गरे देशभर माहोल बन्ने भन्दै जनजाति नेताहरूले उचाले । पार्टी्भित्र असन्तुष्ट समूहको नेतृत्व गरिरहेका पृथ्वीसुब्बा र किरण गुरुङहरू अन्तिम समय पार्टी छाड्न तयार भएनन् । खासमा उनीहरूले राईको नेतृत्व नस्वीकारेका हुन् । पृथ्वीसुब्बा आफ्नै नेतृत्व भए मात्र नयाँ पार्टी खोल्ने मुडमा थिए । राई निकटसँग भनेका पनि थिए, ‘मलाई तपाईंहरू स्वीकार्नुहुन्न । म अशोकजीलाई स्वीकार्दिनँ । उहाँको नेतृत्वमा जान्नँ ।’ राईले पार्टी हाँक्न सक्छन् भन्ने किरणले पत्याएनन् । ०५४ को पार्टी विभाजनपछि दुवै वामदेव गौतम नेतृत्वको मालेमा थिए । गौतमको सचिवालयमै रहेर गुरुङले पार्टी सञ्चालन, व्यवस्थापन र आर्थिक पाटोलाई नजिकबाट देखेका थिए । पार्टीको मूल नेतृत्व बन्न राईको सामथ्र्यले पुग्दैन भन्ने सम्भवतस् उनले सोचेका थिए ।

०६९ सालमा पार्टी त बन्यो तर त्यसमा राजनीतिकभन्दा जातीय भावना ज्यादा थियो । राईका दाहिने हात बनेर काम गरेका नेता अजम्बर काङमाङ राई भन्छन्, “जतिसुकै कोसिस गरे पनि पार्टी जनजाति महासंघजस्तो पो भयो । सुरुमा हामीलाई जातिवादीको आरोप लाग्यो, पछि त राई पार्टी भन्न थाले । राजनीतिक स्वरूप ग्रहण नगरेरै त्यो यात्रा टुंगियो ।”

पार्टी अध्यक्ष भए पनि राई आफैँले पार्टीको विचारधारा, नीति र सिद्धान्त ल्याएनन् । पार्टी विचार तयार गर्ने जिम्मेवारी उनले अर्का नेता राजेन्द्र श्रेष्ठलाई दिएका थिए । आफूलाई जनताको बहुदलीय जनवादको लेखन टोली सदस्य दाबी गर्ने श्रेष्ठले नयाँ विचारधारा ल्याउनुको सट्टा एमालेको उही जबजलाई तानतुन गरे । त्यसमा संघीय र समाजवाद थपथाप गरेर टालटुले विचार ल्याए, कुनै परिमार्जनबिनै पार्टी नीति विचार अनुमोदन गरियो । विचारमा नयाँपन नभेटेपछि नै हो, पूर्वपार्टीमा फर्किने लहर चलेको ।

“धेरैले पार्टी छाडेका छन् । तर मलाई मात्र किन यति धेरै प्रश्न सोधिन्छ ?” ती प्रश्नलाई आफूप्रतिको माया ठानेका उनी थप्छन्, “पार्टी छाडेर हिँड्नेहरू कोही चम्किन्छन्, कोही ओझेल पर्छन् । म जे छु, ठीकै छु ।”
अध्यक्ष राईसहित पार्टी पदाधिकारीले जोखिम मोलेनन् । कतिसम्म भने ०७० सालको निर्वाचनअघि केन्द्रीय कमिटीमा पदाधिकारी सबै प्रत्यक्ष चुनाव लड्नुपर्ने प्रस्ताव गरिएको थियो । तर नेताहरू डराए । आखिरमा त्यो प्रस्ताव ल्याउने अजम्बर काङमाङ राई, रिजवान अन्सारी, रकम चेम्जोङ मात्र प्रत्यक्ष लडे । “अशोक राई भूमिगत राजनीतिका लागि ठीक नेता हो । अहिले आउट डेटेडजस्तै हुनुभयो । पार्टी निर्माण गर्न चाहिने अतिरिक्त सक्रियता, व्यवस्थापन र आर्थिक जोहो गर्न सक्नुभएन,” काङमाङ भन्छन्, “पार्टीको विचार नै ठीक ढंगले अघि बढाउन नसक्दा संघीय समाजवार्दी पार्टी टिकेन ।”

