किरात प्रदेशको माग राख्दै मुख्यमन्त्री कार्यालय घेराउ

  विराटनगर / प्रदेश नं १ को किरात प्रदेश नामकरण गर्नुपर्ने माग राख्दै विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय घेराउ गरेका छन् ।

प्रदेश नं १ को प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामकरण गर्ने तयारी गरेको सन्दर्भमा किरात राई यायोख्खाले किरात प्रदेशको माग राख्दै विराटनगरमा सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय घेराउ गरेको हो ।

सुनसरीको धरानबाट सुरु भएको मोटरसाइकल र्‍याली ,इटहरी, दुहबी हुँदै विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई किरात प्रदेश नामकरण गरिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएपछि उनीहरू प्रदेशसभाको कार्यालय पनि पुगेका थिए । प्रदेशको नामकरणको विषय पेचिलो बन्दै गइरहेको छ । प्रदेश सभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नाम समेत टुङ्गाउन सकेको छैन ।

घेराउ कार्यक्रममा १४ जिल्लाकै मानिस भेला भएको आयोजकले जानकारी दिएका छन् । उनीहरूले पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका छन् ।

पहिचान र सभ्यताको आधारमा प्रदेशको नामाकारण किरात प्रदेश राखिनुपर्ने उनीहरूको माग रहेको छ । यसअघि पनि किरात राई यायोख्खाले किरात प्रदेश नामकरण गरिनुपर्ने माग राख्दै मोटरसाइकल र्‍याली, हस्ताक्षरलगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

नामकरणका लागि घनिभूत छलफलमा रहेका राजनीतिक दलले पहिचान र सभ्यताका विषयमा कुनै चासो नराखेको र सुन्नै नचाहेको उनीहरूको भनाइ छ । विशेष गरी नेपाली कांग्रेस र नेकपा ९एमाले० कोसी, सगरमाथा, सप्तकोसीलगायत नामकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा (माओवादी केन्द्र० ) एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लिम्बुवान पक्षधर पार्टीहरू भने पहिचानकै आधारमा हुनुपर्ने तर्क गरिरहेका छन् ।

किरात राई यायोख्खाका अध्यक्ष दिवस राईले सभ्यता र पहिचानलाई ख्याल गरेर प्रदेशको नामाकारण किरात प्रदेश राख्नुपर्ने बताए । उनले पहिचानको पक्षमा स्पष्ट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसमा असहमति राख्नुपर्ने कुनै कारण नभएको बताए । समग्र किराँतवासीको भावनालाई कुल्चेर अगाडि बढ्न सहज नभएको उनको भनाइ छ ।

किरात प्रदेश नामकरण गर्न जस्तोसुकै मूल्य चुकाउन तयार छु : मुख्यमन्त्री

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले किरात प्रदेश नामकरण गरिनुपर्ने कुराको समर्थन गरेका छन् । किरात राई यायोख्खाले सोमबार बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

आफूले सार्वजनिक रूपमा किरात प्रदेश हुनुपर्ने माग राख्दै आएको मुख्यमन्त्री राईले बताए । ‘मैले भन्दै आएको छु, पहिचानको आधारमा प्रदेशको नामकरण गरिनुपर्दछ,’ मुख्यमन्त्री राईले भने, ‘मैले खुल्ला रूपमा भन्दै आएको छु । । प्रदेशको नाम पहिचानको आधारमा किरात प्रदेश हुनुपर्दछ । प्रदेशको नामकरणको लागि मतदान गर्दा मैले जुनसुकै मूल्य चुकाएर भए पनि किरात प्रदेश गर्नेछु ।’मुख्यमन्त्री राईले भने, ‘किरात भएको नाताले मैले यसो भनेको होइन । प्रदेश १ पहिचान र सभ्यता जोडिएको प्रदेश हो । त्यसैले पनि प्रदेशको नामकरण किरात प्रदेश हुनुपर्ने दसी भएकोले किरातको पक्षमा बोल्दै आएको छु ।’

माओवादीले जनयुद्धको बेलादेखि पहिचानको आधारमा नामकरण गरिनुपर्ने एजेन्डा रहेको उनले सुनाए । ‘माओवादीले त अभ्यास नै गरेको थियो । चुनावको बेलामा पनि गरेको हो । एमालेले पनि चुनावमा जनता समक्ष जाने क्रममा बहु पहिचानको आधारमा राख्ने कुरा गरेको छ । पार्टीको महाधिवेशन र दस्ताबेजमा पनि एकीकृत सामावादीले पनि पहिचानको आधारमा माग राखेको छ,’ मुख्यमन्त्री राईले भने, ‘त्यसैले ढिलो नगरी पहिचानको आधारमा प्रदेशको नामकरण गरिनुपर्दछ ।’ यसरी जनतालाई आश्वासन मात्र दिएर पहिचानको आधारमा भाग्न नहुने उनले बताए ।

सोमबार, ०२ साउन, २०७९, साँझको ०६:५५ बजे

सम्बन्धित खवर