भद्रपुरको मेयरमा गठबन्धनबाट पोखरेल र उपमेयरमा राप्रपाकी कार्की विजयी

 भद्रपुर ५ जेष्ठ / गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गणेश पोखरेल भद्रपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन्। उपमेयरमा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै राप्रपाकी राधा कार्की निर्वाचित भएकी छिन्।

गठबन्धनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)बाट मेयरका उम्मेदवार असारु राजवंशीलाई २ हजार ७६६ मतान्तरले पराजित गर्दै कांग्रेसका पोखरेल निर्वाचित भएका हुन्। भद्रपुरमा कांग्रेसले मेयर जितेर यसपल्ट इतिहास रचेको छ। पोखरेलले १२ हजार ५२५ मत ल्याउँदा राजवंशीले ९ हजार ७५९ मत ल्याएका छन्।

त्यस्तै,राप्रपाका नवराज पनेरुले ६ हजार ३१०, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर लिम्बु ६०८, जनता समाजवादी पार्टीका समर कुमार राई ३६१ , मंगोल नेशनल अर्गनाइजेसनका इन्द्र कुमार सुहाङ ३०० , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु कर्मकार ३४, मौलिक जरोकिलो पार्टीका चूडामणि अधिकारी ३१ मत ल्याएका छन्।

राप्रपाले पनि भद्रपुरमा इतिहास रच्दै उपमेयरमा बाजी मारेको छ। कांग्रेस र एकीकृत समाजवादी गठबन्धनबाट माओवादीका उम्मेदवार शिवकुमार राजभण्डारीलाई ६९७ मतान्तरले पराजित गर्दै राप्रपाकी कार्की निर्वाचित भएकी छिन्। कार्कीले ९ हजार २३० मत ल्याउँदा राजभण्डारीले ८ हजार ५३३ मत ल्याएका छन्। उपमेयरमा १ देखि ६ नम्बर वडाको मतगणनासम्म गठबन्धनका राजभण्डारी अगाडि थिए।

७ नम्बरको मतगणनापछि कार्कीले अग्रता लिइन्। ८ नम्बरमा पुनः राजभण्डारीले अग्रता लिएपनि वडा ९ र १० को मत परिणामले राजभण्डारीलाई पछि पार्दै कार्की विजयी भएकी हुन्।

त्यस्तै, नेकपा एमालेकी कौशिल्या अधिकारी ८ हजार ४०३, जनता समाजवादी पार्टीका नूतन झा ४३०, मंगोल नेशनल अर्गनाइजेसनकाकी यम कुमारी लिम्बु ३३६ , राष्ट्रिय जनमुक्ति पार्टीकी मञ्जु बर्मा ४३१ र मौलिक जरोकिलो पार्टीकी कृष्ण देवी चुँडाल ओली ३८ मत ल्याएका छन्।

यता नगरको वडामा रोचक परिणाम आएको छ। वडा १ मा एमालेको प्यानलसहित वडा अध्यक्षमा रामप्रसाद अधिकारी निर्वाचित भएका छन्। वडा २ मा कांग्रेसका रामप्रसाद कँडेल वडा अध्यक्ष निर्वाचित भएका छन्। वडा ३ मा राप्रपाका प्यानलसहित वडा अध्यक्षमा हेम बहादुर कार्की निर्वाचित भएका छन्। वडा ४ मा माओवादीका हंशधर राजवंशी वडा अध्यक्ष निर्वाचित भएका छन्।

वडा ५ मा कांग्रेसका बन्धु कार्की वडा अध्यक्षमा निर्वाचित भएका छन्। वडा ६ मा कांग्रेसकै रतिया राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका छन्। वडा ७ मा राप्रपाका अभिषेक ढुंगाना वडा अध्यक्षमा निर्वाचित भएका छन्।

वडा ८ मा कांग्रेसका गौरव सुब्बा वडा अध्यक्षमा निर्वाचित भएका छन्। वडा ९ मा एमालेको प्यानलसहित वडा अध्यक्षमा रामप्रसाद दाहाल निर्वाचित भएका छन्। वडा १० मा एमालेका टेकबहादुर खडका वडा अध्यक्षमा निर्वाचित भएका छन्।

बिहिबार, ०५ जेठ, २०७९, बिहानको ०८:५१ बजे

सम्बन्धित खवर