यसपालि ताप्लेजुङका सुन्तला गुलीया छैनन्

ताप्लेजुङ : ‘ कम फलेको छ, फलेको दाना पनि पाकेको छैन,’ मेदिबुङका किसान चन्द्रप्रसाद बरालले भने, ‘पाक्ने क्रम प्रत्येक वर्ष पछि सर्दै गएको छ। पहिलाको जस्तो सम्झेर अस्ति नै ठेकदारहरू आएका थिए, सुन्तला पाकेको नदेखेपछि त्यसै फर्किए।’

सामान्यतः यस क्षेत्रमा कात्तिकदेखि नै खानयोग्य हुने सुन्तला मंसिर पहिलो साता पाकेर बजारमा पुग्थ्यो। कौशिलाका अनुसार आफूले खाने, साथीभाइ, इष्टमित्र र आफन्तलाई दिने बाहेकको सुन्तला राखेर बिक्री भइसक्थ्यो। यो वर्ष पनि सुन्तला किन्नेको दुई/तीन वटा टोली आइसक्यो। तर, पाकिनसकेकाले बिक्री गर्न योग्य भएको छैन। मौसम परिवर्तनका कारण ढिलो पाकेको हुन सक्ने अनुमान कौशिला र चन्द्रप्रसादको छ।

‘पुराना बोटमा फल्न छोडेको छ। नयाँ बोटमा फलेको छ तर पाक्न ढिलो भएको छ,’ चन्द्रप्रसादले भने, ‘बोटको कारण हो या मौसमको पत्ता लगाउन सकेका छैनौं।’ नयाँ लगाएका बोटहरुले समेत एक/दुई वर्ष उत्पादन दिएर बोटै मर्न थालेका छन्। सुन्तला बोटैमा राखे चैत महिनासम्म बिग्रदैन। समयमै नपाक्दा किसानलाई बिक्रीको समस्या छ। कोल्डस्टोर नभएकाले टिपेर गोदाम गर्न सक्ने अवस्था छैन।

फुङलिङ नगरपालिका–३ मेदिबुङका कौशिला सिटौलाको बगानको सुन्तला बगान पारिलो ठाउँमा रहेकाले एक दशकअघिसम्म मंसिर अन्तिम साता र ढिलोमा पनि पुस पहिलो सातामा रित्तिइसक्थ्यो। तर अहिले भने यहाँको सुन्तला बोटमा हरियो नै छ।

सिटौलाले भनिन्, ‘कीराले खाएर बिग्रिएको मात्रै रातो देखिन्छ, अरु हरियै छ। यसपालीका सुन्तला गुलिया पनि छैनन्।’ विगतका वर्षजस्तो भए यति बेला पर्याप्त मात्रामा बजारमा सुन्तला निस्कनुपर्ने हो। यो वर्ष अहिलेसम्म सुन्तला निस्किएको छैन।

फल झर्ने समस्या

ताप्लेजुङमा सुन्तला ढिलो पाक्ने मात्र समस्या होइन। फलेका दाना पनि बोटबाट भटाभट झर्न थालेको छ। पाक्ने बेला भएका सुन्तला भटाभट झर्न थालेपछि किसानहरु चिन्तित छन्। दानामा औँशा परेर सुन्तलाको बोटै खाली हुन थालेको किसानहरु बताउँछन्।

‘एक्कासी सुन्तला पहेँलो हुने अनि झर्ने गर्छ,’ कौशिलाले भनिन् ‘दैनिक पाँच डोकासम्म सुन्तला भूइँभरि हुन्छ। सवै टिपेर फ्याँक्ने गरेका छौँ।’

फल पनि ढिलो पाक्न थालेको समयमा बोटबाटै सुन्तला झर्दा समस्यामा परेको किसान मानबहादुर लिम्बू बताउँछन्। सुन्तलामा औँशा पर्ने समस्या उनको मात्रै होइन। बिक्रीका लागि बजारको बन्दोबस्ती गर्दै गरेका किसान बोटबाटै सुन्तला झर्न थालेपछि समस्यामा परेका छन्।

फुङलिङ नगरपालिकाका अधिकांश ठाउँमा सुन्तला झर्ने समस्या व्याप्त रहेको छ। ‘समय नै यस्तै हो कि माटो पो बिग्रेको हो, सुन्तला पनि झरेरै सकिन लाग्यो,’ मानबहादुरले भने, ‘न सबै फ्याँक्नु न के गर्नु, हाम्रो आयश्रोत भनेको यो नै हो। तर सबै काम लागेनन्।’

यस्तै किराका कारण सुन्तला, जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायत फलफूलमा संक्रमण फैलिएको छ। यता वडा कार्यालयले भने आगामी वर्षमा भने विज्ञहरुसँग परामर्श लिएर सुन्तला कृषकको समस्या समाधान गर्ने फुङलिङ–३ का वडाध्यक्ष युवराज बरालले बताए। चालु आर्थिक वर्षमा समेत वडाको बजेटबाट सुन्तला पकेट क्षेत्रमा दुई लाख रुपैयाँ विनियोजन गरी सुन्तला खेती विस्तारका लागि खर्च गरेको वडाध्यक्ष बरालले बताए।

बिहिबार, ०२ पुष, २०७७, बिहानको ०९:११ बजे

सम्बन्धित खवर