कफिमा उत्पादन घट्यो माग बढ्यो

नेपालमा वार्षीक २ हजार मेट्रिक टन कफीको आवश्यकता छ । तर वार्षीक ४ सय मेट्रिक टन मात्र उत्पादन हुन्छ ।
स्वदेशी उत्पादनले धान्न नसक्दा हरेक वर्ष कफीको आयात हुने गरेको छ । खपत बढी र उत्पादन कम हुँदा उपभोक्ताले महँगोमा कफी पिउनुपर्ने बाध्यता छ ।
यसका लागि व्यावसायिक रुपमा कफी खेतीको विस्तार गर्नुपर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
बोर्डका अनुसार अहिले देशभर ३ हजार ५३ रोपण क्षेत्रमा वार्षीक ३ सयदेखि ४ सय मेट्रिक टन कफी उत्पादन हुन्छ । जसमा देशभरका ३१ हजार ३ सय ४० किसान संलग्न छन् ।
कफी उत्पादन गर्न सकिने ६ वटा प्रदेशमा सम्भाव्य अध्ययन गरेर कफी खेती विस्तार गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षलाई छुट्टै कार्यक्रम तय गरेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराई बताउँछन् ।
‘युवा लक्षित कफी विस्तार कार्यक्रम बनाउने योजना बनाएका छौँ’ उनले भने, ‘२ नम्बर प्रदेश बाहेक अन्य ६ वटै प्रदेशमा यो कार्यक्रम कार्यन्वयन गर्ने सरकारको लक्ष्य छ ।’

यस्तो छ कफीको न्यूनतम सहमत मूल्य

आज १७ औँ राष्ट्रिय कफी दिवस । बोर्डले हरेक वर्ष कफी दिवसका अवसरमा न्यूनतम सहमत मूल्य निर्धारण गर्ने गरेको छ ।
बोर्डले लागत मूल्यलाई आधार मानेर यसको मूल्य निर्धारण गर्ने गर्छ । किसानलाई २० प्रतिशत मुनाफा सुनिश्चित राखेर मूल्य निर्धारण गर्ने गरेको बोर्डका कार्यकारी निर्देशक भट्टराई बताउँछन् ।
सरकारले २०६८ सालमा फ्रेस चेरी ‘ए’ को न्यूनतम सहमत मूल्य प्रतिकेजी ३५ रुपैयाँ तोकेको थियो । हाल आइपुग्दा फे्रस चेरी ‘ए’ को मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको छ ।
त्यस्तै फे्रश चेरी ‘बि’ को न्यूनतम सहमत मूल्य ८० रुपैयाँ प्रतिकेजी रहेको छ । पार्चमेन्ट ‘ए’ को ४ सय ५० रुपैयाँ प्रतिकेजी छ भने पार्चमेन्ट ‘बि’ को ३ सय ९७ रुपैयाँ प्रतिकेजी छ ।
त्यसैगरी ड्राइचेरी ‘ए’ को मूल्य १४८ रुपैयाँ र ‘बि’ ९५ रुपैयाँ प्रतिकेजी रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाइएको छ ।

कफी उत्पादनको अवस्था

४२ जिल्लामा व्यवसायिक रुपमा कफीको खेती भइरहे पनि यसको उत्साहजनक उत्पादकत्व भने देखिदैँन ।
चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७१-०७२ मा २ हजार ३४१ रोपण क्षेत्रमा ४ सय ६३ मेट्रिक टन कफी उत्पादन भएको थियो ।
त्यस्तै आर्थिक वर्ष ०७२-७३ मा थोरै बढेर २ हजार ६१८ रोपण क्षेत्रमा ४ सय ३२ मेट्रिक टन कफी उत्पादन भएको थियो ।
आर्थिक वर्ष ०७३-७४ मा २ हजार ६१८ रोपनी क्षेत्रमा ४ सय ६६ मेट्रिक टन र ०७४-७५ मा २ हजार ६ सय ५० रोपण क्षेत्रमा ५ सय ३० मेट्रिक टन उत्पादन भएको थियो ।
त्यस्तैगरी आर्थिक वर्ष ०७५-०७६ मा रोपण क्षेत्रसँगै कफी उत्पादन केही बढेको देखिन्छ । सो वर्ष २ हजार ७६१ रोपण क्षेत्रमा ५३० मेट्रिक टन उत्पादन भएको छ ।
आर्थिक वर्ष ०७६-०७७ मा कफीको उत्पादन घटेको छ । २ हजार ३६० रोपण क्षेत्रमा लगाएको कफीको उत्पादन २ सय ९६ मेट्रिक टन उत्पादन भएको छ । गत आर्थिक वर्ष भने ३ हजार ५३ रोपणमा लगाइएको कफीको उत्पादन ३ सय १४ मेट्रिक टन छ ।

