आइतबारदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई मोडर्ना खोप लगाइदै

काठमाडौं, पुस ३ / सरकारले आइतबार अर्थात् पुस ४ गतेदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १२ देखि १७ वर्षका बालबालिकालाई लक्षित गरी आइतबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्न लागेको हो ।
आइतबारदेखि देशका ५७ जिल्लामा कोरोनाविरुद्धको मोडर्ना खोप अभियान सुरु गर्न लागेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ ।
पुस ४ गतेदेखि सुरु हुने खोप अभियान पुस १४ गतेसम्म चल्ने छ । पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउने मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले देशका ५७ जिल्लाका पाएक पर्ने विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको जाानकारी दिनुभयो ।
प्रदेश १ का ११ जिल्ला, प्रदेश २ का पाँच जिल्ला, बाग्मती प्रदेशका सात जिल्ला, गण्डकी प्रदेशका नौ जिल्ला, लुम्बिनी प्रदेशका नौ जिल्ला, कर्णली प्रदेशका नौ र सुदूरपश्चिम प्रदेशका सात जिल्लामा खोप अभियानका सञ्चालन हुँदै छ ।
हालसम्म नेपालमा ३६ लाख ५१ हजार २ सय मोर्डना खोप आइसकेको छ ।

शनिबार, ०३ पुष, २०७८, दिउँसोको ०४:१६ बजे

सम्बन्धित खवर