अस्पतालमै डाक्टर कुटिएपछि..

मोरङ /   कोरोनाको महाँमारीका बेला काम गर्ने, चौविसै घण्टा खट्ने डाक्टरलाई सम्मान गरेका र बधाई दिएका समाचार तपाईले सुन्नु भएकै होला तर संकट र असहज परिस्थितिका बेला खटिने डाक्टरले कुटाइ खाएको समाचार सुन्दा अनौठो लाग्न सक्छ । तर मोरङको एक अस्पतालमा यस्तै घटना घटेको छ । जहाँ डाक्टरले कुटाई खाए ।

मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल कलेजका डाक्टर र स्वास्थ्यकर्मीमाथि एक समूहले कुटपिट गरेको छ । अस्पतालको आकस्मिक कक्षमा छिरेर सोमबार राति डाक्टर सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि कुटपिट भएको हो ।

डाक्टरमाथि आक्रमण भएपछि आकस्मिक कक्षको उपचारसमेत केहीबेर प्रभावित बनेको थियो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले आकस्मिक कक्षमा छिरेर डाक्टरमाथि आक्रमण गरेको हो ।

दुर्घटनामा परेर घाइते भएका विरामीको उपचार गरिरहेका बेला रेग्मी र बस्नेतमाथि अन्धाधुन्द आक्रमण भएको थियो । कुटपिटबाट रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।उनीहरुउपचारमा रहेको अस्पतालका कर्मचारी सुनील देवले जानकारी दिए ।

घटना हुनुभन्दा केही बेरअघि मात्रै बूढीगङ्गा–२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठलाई उपचारका लागि परिवारका सदस्य र आफन्तले अस्पताल ल्याएका थिए । उनको उपचारमा ढिलाई भएको भन्दै आक्रोसित बनेको समूहले चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै आक्रमण गरेको हो ।

मधुमेहको पुरानै समस्या रहेकी वृद्धालाई स्वास्थ्य थप बिग्रिएको भन्दै उपचारका लागि ल्याइएको थियो । आक्रमणमा संलग्न समूहले अस्पतालका सुरक्षा गार्डसँग पनि विवाद गरेको प्रहरीको भनाइ छ । त्यहाँबाट आकस्मिक कक्षमा छिरेको समूहले दुर्घटनाका गम्भीर घाइतेको उपचारमा रहेका चिकित्सकमाथि आक्रमण गरेको हो ।

सामान्य अवस्थाकी वृद्धाको उपचारमा ५ मिनेट ढिलो हुँदा चिकित्सक र स्वास्थ्यकर्मीले आक्रमण भएको हो । अस्पतालले बिरामीको उपचारमा खटिनेहरुमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।

प्रहरीले घटनामा संलग्न निश्चल र अनिललाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालेको जनाएको छ । घटनामा संलग्न केही व्यक्ति फरार रहेका कारण खोजी तीव्र पारिएको छ ।

मङ्गलबार, ०४ जेठ, २०७८, दिउँसोको ०१:४३ बजे

सम्बन्धित खवर