प्रदेशसभाको बैठक भोलिदेखि : फलामको पाताले कुर्सी वेल्डिङ , १० मर्यादा पालक थप

बैकल्पिक खवर

बिराटनगर / प्रदेश नम्बर १ को प्रदेशसभा बैठक भोलिदेखि सुरु हुने भएको छ ।विवादका बीच भोलि देखि सुरु हुने प्रदेशसभाको बैठकलाई मध्यनजर गर्दै प्रदेशसभा सचिवालयले मर्यादा पालकको संख्या थप गरेको छ ।

प्रतिनिधिसभा विघटन, नेकपामा देखिएको विवाद र बद्लिएको राजनीतिक परिवेशकाबीच बुधबारदेखि प्रदेशसभा बैठक सुरु हुने भएपछि साम्सदहरु बीच घम्साघम्सी र कुर्सी हानाहान नहोस् भनेर थप सजगता अपानाइएको छ । प्रदेशसभा सचिवालयका अनुसार कुर्सी हानाहान र तोडफोड नहोस् भनेर कुर्सी लाई फलामको पाताले वेल्डिङ गरेर उचाल्न नमिल्ने बनाइएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको पृष्ठभूमिमा बस्न लागेको प्रदेशसभा बैठकलाई सर्वत्र चासोका साथ हेरिएको छ । नेकपाका दुई समूहले एकले अर्कोलाई कारवाही गर्ने र दलको नेतासम्म फेर्ने घोषणा भएको छ । तर, बैठक स्थलमा भने नेकपाका दुई अलग समूहका लागि एकै हारमा कुर्सीको व्यवस्था गरिएको छ ।

नेकपामा देखिएको विवादबीच कारवाही गरिएका र दलका नेता फेरिएको विवरण उल्लेख भएका पत्र सचिवालयमा दर्ता भएपनि पार्टी एक रहेकोले नेकपाका सबै सांसदलाई सत्तापक्षकै लाइनमा राख्ने प्रबन्ध गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।                                               

‘बैठकमा सुरक्षाका लागि खटिने मर्यादापालकको संख्या थप गरिएको छ’ सचिव पराजुलीले भने– ‘पहिले ४७ जना मर्यादापालकमा अहिले १० जना थपिएका छ ।’ उनले बैठक कक्षमा हुनसक्ने सम्भावित घम्साघम्सी र कुर्सी हानाहान गर्नबाट सांसदलाई रोक्ने उद्देश्यले सांसद बस्ने सबै कुर्सीलाई फलामको पाताले जोडेर ‘वेल्डिङ’ गरिएको बताए ।

 

मङ्गलबार, ०६ माघ, २०७७, दिउँसोको ०२:४२ बजे

सम्बन्धित खवर