धनकुटाको रामबजारमा आगलागी, दुई घर नष्ट

धनकुटा / धनकुटाको महालक्ष्मी नगरपालिका ५ लेगुवास्थित रामबजारमा शुक्रबार बिहान आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ।

स्थानीय कुलबहादुर तामाङको घरमा बालकुमार श्रेष्ठले सञ्चालन गर्दै आएको मोटरसाइकल ग्यारेजमा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ। राति २ बजेदेखि सुरु भएको आगलागीबाट ग्यारेज रहेको तामाङको घर र महेश कुमार राईको तीन तले घर पूर्णरुपमा नष्ट भएको जनाइएको छ।

स्थानीयबासी र प्रहरीको सक्रियतामा आगलागी नियन्त्रणमा आएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले जानकारी दिए। घटनामा ग्यारेजमा रहेका १२ वटा मोटरसाइकल सहित ४ वटा खसी र ५० कुखुरा जलेर नष्ट भएको छ।

क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ। आगो बिहान ५ बजे नियन्त्रणमा आएको थियो।

शुक्रबार, ०३ मंसिर, २०७८, बिहानको १०:२७ बजे

सम्बन्धित खवर