नेपालमा पहिलो पटक ‘मिल्क बैंक’को स्थापना

नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ अर्थात् मातृ अमृत कोषको उद्घाटन भएको छ। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औं वर्षिकोत्सवको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘ह्युमन मिल्क बैंक’को उद्घाटन गर्नुभएको हो।
अस्पतालका निर्देशक डा.अमिरबाबु श्रेष्ठले मिल्क बैंकबाट समयअघि नै जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई अरु आमाको दूध उपलब्ध गराउने बताउनुभयो। उक्त दूध छ महिनासम्म खुवाउन मिल्ने उहाँको भनाइ छ।
बाल रोग विशेषज्ञ डा. कल्पना सुवेदीका अनुसार लामो समयसम्म भण्डारण गरिएको दूध बच्चालाई सुरक्षित हुन्छ। आमाको दूधले शिशुको मष्तिष्कको विकासलाई बलियो बनाउने मात्र होइन बच्चा र आमालाई जीवनभर फाइदा गर्छ।

पूर्ण स्तनपानले पाँच वर्ष कम उमेरको मृत्युलाई १३ प्रतिशतले कम गर्ने अध्ययनले देखाएको छ। जन्मेको पहिलो एक घण्टाभित्र गराइने स्तानपानसँगै पूर्ण स्तनपानले विश्वभरका नवजात शिशुको मृत्युलाई २२ प्रतिशतले घटाउछ। आमाको दूध प्रर्याप्त नहुँदा नवजात शिशुलाई बट्टाको दूध दिइने गरिन्छ। तर, बट्टाको दूध खुवाउँदा शिशुमा संङ्क्रमण र आन्द्रा सम्बन्धी रोगको उच्च जोखिम हुने चिकित्सकको भनाइ छ। दूधबाट बन्चित शिशुलाई अरु आमाले दान दिएको दूध खुवाउन सके बट्टाको दूधको नकारात्मक असरबाट जोगाउन सकिन्छ।

नेपालमा समय नपुग्दै ८१ हजार शिशुको जन्म हुन्छ
हरेक वर्ष विश्वभर करिब एक करोड ५० लाख शिशु समय नपुग्दै जन्मिन्छन्। अध्ययनका अनुसार नेपालमा करिब ८१ हजार शिशु समय नपुगी जन्मिन्छन्। शिशु आफ्नो जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन्। समय नपुगी जन्मिएका र कम तौल भएका शिशु बढी जोखिममा हुन्छन्।
सन् २०१९ मा भएको नेपाल बहुसूचक सर्वेक्षण अनुसार नेपालमा नवजात शिशु मृत्युदर एक हजारमा १६ जना रहेको छ। त्यस्तै एक वर्ष कम उमेरका एक हजार शिशुको मृत्यु २५ रहेको छ। अध्ययनका अनुसार पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर एक हजारमा २८ रहेको छ ।
परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल आमाको दूध पोषणको उत्तम स्रोत भएकोले शिशुको जीवन सुनिश्चित गर्नका साथै स्वास्थ्य विकासमा मद्दत पुर्‍याउने बताउनुहुन्छ। उक्त बैंकले आमाको दूधबाट बन्चित शिशुलाई संक्रमण र कुपोषणबाट जोगाउने विश्वास लिइएको छ। यसले शिशुको मृत्यु दरलाई कम गर्ने डा. लालको भनाइ छ।

के हो ह्युमन मिल्क बैंक
अस्पतालकी बालरोग विशेषज्ञ डा. सुवेदीका अनुसार धेरै दूध आउने आमाले बच्चाले खाएर बाँकी रहेको दूध संकलन गरेर लामो समयसम्म सुरक्षित भण्डारण गरेर राख्ने ठाउँलाई ह्युमन मिल्क बैंक भनिन्छ। उहाँले भन्नुभयो, “आमाले आफ्नो बच्चालाई पुगेर बढी भएको दूध अरु बच्चालाई दान गरेको दूध स्टोर भण्डारण गरेर राख्ने ठाउँलाई ह्युमन मिल्क बैंक भनिन्छ। दूध लामो समयसम्म राखेर आवश्यक परेको बेलामा खुवाउन मिल्छ।” दूध सुरक्षित हुने हुँदा बच्चालाई छ महिनासम्म खुवाउन सकिने सुवेदी बताउनुहुन्छ।

शुक्रबार, ०३ भदौ, २०७९, साँझको ०६:१३ बजे

सम्बन्धित खवर