विश्वकै ठूलो गाईकोमुर्ति सुन्दरहरैंचामा बन्ने

असार ४, २०७६ दमक, सुन्दरहरैंचा नगरपालिकाको १ करोड रुपैयाँ आीर्थक सहयोगमा विश्वकै ठूलो गाईको मूर्ति बन्ने भएको छ । सुन्दरहरैंचा–५ मा विश्वकै ठूलो गाईको मूर्ति निर्माणको लागि सम्झौता भएको हो ।

‘श्री राधेश्याम सेवा ट्रस्ट’ नयाँ वृन्दाबन गौशाला र सुन्दहरैंचा नगरपालिकाबीच भएको सम्झौतामा १ करोड रुपैयाँ दिने उल्लेख गरिएको छ । असार २ गते नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र ट्रस्टका संस्थापक संरक्षक दीनबन्धु शास्त्रीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता भएकै दिनदेखि काम अगाडि बढाइएको संरक्षक शास्त्रीले जानकारी दिए । उनका अनुसार नगरपालिकाको १ करोड सहयोग र केही दाताहरूको सहयोगमा मूर्ति निमार्ण कार्य शुरु हुन लागेको हो । केही दिनमै ठेक्का सम्झौता हुने र आगामी २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी काम हुन लागेको उनको भनाइ छ ।

विश्वमै सबैभन्दा ठूलो गाईको मूर्ति निर्माणले नेपाली र भारतीय धार्मिक पर्यटकलाई नयाँ वृन्दाबन भ्रमण गराउन सकिने उनले बताए । विगतमा पनि मूर्ति निर्माणको लागि पुराण लगायत धार्मिक गतिविधि भएकाले त्यसबाट प्राप्त हौसलालाई ध्यान दिँदै काम शुरु हुन लागेको उनको भनाइ छ । सुन्दरहरैंचामा धेरै धार्मिक आस्था र विश्वास भएका मानिस बस्ने हुनाले पनि मूर्ति निर्माणमा टेवा पुगेको उनको बुझाइ छ ।

‘मेयरले शुरुदेखि नै सक्दो सहयोग गर्ने बताउनुभएको थियो’, उनले भने, ‘अहिले आएर १ करोड रुपैयाँ दिने सम्झौता गर्नुभएको छ । हामी धेरै नै आभारी छाँै । यो ट्रस्टको मात्र नभएर सम्पूर्ण नेपालकै गर्वको विषय हो ।’

नेपालमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएकाले त्यसैलाई बढावा दिन गाईको मूर्ति निर्माणमा सहयोग गरिएको मेयर ढकालले बताए । यसले सुन्दरहरैंचालाई मात्र नभएर नेपाललाई नै चिनाउने उनको भनाइ छ । सो मूर्तिमार्फत् विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीको ध्यान तान्ने काम गर्न लागिएको उनले बताए

बुधबार, ०४ असार, २०७६, साँझको ०५:३४ बजे

सम्बन्धित खवर