दमकमा जुवाडेलाई प्रहरीकै संरक्षण, मिटर ब्याजले राई परिवारको उठिबास

   दमक/ झापाको दमकलाई बेस बनाएर जुवा खेलाउने र चर्को मिटर ब्याजमा पैसा लगाउनेहरुलाई प्रशासनकै संरक्षण रहेको रहस्य बाहिर आएको छ ।
जुवा खेलाउने समुहले आफै उस्काउने र महँगो मिटर ब्याजमा पैसा लगानी गरी चेक काट्न लगाएर चेक बाउन्स गर्नुका साथै पैसा असुल्नका लागि मानिसलाई अपहरण कुटपिट समेत गर्ने गरेको पाइएको हो । सो कार्यमा प्रहरीले समेत सहयोग गर्ने गरेको पीडितका परिवारले बताएका छन् ।
झापा गाउँपालिका–३ सिमलवाडीका ४० वर्षीय अशोक राईको अहिले जुवाले सर्वश्व गुम्नुका साथै ज्यानै जोखिममा परेपछि प्रशासनबाट समेत असुरक्षित भएको भन्दै पत्रकार सम्मेलन गरेपछि जुवा खेलाउने र मिटर ब्याजीलाई प्रहरीकै संरक्षण रहेको रहस्य खुलेको हो ।
आफूले लिएको पैसाका मिटरब्याजीहरुले अनेक हत्कण्डा अपनाएर उनलाई घर न घाटको बनाउनुका साथै ज्यानै जोखिममा परेको उनकी श्रीमति र बाबुले बताए । सोही क्रममा चेक बाउन्सको मुद्दा लिएर प्रहरी र बाउन्स गराउने समुह नै राईलाई पक्रन पुगेपछि गाउँलेसग झडप भयो । गाउँलेको टोलीले प्रतिकार गर्दा सो समुह भागेको स्थानीय प्रत्यक्षदर्शीले बताए । त्यसपछि मात्र राईका परिवारले जुवा र मिटर व्याज काण्ड थाहा पाएपछि क्रमश जुवाडेका नाम सार्वजनीक हुँदै गएका छन् ।

केही दिन अघि पिडित राईलाई दमकको एक होटलमा मरणासन्न हुने गरी कुटपिट समेत गरेको उनले बताए । एउटा चेक बनाउन लगाए, “मरणासन्न हुनेगरी कुट्यो, कानको जाली फुटेर बीएण्डसीमा उपचार गराएँ, धरानमा पनि एक साता बसे’, राईले भने, ‘दमकको घरजग्गा, सुरुङ्गाको भिटासँगै भएभरको सम्पत्ती बुझाउँदापनि मिटर ब्याजका हिसाबले ४ लाखको ६ लाख बुझाउँदा पनि प्रहरी प्रशासन समेतको संरक्षणमा मिटरब्याजीहरुले लखेटिरहे, अहिले ज्यान नै जोखिममा परेको छ, उनले भने ।

पक्राउ गर्न आउने दमक–५ का विशाल पौडेल गाउँलेले प्रतिकार गर्दा सामान्य घाइते समेत बनेका छन् । सिभिलमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरिक्षक भीम श्रेष्ठ नेतृत्वको टोली र रकम लिने समुह शनिबार बिहान राईको घरमा विहान ४ बजेको समयमा पुगि जवरजस्ती राईलाई धकेल्दै गाडीमा लैजान खोजेपछि घर परिवार र स्थानीयबासीले प्रतिकार गरेको राईका पिता दिपक राईले बताए ।
दमकका नामुक जुुवा घरका संचालक समेत रहेका पूर्णप्रसाद रिजालले आफुलाई घरमा जुवा खेल्न बोलाई केही पैसा सापट दिएको र पछि मिटर व्याज जोडेर आफुले साँबा र ब्याज रकम तिरिसक्दा समेत थप ८ लाख रुपैँयाको चेक दमकको होटल हाइवेमा लगेर काटन लगाएको पिडित अशोक राईले पत्रकार सम्मेलनमा बताएका छन् ।
कुटपिटबाट बिरामी भएकाले घरमै औषधि गरेर बसिरहेको बेलामा तिरिसकेको रमकको समेत चेक बाउन्स गरेर प्रहरी समेतलाई आर्थिक प्रभावमा पारेर राती घरमै नियन्त्रणका लागि आएको राईकी श्रीमती कमला लिम्बूले बताइन् । दमकका पूर्णप्रसाद रिजाल, सोम खनाल, कमल खनाल, दुुर्गा पौडेल लगायातले खेलाएको जुवा खालबाट आफूले ३ बर्षभित्रमा ५ करोड भन्दा वढी रकम सकाएको राईले बताए । आफुले यस बीचमा दमकमा रहेको घर डेढ करोडमा विक्री गरेको तथा कनकाई नगरपालिका ३ मा रहेको २ कठ्ठा माटो झापा गाउँपालिका ३ मा रहेको १ बिगाह जमिन समेत विक्री गरेर सबै पैसा जुवामा सकाएको पिडित राईले बताएका छन् ।
सो गिरोहले सुरुमा जतिपनि पैसा सापटी दिने र पछि प्रहरी समेतको संग्लनतामा महगो ब्याज जोडेर चेकमा सहि गर्न लगाउने गरेको पाइएको छ । जुवा खेलाउने गिरोहसँग प्रहरीको राम्रो साँठगाठ समेत रहने गरेको जानकारहरुको भनाई छ । इलाका प्रहरी कार्यालय दमकले आफ्नो क्षेत्राधिकार मिचेर झापा गाउँपालिका ३ सिमलवाडीमा अपहरण शैलीमा विहान प्रहरी पठाएको राई परिवारको गुनासो रहेको छ । यसवारेमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुुख दिलिप गिरीले उजुरी दमकमा परेका कारण प्रहरी चेक वाउन्सको पक्राउ पुर्जीको कार्यान्वयन गर्न गएको बताए । प्रहरीले त्यहाँको स्थानीय प्रहरीसँग संचार सेटबाट समन्वय गरेको समेत गिरीले बताए ।
यता झापामा पछिल्लो समय जुवा र मिटर व्याजको गिरोहहरुका कारण सयौ घरपरिवार विचल्लीमा परिसकेको भन्दै यस्ता अपराधिक समुहको सरक्षण प्रहरीले गरिरहेको राई परिवारले बताएको छ । ‘मसँग भएको सबै सम्पत्ति पनि सकियो अझै पनि चेक बाउन्स भनेर दुख दिने काम भइरहेको छ यही तरिका हो भने हामी परिवारलेनै आत्महत्या गर्नुको विकल्प छैन’, राईले भने । महगो मिटरब्याजको रकम उठाउन प्रहरी र गुण्डाको प्रयोग उक्त गिरोहले गर्ने गरको राईले बताए ।

मङ्गलबार, ०३ साउन, २०७९, साँझको ०७:१४ बजे

सम्बन्धित खवर