सिन्धुपाल्चोक / पाँचपोखरी थाङ्पाल गाँउपालिका-३ भोताङमा बाँदरले बालीनाली सखाप पार्न थालेपछि बाँदर धपाउन वडाका सबै घरलाई बाँदर धपाउन निम्तो दिएको छ।

वडाले एक सूचना प्रकाशन गर्दै बाँदर धपाउन भोलि साउन ५ गते बिहान ८ बजे वडाका प्रत्येक घरबाट १ जना व्यक्ति र कुकुर हुने परिवारले कुकुरसमेत लिएर आउन अनुरोध गरेको छ। ‘बाँदर धपाऔं, बालीनाली बचाऔं’ भन्ने अभियान नै सञ्चालन गरेर वडाले बाँदर धपाउन लागेको हो।​

‘वडाका सबै टोलबाट बाँदरले बालीनाली नष्ट गरेको गुनासो आएपछि बाँदरलाई धपाएर खोला कटाउने योजना बनाएका छौँ। वडाध्यक्ष निमाछिरिङ तामाङले भने, ‘वडाका सबै (नौ सय भन्दा धेरै) घरबाट एकैपटक बाँदर धपाउन हामीले निम्त्याएका छौं।’

यसरी सबैले एकैपटक धपाउँदा बाँदरलाई बस्ती तथा खेतबारी नभएको इन्द्रावती नदी किनारमा पुर्‍याउन सकिने उनको भनाइ थियो। त्यसपछि बाँदर फर्किएर बस्तीमा नआउने वडाको विश्वास छ।

Facebook Comments Box