मोरङ अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

विराटनगर / मोरङ जिल्ला अदालतमा अन्य समयका भन्दा धेरै मुद्दा दर्ता भएका छन्। तीमध्ये सम्बन्ध विच्छेद र लागुऔषधका मुद्दा दर्ताको संख्या धेरै रहेको छ।

चालू आर्थिक वर्ष २०७८।७९ मा ४ हजार ६४१ वटा मुद्दा दर्ता भएको अदालतको अभिलेखमा उल्लेख छ। जुन अहिलेसम्मको इतिहासमा सबैभन्दा धेरै मुद्दा दर्ता भएको मोरङ अदालतका स्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले बताए।

‘अहिलेसम्मै इतिहासमा सबैभन्दा बढी मुद्दा मोरङ अदालतमा बढी दर्ता भएको हो’, उनले भने, ‘दर्ता भएकामध्ये सबैभन्दा बढी फौजदारी कसुरमा पनि सम्बन्ध विच्छेदको बढी दर्ता भएको छ।’

कति मुद्दा फर्स्योट भए र कति बाँकी ?
मोरङ अदालतले चालू आर्थिक वर्षमा लक्ष्य लिएको भन्दा ३७९ वटा कम मुद्दा फैसला गरेको छ। चालू आवमा अदालतले ५ हजार ६१९ वटा मुद्दा फर्स्योट गर्ने लक्ष्य लिएको थियो तर चालू आर्थिक वर्षको असार ३१ गतेसम्म ५ हजार २४० वटा मात्र मुद्दा फर्स्योट भएको मोरङ अदालतका स्रेस्तेदार राणाले जानकारी दिए।

मोरङ अदालतमा अहिलेसम्मको सबैभन्दा बढी सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको उनले बताए। चालू आर्थिक वर्षमा ८ हजार ६४१ वटा मुद्दा दर्ता भए। अदालतले ४ हजार १५८ वटा मुद्दा दर्ता हुने लक्ष्य लिएको थियो। जिम्मेवारी सरेर आएका ३ हजार ५४० र चालू आर्थिक वर्षमा नयाँ दर्ता भएका ५ हजार १०१ मुद्दा दर्ता भएको अदालतको अभिलेखमा देखिन्छ।

मोरङ अदालतमा अघिल्लो आर्थिक वर्ष ०७७।७८ मा ६ हजार ४२५ वटा मात्र मुद्दा दर्ता भएका थिए। यसअघि आर्थिक वर्ष ०६७।७७ मा ५ हजार ४१ वटा मुद्दा दर्ता भएको अदालतको अभिलेखमा देखिन्छ। आर्थिक वर्ष २०७५।६७ मा ६ हजार ५८१ मुद्दा दर्ता भएका थिए।

चालू आर्थिक वर्षमा मुद्दा दर्ता भएकामध्ये सम्बन्ध विच्छेदका १ हजार ७९४ वटा दर्ता भए। तीमध्ये १ हजार ३२६ वटा मुद्दा फर्स्योट भएको स्रेस्तेदार राणाले जानकारी दिए। सम्बन्ध विच्छेदका ४६८ मुद्दा फैसला हुन बाँकी छ।

यस्तै करणी सम्बन्धी ३७२ वटा मुद्दा दर्ता भएकामध्ये २५९ वटा फर्स्योट भएको छ। ज्यान सम्बन्धी १९४ मुद्दा दर्ता भएकामध्ये १२४ फर्स्योट भएको छ भने ७० वटा मुद्दा विचाराधीनमा रहेको छ। यस्तै लागूऔषध मुद्दा ४७९ वटा दर्ता भएकामध्ये ३७० वटा फर्स्योट भए भने १०९ बाँकी रहेको अदालतको अभिलेखमा देखिन्छ।

चालू आर्थिक वर्ष २०७७।७८ बाट ३ हजार ५४० वटा मुद्दा लगत सरेर आएको थियो। अदालतले २७ करोड ३३ लाख ८१ हजार ६६८ रुपैयाँ जरिवाना असुली गरेको छ।

सोमबार, ०२ साउन, २०७९, बिहानको ०८:०८ बजे

सम्बन्धित खवर