मोरङका तीन स्थानीय निकायले गरे धिमाल जातिलाई नगरको पहिलो नागरिक भएको घोषणा

बैकल्पिक खवर

नेपालको पूर्वी तराई क्षेत्रमा आदिम कालदेखि बसोबास गर्दै आइरहेका आदिवासी धिमाल समुदायमा यतिबेला थोरै भएपनि खुसियाली छाएको छ । स्थानिय सरकारको गठन र संचालनपछि आदिम कालदेखि यो क्षेत्रमा बसोबास गर्दै आइरहेका धिमाल जातिहरुको पहिचान विषयलाई समेट्न थालेपछि उनीहरुमा थोरै मात्रामा भएपनि खुसियाली छाउन थालेको छ ।                                                         

धिमालहरु लामो समयदेखी आफ्नो साँस्कृतिक ,भाषिक तथा जातिय पहिचानको लागी आवाज उठाउनदै आएका छन । पछिल्लो समय धिमाल बाहुल्य क्षेत्र रहेका स्थानिय निकायहरुले धिमाल जातीलाई नगरको पहिलो जातिका रूपमा घोषणा गर्न थालेका छन ।मोरङको उर्लाबारी नगरपालिकाले आफ्नी हालै सम्पन्न सातौँ सभाबाट धिमाल समुदाय नगरको पहिलो जाती भएको घोषणा गर्यो । यो संगै मोरङमा धिमालहरु लाई आफ्नो पाकिकाको पहिलो जाती घोषणा स्थानीय तहको संख्या ३ पुगेको छ । पथरी र बेलबारी नगरपालिकाले पहिला नै धिमाल जाती नै आफ्नो नगरपालिकाको पहिलो जाती भएको घोषणा गरिसकेका छन । झापाको दमक नगरपालिकाले भने ३ बर्ष अघि नै धिमाल जातीलाई नगरको पहिलो जातीको घोषणा गरेको थियो।             

उर्लाबारी नगरपालिकाले धिमाल नगरको पहिलो जातीको भएको घोषणा गरेलगत्तै शुक्रबार धिमाल जाति विकास केन्द्रको अगुवाईमा उर्लाबारी चोकमा दीप प्रज्ज्वलन समेत भएको थियो । असार ३१ गतेकोको सातौँ नगर सभाले धिमाल समुदायलाई पहिलो जाति घोषणा गरेको केन्द्रका महासचिव मातृका धिमालले जनाए । ‘नगरपालिकाको सातौँ सभाले धिमाल समुदायलाई पहिलो जाति घोषणा गरेको छ,’ उनले भने, ‘स्थानीय सरकारले ढिलै भएपनि यति गरेकोप्रति खुसी छौँ । तर यतिले मात्रै पुग्दैन । हाम्रो लडाइँ भनेको स्वायत्तता नै हो ।’ उनले झापा, मोरङ र सुनसरी धिमाल स्वायत्त क्षेत्रका रूपमा कायम हुनपर्ने आफूहरूको माग रहेको बताए । साथै धिमालले अब धिमाल जातीलाई नगरपालिकाले थप कार्यक्रम मार्फत समेट्दै लैजानुपर्ने बताए ।                                             

नगरपालिकाका मेयर खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारी समेत घोषाण पश्चातको कार्यक्रममा उपस्थित भएर ऐक्यबद्धता जनाएका थिए । मेयर फागोले आदिवासी धिमाल समुदायको प्राचीन कालदेखिको अस्तित्वलाई सम्मान गर्न पहिलो समुदाय भनेर घोषणा गरिएको बताए । कार्यक्रममा केन्द्रका सहअध्यक्ष कृष्ण बहादुर धिमालले नगरपालिकाको कार्यको प्रशंसा गर्दै आभार व्यक्त गरेको संगठन विभाग प्रमुख अजित कुमार धिमालले बताए । उनले धिजाविकेको केन्द्र र नगर समितिले संयुक्त रूपमा पहिलो नागरिक घोषणा गर्न माग गरेको जानकारी दिए । ‘अब समुदायको सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक स्तर उकास्न स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्छ,’ उनले थपे ।                     

मधेशका लिम्बु समुदाय भनेर चिनिने धिमाल समुदायलाई झापाको दमक सहित बेलबारी र पथरी शनिश्चरे नगरपालिकाले पहिलो नागरिक घोषणा गरेको महासचिव मातृका धिमालले बताए । सन् २०११ को राष्ट्रिय जनगणनाअनुसार धिमाल समुदायको जनसंख्या १९,५३७ रहेको जनाएको छ । तर, धिमाल जाति विकास केन्द्रले सो तथ्यांकलाई अस्वीकार गर्दै जनसंख्या ४०,००० हाराहारीमा रहेको बताउँदै आएको छ ।

आइतबार, ०३ साउन, २०७८, बिहानको ०९:३७ बजे

सम्बन्धित खवर