७ वर्षमा ६३ करोडको कफी निर्यात

पछिल्लो ७ वर्षमा ६३ करोड ८६ लाख ८६ हजार रुपैयाँको कफी निर्यात भएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१-०७२ मा ९ करोड ९१ लाख ७६ हजार रुपैयाँको ९९ मेट्रिक टन कफी निर्यात भएको थियो ।
त्यस्तै आर्थिक वर्ष ०७२ -०७३ मा १० करोड ७९ लाख १ हजार रुपैयाँमा १ सय ११ मेट्रिक टन कफी निर्यात भएको थियो ।
त्यसैगरी आर्थिक वर्ष ०७३ -०७४ मा ८ करोड ४५ लाख ३८ हजार रुपैयाँको ९४ मेट्रिक टन, ०७४ -०७५ मा ९ करोड ३७ लाख २५ हजार रुपैयाँको ८४ मेट्रिक टन कफीको निर्यात भएको छ ।
आर्थिक वर्ष ०७५ -०७६ मा ९ करोड ९६ लाख १६ हजार रुपैयाँको ८४ मेट्रिक टन, ०७६ -०७७ मा ५ करोड ७७ लाख २८ हजार रुपैयाँको ४६ मेट्रिक टन कफी विश्वबजारमा पुगेको तथ्याङ्कले देखाउँछ ।
गत आर्थिक वर्षमा ९ करोड ६० लाख ३ हजार रुपैयाँको ७२ मेट्रिक टन कफी निर्यात भएको छ ।

७ वर्षमै ४५ करोडको कफी आयात

कफी निर्यातसँगै आयातमा पनि धेरै रकम बाहिरिने गरेको छ । विभागको तथ्याङ्क हेर्दा प्राय वार्षिक ५ करोडदेखि ११ करोड रुपैयाँ कफीका लागि अन्तराष्ट्रिय बजारमा पुग्ने गर्छ ।
पछिल्ला केही वर्षयता कफीको आयात बढेको छ । आर्थिक वर्ष २०७१ -०७२ मा २ करोड ४९ लाख ९१ हजार रुपैयाँको ६३ मेट्रिक टन कफी आयात भएको थियो ।
तथ्याङ्कअनुसार ०७२ -०७३ मा ५ करोड ५५ लाख, ०७३ -०७४ मा ५ करोड ४० लाख, ०७४ -०७५ मा ६ करोड ५८ लाख, ०७५ -०७६ मा ९ करोड ८० लाख रुपैयाँको कफी आयात भएको छ ।
त्यस्तै आर्थिक वर्ष ०७६ -०७७ मा ११ करोड ८८ लाखको कफी आयात भएको छ भने गत आर्थिक वर्ष १० करोड ७६ लाख रुपैयाँको कफी आयात भएको तथ्याङकमा उल्लेख छ ।

यस्तो छ कफी खेतीको इतिहास

नेपालमा वि.स. १९९५ मा गुल्मी आँपचौर निवासी हीरा गिरीले बर्माबाट बीउ ल्याएर कफी खेतीको सुरुवात गरेका थिए ।
यसैक्रममा पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाची, कास्की, लमजुङ, तनहुँ, गोरखा, ललितपुर, धादिङ, सिन्धुपाल्चोक, काभ्रे आदि जिल्लाहरुमा कफी खेतीको विस्तार हुँदै गएको पाइन्छ ।
भौगोलिक हावापानी र माटोका हिसाबले नेपालका मध्य पहाडी जिल्लामा अराबिका कफीको राम्रो सम्भावना देखिएसँगै पूर्वका इलाम, झापा, संखुवासभा, पाँचथर, धनकुटा, भोजपुर, ओखलढुंगा लगायतका जिल्लामा व्यावसायिक कफी खेतीको सुरुवात भएको देखिन्छ ।
नेपालमा कफी उत्पादनको सम्भावना धेरै छ । तर उत्पादन निकै कम छ ।
यसमा अराबिका वर्णका टिपिका र बर्बन जातका कफी मात्र उत्पादन भइरहेको छ । जसकारण उत्पादकत्व कम भएको पाइन्छ । अन्य जातका कफी लगाउने हो भने उत्पादन बढ्न सक्ने देखिन्छ ।

बुधबार, ०१ मंसिर, २०७८, बिहानको ०८:०३ बजे

सम्बन्धित खवर