बजेट नहुँदा पेट्रोल खानीको काम अघि बढेन

 मोरङ/ नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहेपनि यकिन गर्न नसक्दा खानीहरु बेवारिसे बनेका छन् । पेट्रोलियम पदार्थमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी छन् । सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ । तर कुनैपनि ठाउँमा सरकारले गहन अनुसन्धान र अध्ययन गर्न नसक्दा सञ्चालन र सदुपयोग हुन सकेका छैनन् । सरकारले सञ्चालनको लागि चासो र उत्सुकता नदेखाउँदा आफ्नै देशमा भएको पेट्रोल खेर गइरहेको छ ।
मोरङको बेलबारी नगरपालीका वडा नम्बर ८ बाहुनीमा रहेको खानीको अवस्था पनि त्यस्तै छ ।

सरकारले चासो नदिँदा पेट्रोल खानी जिर्ण बन्दै गएको छ । अन्वेषण गर्न बनेका भवन भग्नावशेष भइसकेको छ भने अन्वेषण गर्न ल्याएको कच्चा पदार्थहरु नष्ट भएका छन् । सरकारले बेलाबेला आएर हेर्ने बाहेक अन्य काम गर्न नसकेको बताउँछन् स्थानीय कुलबहादर भण्डारी । सरकारले पूर्ण चासो दिएर काम गर्ने हो भने पेट्रोलका लागि अहिलेको अवस्थाको सामना गर्नु नपर्ने उनी बताउँछन् ।

वि.सं. २०४५ सालमा सरकारको सहयोगमा निजी विदेशी कम्पनीले मोरङको बाहुनीमा पेट्रोल खानीको अन्वेषण गरेपनि सरकारले उक्त कार्यलाई निरन्तरता दिन नसकेको गुनासो गर्छन्, स्थानीय यामप्रसाद तिम्सिना । उक्त कम्पनीले ६ महिना लगाएर साढे तीन किलोमिटरसम्म जमिन छेडेर अध्ययन गरेको थियो । ३४÷३५ वर्ष बितिसक्दा पनि उक्त स्थानमा सरकारले कुनै काम नगरेको उनको ग’नासो छ ।

२०४५ सालमा चाइनीज कम्पनीले आएर अनुसन्धान पूरा गरी नेपाल सरकारलाई जिम्मा लगाएको खानीका पाले कपिलमणी रेग्मीले बताए । अहिले खानी आसपासको क्षेत्र गौचरणमा सिमित भएको उनको भनाइ छ । सरकारको बेवास्थाका कारण हाल उक्त स्थान जंगलमा परिणत भएको छ ।

सरकारको मुख्य समस्या पेट्रोलियम पदार्थको खानी स्वदेशमा नै रहेपनि आफूसंग भएका खानी सञ्चालन गर्न सकेको छैन । बेलबारी ८ बाहुनीमा रहेको व्यक्तिको ४.९६९ वर्गमिटर जमिन खानी तथा भूगर्भ विभागले किनेको छ । अहिले खानी सञ्चालनका लागि विदेशबाट मगाइएका सामानहरु बेवारिसे भइ खेर गएको स्थानीयको भनाइ छ ।

सोमबार, ०२ साउन, २०७९, बिहानको ०८:५० बजे

सम्बन्धित खवर