एक वर्षमा ४५ हजार महिला श्रमिक बिदेसिए

कोभिड संक्रमणका कारण नेपालमा रोजगारीका क्षेत्रमा संकुचन आएपछि काम खोज्दै विदेशिने महिलाको संख्या उच्च देखिएको छ । सरकारले वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रुपमा जाने महिलाको श्रमस्वीकृति रोक्का गरे पनि विगत ५ वर्षको तुलनामा आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा बढी महिलाले विदेश जान श्रमस्वीकृति लिएका छन् ।
२०७४ सालमा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु श्रमिकका रुपमा जाने महिला असुरक्षित रहेको जनाउँदै रोक्न सरकारलाई निर्देशन दिएपछि विदेश जाने महिलाको संख्या घट्दै गएको थियो । कोभिड संक्रमणअघि आर्थिक वर्ष २०७४/०७५ मा ३२ हजार ९६४ महिलाले विदेश जान श्रमस्वीकृति लिएकोमा गत आवमा सो संख्या ४३ हजार ६९३ पुगेको पाइएको छ । वैदेशिक रोजगार विभागले हालै सार्वजनिक गरेको गत वर्षको वार्षिक प्रगति प्रतिवेदनमा महिलासहित समग्र श्रमिकले लिने स्वीकृति बढेको देखिएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले गत आवमा यूएई, कतार, कुवेत, साइप्रस र मलेसिया जस्ता श्रम गन्तव्यमा नेपाली महिला श्रमिक रोजगारका लागि जाने गरेको बताए ।
वैदेशिक रोजगारीका लागि ११० वटा देश खुला गरिएको भए पनि नेपाली महिलाका लागि मलेसिया, कतार, साउदी अरेबिया, यूएई र कुवेत नै संस्थागत वैदेशिक रोजगारीका मुख्य गन्तव्य रहेको पाइएको छ । त्यसमा पनि यूएई र कतारले मात्रै ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको पाइन्छ । तर संस्थागत (मेनपावर) बाट वैदेशिक रोजगारीमा जानेमध्ये महिलाको अनुपात ३ प्रतिशतभन्दा कम छ ।
वैदेशिक रोजगारीमा जाने कुल संख्या हेर्दा अधिकांश तराईका जिल्लाहरू र त्यसमा पनि मधेश प्रदेशको बाहुल्यता भए पनि महिला श्रम आप्रवासनको प्रकृति भने फरक रहेको छ । वैदेशिक रोजगारीमा जाने महिलाहरूको कुल संख्याको विश्लेषण गर्दा केही पहाडबाट बसाइँ सरेर मिश्रित समुदायको बसाइ भएका तराईका जिल्लाहरू बाहेक बागमती प्रदेशका पहाडी जिल्लाहरूको बाहुल्यता छ । यसले मिश्रित समाज वा जनजाति बाहुल्य क्षेत्रका महिलाहरू नै वैदेशिक रोजगारीमा गएको अवस्था देखिन्छ । जिल्लागत हिसाबले सबैभन्दा बढी वैदेशिक रोजगारीमा झापा, सिन्धुपाल्चोक, मोरङ र काठमाडांैका महिला गएका छन् ।
सीप र दक्षताको तुलना गर्दा वैदेशिक रोजगारीमा जाने पुरुषको तुलनामा उच्च दक्ष र पेशाकर्मी महिलाको प्रतिशत भने राम्रो देखिएको छ । वैदेशिक रोजगारीमा उच्च दक्ष र पेशाकर्मी पुरुष क्रमशः ०.०५ र ०.११ प्रतिशत रहेकोमा महिलाको हिस्सा भने उच्च दक्षमा ०.०६ र पेशाकर्मीका रुपमा ०.३० प्रतिशत रहेको पाइएको छ । अर्धदक्ष, दक्ष र अदक्षमा भने पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको छ । अन्य क्षेत्रको तुलनामा घरेलु काममा गएका महिलाहरुले अत्यधिक कार्य चाप, मानसिक पीडा, शारीरिक हिंसा, कुटपिट, अमर्यादित काम र व्यवहार, तलब नपाउने तथा यौनजन्य दुव्र्यवहार जस्ता समस्या रहेका छन् ।
नेपाल श्रम आप्रवासन प्रतिवेदनमा महिला श्रमिकमध्ये संयुक्त अरब इमिरेट्स सबैभन्दा बढी छनौटको गन्तव्य मुलुक रहेको उल्लेख छ । कुल महिला श्रमिकको ५० प्रतिशतभन्दा बढी पुनः श्रम स्वीकृति संयुक्त अरब इमिरेट्सको लागि गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । महिला श्रमिकहरु विशेषगरी सरसफाइ, आतिथ्य र हेरचाह तथा स्याहारसुसार जस्ता क्षेत्रमा केन्द्रित छन् ।

सोमबार, ०२ साउन, २०७९, बिहानको ०८:५४ बजे

सम्बन्धित खवर