बाबुराम-उपेन्द्रको बोल्ड निर्णयः ओलीका ९ मन्त्री पार्टीबाट निष्काशन, बैठकका छ निर्णय हेर्नुहोस्

जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी ९ मन्त्रीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्य उपस्थित बैठकले उनीहरूलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।

जसपाले यसअघि उनीहरुलाई ७ दिने स्पष्टीकरण सोधेको थियो। पार्टीबाट निकालिनेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका शरत्‌सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, खानेपानी मन्त्री अनिल झा, संस्कृति, पर्यटन तथ नगरिक उड्यन मन्त्री उमाशंकर अरगरिया, खेलकुद मन्त्री एकवाल मियाँ छन्।

यस्तै, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री चन्दा चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल प्रसाद श्रीवास्तव, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरी र महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङ पनि जसपाबाट निकालिएका छन्।

यसअघि नै जसपाको बाबुराम-उपेन्द्र पक्षले ओली सरकारका पक्षमा उभिनेहरुलाई निष्काशन गर्ने निर्णय गरिसकेको भए पनि ९ जना मन्त्रीलाई ७ दिने स्पष्टीकरणको मौका दिएको थियो।

यसअघि बाबुराम-उपेन्द्र पक्षले स्पष्टीकरणको जवाफ दिन इन्कार गरेको भन्दै अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो तथा नेताहरु लक्षमणलाल कर्ण र सर्बेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्काशन गरिसकेको छ। जसपाको कार्यकारिणी समितिमा बाबुराम-उपेन्द्र पक्षको बहुमत छ। ५१ सदस्यीय कार्यकारिणी समितिमा बिहीबारको बैठकमा ३० जना उपस्थित भएका थिए।

आधिकारिकता माग्न फेरि सशरीर आयोग जाने तयारी
यसैबीच यादवको पक्षले पार्टीको आधिकारिकता लिन निर्वाचन आयोगमा निवेदन दिने भएको छ । कार्यकारिणी समितिको बैठकले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी प्रस्तुत गर्नेलगायत महत्त्पूर्ण ६ निर्णय गरेको हो ।

बैठकले गरेका ६ निर्णय यी हुन् :

१. पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी प्रस्तुत गर्ने।

२. लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने

३. चुरे दोहन गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गर्ने

४. प्रतिगमनविरुद्ध र अग्रगमनका पक्षमा सम्पूर्ण पार्टी पंक्ति लाग्न आग्रह गर्ने

५. बाढी पहिरोमा परेकाको उद्धार र तिनलाई राहतका लागि खट्न नेता/कार्यकर्तालाई निर्देशन

६. बाढी पहिरोपीडितको उद्धार तथा तिनलाई राहत व्यवस्था गर्न सरकारसँग आग्रह गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गत पुस ५ गते प्रतिनिधि सभा विघटन गराएयता जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षमा विभाजन भएको हो। ओलीले गत जेठ ७ गते दोस्रोपटक संसद् विघटन गराएयता यो पार्टीका यादव पक्ष विपक्षी गठबन्धनमा आबद्ध भई सरकारको विरोध गरिरहेको छ भने ठाकुर पक्ष सरकारमा सहभागी भएको छ। यस क्रममा दुवै पक्षले अध्यक्षसहितका नेताहरूलाई पार्टीबाट निष्कासनै गरेको निर्णय गरेका छन्। तर निर्वाचन आयोगले दुवैका निर्णय अवैधानिक भनेको छ।

शुक्रबार, ०४ असार, २०७८, बिहानको ०९:२९ बजे

सम्बन्धित खवर