९५ केन्द्रीय कमिटी भएको एमाले समाजवादी दर्ता : नेपाल अध्यक्ष, खनाल वरिष्ठ नेता सहित  पार्टीमा ३१ जना सांसद

काठमाडौं, भदौ २,  निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दर्ता भएको छ । पार्टीमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल वरिष्ठ नेता सहित ९५ केन्द्रीय सदस्य बनाइएको छ । एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुबै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
विवाद भएकोले चुनाव चिन्ह तोकिएको छैन भने कलम चिन्ह भएको पार्टीसँग एकता भएकोले सो चिन्ह पनि हुनसक्ने पाण्डेले बताए । दल दर्ताको प्रमाणपत्र पाएपछि देशव्यापी भेला गर्ने, क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाएर अन्य कम्युनिष्ट पार्टीसँग मिलेर जाने उनको भनाई छ ।

एमालेमा अल्मलिएर रहेकाहरुलाई एमाले समाजवादी पार्टीमा समावेश हुन समेत पाण्डेले आग्रह गरे । उनले केपी शर्मा ओली सुध्रिएर कम्युनिष्ट आन्दोलन अघि नबढ्ने उल्लेख गरे ।

माधव नेपालको पार्टीमा ३१ जना सांसद
माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) पार्टीमा ३१ जना सांसद रहेका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताए । त्यस्तै उनले साविक एमालेका ५८ जना केन्द्रीय सदस्यसहित ९५ जनाको नयाँ पार्टीको केन्द्रीय समिति रहेको जानकारी दिए । नेता नेपालको अध्यक्षतामा गठन भएको नयाँ पार्टीमा नेता झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् ।
दल दर्ताको निवेदन दिएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले नयाँ पार्टीलाई निर्वाचन आयोगले प्रमाणपत्र दिएपछि राष्ट्रिय सम्मेलन गर्ने र नयाँ क्रान्तिकारी पार्टीका रुपमा अघि बढाउने बताए । त्यस्तै उनले नेकपा एमालेमा रहेका नेताहरुलाई पनि चाँडो नयाँ पार्टीमा आउन आग्रह गरे । ‘एमालेमा रहेका साथीहरुसँग रहेका साथीहरुसँग हाम्रो व्यवहार शत्रुतापूर्ण रहँदैन । अल्मलिएर बसेका साथीहरुलाई आउन आग्रह गर्छु’ पाण्डेले भने, ‘अरु कम्युनिस्ट पार्टीसँग पछि पार्टी एकता हुनसक्छ तर ओलीसँग पार्टी एकता हुँदैन ।’

बुधबार, ०२ भदौ, २०७८, साँझको ०५:१५ बजे

सम्बन्धित खवर