वडा अध्यक्षले नै लगाए वडा कार्यालयमा ताला

   खोटाङ / राजनीतिक प्रतिशोधका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा कार्यालय दश दिनदेखि बन्द रहेको छ।

वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार जना वडा सदस्य आफैँले भदौ २४ गते शुक्रबार वडा कार्यालयमा ताला लगाएका छन्।

वडाका जनप्रतिनिधि नेकपा एमालेबाट निर्वाचित हुन् भने गठबन्धनबाट कांग्रेसका तीर्थराज भट्टराई नगर प्रमुख र माओवादीका विसन राई उपप्रमुखमा निर्वाचित भएका हुन्।

फरक राजनीतिक दल भएकै कारण नगरपालिकाले वडाका सबै कामकाजमा हस्तक्षेप गरेको वडाका जनप्रतिनिधिको आरोप छ। नगरपालिकाले भने वडामा भएका योजनाहरु गुणस्तरहीन भएका कारण भुक्तानी रोकिएको तर कुनै हस्तक्षेप नभएको जनाएको छ।

नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक विसन राईले कुनै परीक्षण नगरी योजना गुणस्तरहीन रहेको भन्दै कागजातमा लेखिदिएको वडाध्यक्ष चौहानको भनाइ छ तर मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडक ढलानको काम सम्पन्न भए पनि गुणस्तरहीन भएको भन्दै अख्तियारमा उजुरी परेको र छानबिन भइरहेकाले भुक्तानी नदिएको नगरपालिकाले जनाएको छ।

वडाध्यक्ष चौहानका अनुसार करिब एक महिना अघिदेखि वडामा सचिव नभएको र कार्यालय सहयोगीलाई पनि नगरपालिकाले करार म्याद नथपिदिएकाले वडा कार्यालय कर्मचारीबिहीन बनाएर बन्द जस्तै गराएको थियो।

त्यसैले सम्पन्न भएका योजनाको भुक्तानी गरिनु पर्ने, संविधानले वडालाई दिएको अधिकार हस्तक्षेप गर्न नहुने र कर्मचारीको व्यवस्थापन गर्नुपर्ने भन्दै वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष चौहानको भनाइ छ।

वडा कार्यालय बन्द गरिएको एक सातासम्म पनि नगरपालिकाले कुनै चासो नदेखाएपछि बिहीबार वडाका जनप्रतिनिधिले नगरपालिकालाई कार्यालयको चाबी बुझाएका छन्। चाबी बुझ्दै प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले वडा सचिव अगाडि नै खटाइसकिएको र कार्यालय सहयोगीलाई पनि नहटाएको बताएका छन्।

वडा सचिवमा मीनप्रसाद आचार्यलाई नगरपालिकाले खटाएको पनि पाइएको छ। तर वडा कार्यालयलाई सचिव पठाइएको आधिकारिक पत्र भने लेखिएको देखिँदैन।

वडामा सञ्चालन भइरहेका खावा डाँडा र वाबारी एकीकृत वस्ती निर्माण, गोल्डेन चक्रपथ निर्माण, स्यालदुलो–तालचौर सडक, अन्नपूर्ण मावि घेराबार र पंखु लप्से खानेपानी योजना निर्माणमा अख्तियारमा मुद्दा परेको छ। राजनीतिक प्रतिशोधका आधारमा उक्साएर मुद्दा हाल्न लगाइएको वडाध्यक्ष चौहानको आरोप छ।

एमालेबाट निर्वाचित वडाका जनप्रतिनिधि एकातिर, सत्तारुढ गठबन्धनबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख एकातिर हुँदा वडाका सर्वसाधारण चेपुवामा परेका छन्। वडामा सञ्चालित योजनाहरु गुणस्तर नभएको भन्दै गठबन्धनमा आबद्ध दलले प्रश्न उठाउँदै आएका छन्। फरक राजीनितक दल भएकै कारण नगरपालिकाले वडालाई हस्तक्षेप गरेको नेकपा एमालेबाट निर्वाचित वडाका जनप्रतिनिधिको आरोप छ।

गठबन्धन र एमालेको बीचमा भएको राजनीतिक प्रतिशोधका कारण वडाका नागरिक भने मारमा परेका छन्। वडा कार्यालय खोल्न नगरपालिका र वडाबीच छलफल पनि भएको बुझिएको छ तर सहमति भने हुन नसकेका कारण अझै केही समय नागरिकले वडाबाट प्रदान हुने सेवाबाट वञ्चित हुने निश्चित छ।

आइतबार, ०२ असोज, २०७९, साँझको ०६:४६ बजे

सम्बन्धित खवर