नेता राई झापा विद्रोहकालीन राजनीतिबाट माले हुँदै एमालेसम्म सँगै आए । ०५४ को पार्टी विभाजनमा मालेतर्फ गए । ०५९ मा वामदेव गौतमसँगै एमालेमा फर्किए । ०६० को जनकपुर सातौँ महाधिवेशनमा सर्वा्धिक मतसहित केन्द्रीय सदस्य निर्वाचत भए । ०६५ सालको बुटवल आठौँ महाधिवेशनमा सर्वा्धिक मतसहित उपाध्यक्ष जिते । त्यो लोकप्रियताका दुई कारण औँल्याउँछन्, उनका प्रतिस्पर्धीहरू । सातौँ महाधिवेशनमा भर्खर मालेबाट फर्किएका राईले उद्घोषणको जिम्मेवारी पाएका थिए । प्रतिनिधिमाझ उनले पार्टी विभाजन गरेर माले गठन गर्नु आफूहरूको ठूलो गल्ती थियो भनेर पटक–पटक दोहोर्‍याए । त्यसले संस्थापनको दबदबा रहेको महाधिवेशन हल प्रभावित भयो र राईले सर्वा्धिक मत पाए । आठौँ महाधिवेशनमा उनले दुवै प्यानललाई रिझाए । वैचारिक रूपमा उनी झलनाथ खनाल प्यानलमा थिए । तर केपी ओलीलाई पनि भेटेर ‘तपाईं मेरो नेता हो’ भनेर प्यानलमा नाम चढाए । दुवै प्यानलमा नाम परेपछि मनोनयन दर्ता गराए । दुवैतर्फको समर्थन पाएपछि सर्वा्धिक मत ल्याउनु स्वाभाविकै थियो ।

वैचारिक रूपमा उनी जति प्रस्ट लाग्छन्, जोखिम मोल्ने कुरामा भने उत्तिकै कमजोर छन् । कित्ता छुट्टयाउन नसक्ने, समन्वयका नाममा बीचमा बस्ने र राजनीति सुरक्षित गर्ने स्वभाव उनमा छ । पूर्वी पहाडमा मालेको संगठन विस्तारमा राईको उल्लेख्य योगदान छ । ०४८ को निर्वाचनमा ओखलढुंगा र सोलुखुम्बुबाहेक अन्यत्र एमालेले जितेको थियो । उनको कामबाट तत्कालीन महासचिव मदन भण्डारीसमेत प्रभावित थिए । राई विचारमा भने अडान राख्ने नेता हुन् । ०४९ को पाँचौँ महाधिवेशनमा उनै भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको पक्षमा उनी गएनन् । उनी सीपी मैनालीले अघि सारेको परिमार्जित नौलो जनवादको पक्षमा उभिए । ०४८ र ०५१ सालमा खोटाङबाट चुनाव जितेका राई ०५६ को चुनावमा उदयपुर झरेपछि कुनै प्रत्यक्ष चुनाव जित्न सकेका छैनन् ।

पछिल्लो समय राजनीति सुरक्षित गर्ने उनको रणनीति निस्तेज हुँदै गएका छन् । ०७४ सालको स्थानीय तहको निर्वाचनमा उनको पार्टीले आफ्नै वडामा पनि सम्मानजनक मत पाउन सकेन । त्यसले तत्कालीन संघीय समाजवादी फोरमको समीक्षा बैठकमा उनले लज्जाबोध गर्नुपर्‍यो । “स्वीकार्नै पर्छ, जनताले हामीलाई पत्याएनन् । एउटा–दुइटा चुनावको परिणामले मात्र राजनीति सफल वा असफल भन्न मिल्दैन,” उनको तर्क छ, “जनमतसंग्रहमा बहुदल पक्षधर हार्‍यो । तर एक दशकपछि त पञ्चायत ढाल्यो नि ।”

वैचारिक रूपमा उनी जति प्रस्ट लाग्छन्, जोखिम मोल्ने कुरामा भने उत्तिकै कमजोर छन् । कित्ता छुट्टयाउन नसक्ने, समन्वयका नाममा बीचमा बस्ने र राजनीति सुरक्षित गर्ने स्वभाव उनमा छ ।

तर्क अरू पनि छन्, ०४८ सालको निर्वाचनमा नौ सिट भएको माओवादी ०६४ को निर्वाचनमा प्रत्यक्षतर्फ बहुमत जित्ने पार्टी बन्यो । ०६४ मा तेस्रो स्थानमा रहेको एमाले ०७४ को निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बन्यो । ०१५ सालमा कांग्रेसले दुई तिहाइ जित्दा ४ सिट जितेको कम्युनिस्ट पार्टी ०७४ को निर्वाचनमा झन्डै दुई तिहाइको जनमत आर्जन गर्ने स्थितिमा आइपुगे । त्यसैले राम्रो मत नल्याउनु मात्र संघीय समाजवादी पार्टी संकटमा पर्नुको कारण थिएन भन्ने नेता राईको विश्लेषण छ ।

