झापामा प्रदेशस्तरीय क्रिकेट खेलाडी छनोट

भद्रपुर /  प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि झापामा शुक्रवारदेखि प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा नेपाल क्रिकेट सङ्घ (क्यान) मा आबद्ध प्रदेश नम्बर १ का १४ वटा जिल्लामध्ये झापा, इलाम, मोरङ, सुनसरी र उदयपुर गरी पाँच वटा टिमले भाग लिएका छन् ।

पाँच वटा जिल्लाबाट महिला र पुरुष गरी १० वटा टिम रहेका छन् । सोही टिमहरूबाट महिला र पुरुष खेलाडी छनोट गरी प्रदेश नम्बर १ स्तरीय टिम गठन गरिने झापा जिल्ला क्रिकेट सङ्घका अध्यक्ष प्रवीण थापाले जानकारी दिए । छनौट प्रतियोगिता भद्रपुरको मेची रङ्गशाला, कनकाईको सुरुङ्गा र मेचीनगरको काँकडभिट्टामा एकैसाथ सञ्चालन भइरहेको छ ।

मेची रङ्गशालामा शुक्रवार एक कार्यक्रमका बिच प्रादेशिक क्रिकेट छनौट प्रतियोगिताको उद्घाटन गरिएको छ । प्रदेश क्रिकेट सङ्घ, प्रदेश १ का अध्यक्ष मिङमा डन्डु शेर्पाको अध्यक्षता तथा भद्रपुर नगरपालिकाको मेयर जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो । भद्रपुरका मेयर श्रेष्ठले बलिङ र झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले ब्याटिङ गरी प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै क्रिकेट सङ्घ झापाका अध्यक्ष प्रवीण थापाले पहिलो पटक झापा जिल्लामा प्रदेशस्तरीय क्रिकेट खेलाडी छनोट हुन लागेको बताए । खेलकुदको विकाससँगै परिवर्तनका लागि एक व्यक्ति एक पद हुनुपर्ने बताउँदै अध्यक्ष थापाले भने, ‘जतात्यतै भ्रष्टाचार मौलाएको छ, जसले गर्दा देशको खेलकुद क्षेत्र ओझेलमा परेको छ, खेलकुद क्षेत्रलाई भ्रष्टाचार मुक्त नबनाए सम्म परिवर्तन आउँदैन ।’
यता मेची रङ्गशालामा आयोजित उद्घाटन खेलमा झापा र इलाम बिच प्रतिस्पर्धा भएको टिम मेनेजरमा तुलसी कार्कीले जानकारी दिए । नेपाल क्रिकेट सङ्घले यही पुस ११ गतेदेखि काठमाडौँमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला प्रतियोगिता गर्न लागेको हो ।

प्रदेश स्तरीय खेलमा छनोट भएका खेलाडीहरू प्रदेश १ को टिमबाट सोजै प्रधानमन्त्री कप प्रतियोगितामा सहभागिता हुने पाउने व्यवस्था रहेको प्रदेशका मुख्य चयनकर्ता लाक्पा लामाले जानकारी दिए । उनका अनुसार काठमाडौँमा हुन लागेको प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशका गरी १० टिमको सहभागिता रहने छ।

शनिबार, ०४ पुष, २०७७, बिहानको ०९:०३ बजे

सम्बन्धित खवर