विराटनगरमा पहिलोपटक आदिवासी चलचित्र महोत्सव हुँदै

  विराटनगर / मोरङको विराटनगरमा आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ। संघीय राजधानीबाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते महोत्सव हुन लागेको हो।
दुई दिनसम्म चल्ने महोत्सवअन्तर्गत प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरु प्रदर्शन हुने कार्यक्रम छ। आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो। समितिले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो।
आदिवासी जनजातिहरुको भाषा, कला, संस्कृति र संस्कारहरुको संरक्षण तथा पर्यटन प्रवर्द्धनको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दीप नारायण राजवंशीले बताए। महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बु, भुजेल, खवास र शेर्पा भाषाको चलचित्र प्रदर्शन गरिनेछ। प्रदर्शन गरिएका चलचित्रहरुमध्येबाट उत्कृष्ट चलचित्रलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिने जनाइएको छ। त्यसका लागि विभिन्न भाषाभाषीका निर्देशक सम्मिलित एक निर्णायक समिति समेत गठन गरिने आयोजक समितिले जनाएको छ।
महोत्सव उदघाटनको दिन बिहान ९ बजे आदिवासी जनजातिको पहिचान झल्किने विभिन्न समुदाय सम्मिलित झाँकी निकालिने कार्यक्रम छ। सोही दिन बिहान ११ बजे प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले महोत्वसको उदघाटन गर्ने कार्यक्रम छ भने पुस १० गते विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीबाट महोत्सव समापन हुनेछ।

शुक्रबार, ०२ पुष, २०७८, दिउँसोको ०१:३९ बजे

सम्बन्धित खवर