धेरैको प्रश्न रहन्छ, सयौँ युवालाई कम्युनिस्ट विचार भिराएर अशोक राई आफूचाहिँ गैरकम्युनिस्ट किन भए ? चार दशक हिँडेपछि उनलाई आफू हिँडेको बाटोमा भरोसा हुन छाड्यो । एमाले वस्तुगत यथार्थभन्दा टाढा रहेको ज्ञान भयो । त्योभन्दा बहुजातीय र पहिचानको राजनीतिसहित बन्दुक बोकेको माओवादी तुलनात्मक रूपमा ठीक लागेपछि उनले एमालेलाई पहिचानको मुद्दामा डोर्‍याउन चाहेका थिए । एमाले भने आफू तेस्रो हैसियतको संविधानसभाबाट संविधान बनाउनुभन्दा काग्रेससँग मिलेर पहिलो संविधानसभा असफल पार्न लागेको राईको बुझाइ छ । परिवर्तनका मुद्दालाई जातिवादी तथा साम्प्रदायिक ढंगले विश्लेषण गरिएपछि आफू पार्टी छाड्ने स्थितिमा पुगेको उनी बताउँछन् ।

राई आफूले एमाले नफुटाएको तर्क गर्छन् । ‘फोडेर होइन, छाडेर’ नयाँ पार्टी बनाएकाले पार्टी संगठित हुन धैर्य चाहिन्थ्यो । धेरै नेतामा त्यो धैर्य नहुँदा पार्टी चलाउन नसकेको उनको निष्कर्ष छ । पहिलो संविधानसभाको आखिरीतिर एमालेमा आदिवासी जनजाति र मधेसीको असन्तुष्टि चुलिँदो थियो । फोड्न चाहेको भए थुपै्र नेता आउँथे भन्ने उनलाई लाग्छ । त्यो नचाहेरै आफूले ‘पाकेको बाली उठाउनु छ भने एमालेमै बस्नुस्, नयाँ बाली लगाएर १५–२० वर्ष मिहिनेत गर्ने आँट छ भने मलाई साथ दिनुस्’ भनेर आह्वान गरेको उनी दाबी गर्छन् । समय क्रममा त्यो आँट उनीसँगै रहेन । पहिलो नेता बनेर पाँच वर्ष पनि पार्टी टिकाउन सकेनन् ।

आफ्नो असफलताको कारण आदिवासी जनजाति आन्दोलनभित्रका तीनखाले प्रवृत्तिलाई धेरथोर दोष दिन्छन्, राई । पहिलो– चर्को ढंगले कुरा उठाउने र पार्टीमा उक्लिने भर्‍याङ बनाउने । दोस्रो– भावनात्मक रूपमा हौसिएर लाग्ने र थोरै कठिनाइ आउनासाथ पछि हट्ने । विजय सुब्बा र अजम्बर राईहरू एमालेमा फर्किनुलाई उनले त्यही प्रवृत्तिका रूपमा लिन्छन् । तेस्रो– बुद्धिसंगत ढंगले विश्लेषण गरेर नयाँ सोचका साथ चल्ने । आफूलाई तेस्रो प्रवृत्तिको नेता ठान्छन्, उनी ।

आजका राजनीतिक मुद्दा भने माओवादीले स्थापित गराएको उनी ठान्छन् । आफैँले उठाएका मुद्दा छाडेर माओवादी एमालेमा विलय भन्ठान्ने राई भन्छन्, “मैले एमालेको जस्तो संगठन र माओवादीको जस्तो एजेन्डाको पार्टी बनाउन चाहेको थिएँ । कोसिस गरिरहेकै छु ।”

६२ वर्षीय राई आजीवन राजनीतिमा सक्रिय हुन चाहन्छन् । पूर्वएमालेकालीन उमेर हदको उनलाई अझै सम्झना छ । त्यसैले स्वास्थ्यले साथ दिए अझै आठ वर्ष सक्रिय राजनीति गरेर विश्राम लिने उनको योजना छ । भन्छन्, “७० पुगेपछि पनि राजनीतिभन्दा टाढा हुन नसकूँला ।”

नेपाल साप्ताहिकको अनलाइन संस्करणबाट साभार

बिहिबार, ३० असोज, २०७६, साँझको ०५:३४ बजे

सम्बन्धित खवर